default_image

9 months ago

June 2, 2023

एन्फातिर यसो हेर्दा..

सन्जोग चाम्लिङ राई ठीक दुई वर्ष अगाडि अर्थात् सन् २०२१ साल । नेपाली फुटबलको शताब्दी वर्ष । नेपालमा सन् १९२१ मा फुटबल भित्रिएको थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) को वेबसाइटले यही भन्छ । त्यो सुखद शताब्दी समयलाई एन्फाले कसरी सम्झियो भनेर पंक्तिकारलाई ठ्याक्कै याद छैन । त्यो अवसरलाई सम्बन्धित पक्षले बेवास्ता गर्यो या थाहा […]

167 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

ठीक दुई वर्ष अगाडि अर्थात् सन् २०२१ साल । नेपाली फुटबलको शताब्दी वर्ष । नेपालमा सन् १९२१ मा फुटबल भित्रिएको थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) को वेबसाइटले यही भन्छ । त्यो सुखद शताब्दी समयलाई एन्फाले कसरी सम्झियो भनेर पंक्तिकारलाई ठ्याक्कै याद छैन । त्यो अवसरलाई सम्बन्धित पक्षले बेवास्ता गर्यो या थाहा नै थिएन, सम्बन्धित पक्षले नै जानोस् । यति चाहिँ हो, जसरी सम्झिनु पर्थ्यो त्यो कसैबाट पनि भएन । खैर यो प्रसंग अहिलेलाई पुरानो भइसक्यो ।

नेपाली फुटबलको सर्वोच्च संस्था एन्फा गठन भएको नै ७२ वर्ष भइसक्यो । मानिसको उमेरसँग दाँज्ने हो भने यो पाको र परिपक्व उमेर हो तर एन्फालाई गहिरिएर हेर्ने हो भने यस संस्था शैशवकालमा नै छ । अफसोच हो, अहिलेसम्म एन्फा विवादरहित र एकताबद्ध कहिल्यै भएन । यसको जिम्मेवारी अहिलेसम्मका सबै नेतृत्वपंक्ति र कार्यसमितिलाई जान्छ, भलै अन्य धेरै पक्षहरुलाई पनि धेरथोर जान्छ नै ।

जोसँग डाडु पन्यु हुन्छ, भान्सामा पाकेको मिठो र नमिठो सबै परिकारहरुको जिम्मेवारी उसैको हुन जान्छ । कुरा सरल र सिधा छ । राणा शासनकालमा भित्रिएको नेपाली फुटबल अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा, एन्फाको वर्तमान स्थितिको बारेमा केही लेख्ने प्रयास गरिएको छ । पक्का हो, सबै कुरा एउटै लेखमा समेट्न सकिन्न नै ।

हिजोको नेतृत्वपंक्तिको बारेमा फेरि कुनै लेखमा चर्चा गरौंला । आजको स्थिती भनेकै हिजोको कथाको निरन्तरता र असर पनि हो । एन्फाको चुनावसहितको २१ औं साधारण सभाबाट वर्तमान अध्यक्ष पंकज विक्रम नेम्बाङ र नयाँ कार्यसमिति निर्वाचित भएको लगभग एक वर्ष हुन लाग्यो । त्यसैले यस नेतृत्वको थोरै कुरा गर्दा असान्दर्भिक र असहज पक्कै नहोला । ह्यापी एन्नीभर्सरी इन एड्भान्स ।

निर्वाचनक्रममा नेम्बाङ समूहले सामाजिक संजालमा राखेको पोष्टरमा मुख्य नारा यस्तो थियो–“हाम्रो एकता,नेपाली फुटबलको व्यवसायिकता” । पंक्तिकारलाई यो नारा सम्झेर कहिलेकाहीँ फिस्स हाँस्न मन लाग्छ । यति सुन्दर नाराको व्याख्या नेम्बाङ समूहले न निर्वाचनपूर्व गर्यो, न जितेर आए पछि नै ।

भन्यो–लेख्यो–सकियो । व्यवसायिक फुटबल के हो र यसको विकासको लागी अल्पकालिन र दिर्घकालिन योजना के कस्तो छ भनेर एन्फाले अहिलेसम्म भनेको छैन । सायद आवश्यकता नसम्झेर होला । भनेको दिन भने छलफल गरौंला । के खेलाडीले खेले बापत धेरथोर रकम पाउनु मात्र नै व्यवसायिकता हो त ?

