2 years ago
June 26, 2023
सन्जोग चाम्लिङ राई
बाल्यकालको तिहारलाई एकचोटी सम्झिउँ । तिहार भन्नु नै देउसी भैलो । देउसी भैलोमा
भट्याउँदा हामी सबै भन्थ्यौँ नि :
आ है आखुम् बाखुम् – देउसुरे
आ है सेलरोटी चाखुम् – देउसुरे
बाल्यकालको देउसी भैलोमा उल्लेखित भट्याउने शब्द शिल्प यति लोकप्रिय छ (अहिलेसम्म पनि) कि त्यो नभनी लगभग देउसी भैलो नै पूर्ण हुँदैन । सेलरोटीको अर्थ त हामीलाई थाहा नै छ तर त्यो आखुम् बाखुम् शब्दको अर्थ कसलाई थाहा होला ? त्यो आखुम् बाखुम् शब्द अर्थविहिन जस्तो लागे पनि यति जर्बजस्त छ कि यो शब्द शिल्प विना देउसी भैलोको मिठास् नै हराएको जस्तो हुन्छ ।
यस संस्करणको लिग सकिएपछि पंक्तिकारले आफैँलाई सोध्यो : लिग कस्तो भयो ? झट्ट पंक्तिकारको मनमा आएको एउटा विम्बरुपी उत्तर हो, यस लेखको पहिलो हरफ । लिग भनेको सेलरोटी, जो देखियो । जो देखिएन या वास्ता गरिएन, त्यो चाहीँ लिगको आखुम् बाखुम हरु ! आज त्यस्तै अर्थविहिन जस्तो लाग्ने यस संस्करणको लिगको केही मुख्य आखुम् बाखुम् हरुबारे छलफल गर्ने पंक्तिकारको प्रयास हुनेछ ।
हुन्छ कि हुँदैन भन्ने शंकाहरुविच लिग सकिएर नेपाली फुटबलले नयाँ च्याम्पियन पायो । भर्खरै बढुवा भएको नयाँ क्लबले लिग विजेताकोरुपमा आफ्नो नाम लेख्यो । चर्च ब्वाइज युनाइटेडलाई बधाई ।
चर्च ब्वाइज च्याम्पियन भइरहँदा यसले दिएको एउटा सन्देश के हो भने, नेपाली लिगको वास्तविक जग अति सामान्य छ । आधुनिक फुटबलमा भर्खरै बढुवा भएका टिमले अपवादबाहेक विजेता हुन सक्दैन । त्यहाँ नियमहरुले यति बाँधिनु पर्छ कि क्लब आर्थिकरुपले सबल भएर पनि पैसा पानी सरी खन्याउन पाउँदैन ।
खर्च गर्न सक्ने अवस्था रहँदा पनि उत्कृष्ट खेलाडी अनुबन्धित हुन लालयित हुँदैनन् । यति कुरा लेख्न र बुझ्न विज्ञ भइरहनु पर्दैन । एउटा च्याम्पियन टिम निर्माण गर्न कति समय चाहिन्छ भनेर विश्व फुटबललाई नियमित हेर्नु हुने फुटबलप्रेमीहरुलाई केही भनिरहनु नै पर्दैन ।
उल्लेखित वाक्यहरुले चर्च ब्वाईज युनाइटेडको सफलतालाई नजरअन्दाज गरेको अनर्थ नलागोस् । तीतो सत्य यो हो कि हाम्रो लिग व्यावसायिकताको छेउछाउमा पनि छैन । अब केही खेलाडीहरुले तलब पाए भन्दैमा व्यावसायिक छ भन्ने तपाईको दाबी हो भने पंक्तिकार सहमत छैन ।
सामान्य प्रतिस्पर्धात्मक मात्र रहेको यो संस्करणको लिगको सबै टिमहरु लगभग उस्तै स्तरका देखिए । तपाईंको मनमा यस्तो पनि लाग्ला : सबै टिमहरुको स्तर उस्तै हुनु त राम्रो हो नि । स्तर एउटै भएर प्रतिस्पर्धाको ग्राफ बढ्नु सकरात्मक हो तर जुन कारणले टिमहरुको स्तर लगभग उस्तै देखिएको हो, त्यो भने गलत र कमजोर छ ।
२०७२ सालको भुकम्पमा धनी गरीब सबैको स्तर एउटै भयो, आखिरमा सबै सडकमा नै बास बस्नु पर्यो भने जस्तै हो । वास्तवमा यो त विदेशिएका नेपाली खेलाडीहरुको प्रत्यक्ष प्रभाव हो । कति कमजोर जगमा उभिएको रहेछ नेपाली फुटबल लिग ! अब पनि नस्वीकार्ने ?
करिब तीस चालीस जना खेलाडीहरु नखेल्दा लिगको प्रतिस्पर्धा नै कमजोर हुने लिगको स्तर कहाँ होला ? के एन्फाले यसरी सोचेको होला ? उसलाई त जसरी नि सक्नु थियो, सक्यो । समीक्षा र विवेचनाको छु मतलब !
एन्फाको नयाँ कार्यसमितिले नयाँ काम गर्न सकेन भन्दा मुख्य पदाधिकारीले जवाफमा के मैदानमा १२ जना खेलाडी खेलाउनु पर्ने हो भन्ने प्रतिपश्न गर्छन् । यसरी उत्तर दिने हो भने त यस संंस्थामा रत्नपार्कबाट मुकुन्दे ल्याए पनि भयो ।
खेलको दौरान पिउने पानीको हाहाकार भएको लिगमा आक्कलझुक्कल दर्शकदिर्घामा एकचोटी देखिएको केही पम्प्लेटहरु फेरि दोहोरिएर देखिएन । यो कतै नेपाली समाजमा लोकप्रिय भाइरलिज्मको एउटा उदाहरण त होइन ? एकजना पूर्व पदाधिकारीले त बी डिभिजन कहिले हुन्छ भनेर दर्शकदिर्घामा कागजी र क्रिकेट ब्याट सहितको प्रश्नरुपी पम्प्लेटहरु पनि लिएर बसेको देख्न पाईयो ।
रमाईलो त के भने दर्शकहरुको खानेपानीको बोतल पनि खोस्ने लिगको सुरक्षा व्यवस्थाले क्रिकेट ब्याट नै लगेको कसरी देखेन होला ? त्यो आन्