पक्कै होइन । यो त व्यवसायिक फुटबलको एउटा पक्ष मात्र हो । छोटो समयमा नै नेपाली राष्ट्रिय टिमकै सदस्यहरु र नेपाली फुटबलका केही उम्दा खेलाडीहरु विदेश पलायन भई सकेका छन् , यो क्रम जारी नै छ ।

विदेशिनु खासमा व्यक्तिगत रोजाई नै हो । तर यो व्यक्तिगत रोजाईको पछाडि एन्फाको अप्रत्यक्ष भूमिका सबैभन्दा धेरै छ । उनीहरु मानुन् या नमानुन् । ती खेलाडीहरु जो गए , देशमा व्यवसायिक फुटबलको विकास भई सकेको स्थितिमा जान्थे त ? उत्तर हो, त्यसरी सबै जाने थिएनन् । त्यो पोष्टरमा उल्लेखित एकता शब्दको कुरा नगर्दा नै ठीक होला, किनकी एन्फाको भाँडभैलो तमाम नेपाली फुटबलप्रेमीहरुले थ्रीडी स्वरुपमा हेरी नै रहेका छन् । क्लाइमेक्स अझ रमाईलो देखिने लगभग पक्का छ ।

निर्वाचनअघि र निर्वाचनपछि यो शब्दलाई एन्फा नेतृत्वले गरेको व्यवहारिक दुरुपयोग हेर्ने हो भने नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली शब्दकोशबाट एकता शब्दको अर्थ परिवर्तन गर्नु पर्छ । यो अनुच्छेदले वर्तमान नेतृत्वलाई आफ्नै चुनावी नारा सम्झना होस् । एन्फाभित्रको क्रियाकलापहरुले गर्दा मुख्य नारा सातदोबाटोमा सुस्तरी लजाइरहेको छ ।

नेपाली फुटबललाई जस्तो व्यक्तिहरु चाहिएको छ, अपवादलाई छोडेर त्यस्ता व्यक्तिहरु एन्फामा देखिँदैनन् । काम गर्ने होइन, माम खानेहरु मात्र छन् । आफू र आफ्नो समूहको स्वार्थको जुंगे लडाँईमा सबै लडीरहेका छन् । कोही एन्फाभित्रै लड्छन् , त कोही एन्फा बाहिरै लड्न् ।

संस्थापन र ईतर समूह बहुमतको खेलमा जसरी सकुनी चालहरु चालिरहेका छन् , त्यो हेर्दा नै लाज लागेर आउँछ । उनीहरु सबै नांगिसकेका छन् । उनीहरुलाई हेक्का छैन कि लुगा लगाउँदैमा लाज छोपिन्न भनेर ।

भर्खरैको एउटा प्रसंगलाई यहाँ सम्झिउँ: एन्फाले सहायक महासचिवहरुको तलब ७५ हजार रुपैयाँ तोक्यो । एकजना सहायक महासचिव वसन्त आर्यालले उक्त तलब नलिने घोषणा गरे । जबकी गएको निर्वाचनको पूर्वसन्ध्यामा वर्तमान महासचिवले नै एन्फा तत्कालिन समयमा १३ करोड घाटामा रहेको तथ्य पत्रकार सम्मेलनमा नै भनेका थिए । जहाँ खेलाडी , रेफ्री आदिलाई दिने रकम छैन तर अर्थविहिन मनोनितहरुलाई यस्तो सुविधा ? यसरी एन्फाले लोकलाई हँसायो । मनोनयनको विषयमा आज नै नलेखीहालुँ । यस्ता मनोनयनहरु नेतृत्वले किन र कस्तालाई गर्छ भनेर सबैलाई विदितै छ । कस्तो लाचार संस्था । कति विवेकहीन ती मनोनित पदाधिकारीहरु । कठैबरा !

लिगको थोरै कुरा गरौं ।

सन् १९५४ मा नेपालमा फुटबल लिगको विधिवत सुरुवात भएको हो । धेरै विवादहरुबीच ढिलो सुरु भएर शहीद स्मारक ए डिभिजन लिग आधा सम्पन्न भई सकेको छ । तर लिगले मुख्य प्रायोजक नै अहिलेसम्म पाएन । यसको कारण त एन्फासँगै होला तर विचारणीय प्रश्न के हो भने , के नेपालको नीजि क्षेत्रले एन्फालाई विश्वास गर्न छाडेको हो ? उता लिगको तालिका हेर्नुस् ।

कति हतारो छ एन्फालाई लिग सक्न ? खेलाडीलाई कुनै रोबोटजस्तै सम्झिइएको छ , र त शरीरले पूर्ण आराम नै नपाई खेलाडीलाई मैदानमा जोताइएको छ । दुखकै कुरा हो , एन्फाले खेलाडीलाई कहिल्यै पहिलो प्राथमिकतामा राखेन । सिर्फ अर्थविहिन भाषण र गफहरुमा मात्रै ।

यो संस्करणको लिगलाई एन्फा नेतृत्वले उपत्यका बाहिर पनि संचालन गर्ने भनेको थियो तर पंक्तिकारको अनुमान बमोजिम भएन नै । किन भएन भनेर नेतृत्वलाई सोध्नु अर्थविहिन छ किनकी सस्तो लोकप्रियता र विना तयारी बोल्ने प्रवृत्ति एन्फामा अहिलेसम्म गएको छैन ।

फेरि भनुँ , केही दर्जन संख्यामा खेलाडीहरु विदेश पलायन भएको तथ्य सबैमा विदित छ । यसको प्रत्यक्ष प्रभाव यति सम्म पर्यो कि लिगको लगि भनेर विदेशी खेलाडीे संख्याको कोटा थप गर्नु पर्यो । केही खेलाडीहरु विदेशिँदा नियम नै परिवर्तन गर्नुपर्ने स्थिति बन्नुले नेपाली फुटबलको स्तर कहाँ छ भनेर थप व्याख्या आवश्यक छैन जस्तो लाग्छ । समस्या यति सम्म भयो कि क्लबहरुलाई टिम बनाउन नै हम्मे हम्मे पर्यो । बलियो भनिएका क्लबहरुले चाहेर पनि योजना अनुसारको टिम निर्माण गर्न सकेनन् । फलतः सबै टिमहरु लगभग औसत देखिएका छन् ।

नेपाली खेलकुद क्षेत्रमा फुटबल सर्वाधिक लोकप्रिय खेल हो । नेपाली फुटबलप्रेमीहरुको उल्लेख्य संख्या र उनीहरुको प्रेम हेर्दा पंक्तिकार व्यक्तिगत रुपमा फुटबल प्रेमीहरुप्रति नतमस्तक छ । सुरक्षित भविष्य विनाको नेपाली फुटबलमा आइरहेका नयाँ खेलाडीहरुको जोश र मिहिनेत हेर्दा हामी नकरात्मक नै हुनु पर्ने स्थिती पनि छैन, तर जर्जर भईसकेको एन्फामा व्यापक सुधारहरु गर्न तत्काल आवश्यक छ । एन्फा यति सम्म जर्जर भइसक्यो कि एउटा एनआरएनले एन्फाको जग हल्लाइ दिन्छ र नेतृत्वको नृत्यको कोरियोग्राफी गरीदिन्छ । कम्तिमा गएको दुई निर्वाचनहरुको सपाट दृश्य हो यो ।

यस्तै यस्तै ।

नोट : पूर्व खेलाडी चाम्लिङ हाल लन्डनमा छन् ।

February 29, 2024

एनआरटी केपी ओली कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा जावलाखेल युवा क्लबमाथि ३-० को जित निकाल्दै एनआरटीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एनआरटीको जितमा संजिव विष्टले दुई तथा विवेक गुरुङले १ गोल गरे । खेलको छैटौं मिनेटमा नै विवेक गुरुङले एनआरटीलाई अग्रता […]

February 29, 2024

फाइनलमा कसले लिन्छ साम्बाको स्थान?

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । हालसम्म अपराजित रहेका यी दुई टोलीबीचको खेलमा नेपालले आफ्नो स्टार फरवार्ड सावित्रा भण्डारीको साथ भने पाउने छैन । नेपालले प्रतियोगितामा खेलेको सबै ४ खेलमा साम्बालाई नै आक्रमणमा उतारेको थियो । तर फिफा विन्डोबाहिर रहेको यस खेलका लागि साम्बा व्यावसायिक सम्झौताका […]

February 29, 2024

नेपाल र जोर्डन वाफ च्याम्पियनसिपको‌ फाइनल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र जोर्डनको राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज एकअर्का विरुद्ध उत्रदैछन्। जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ ।  नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता […]

Success

Thank you for your time.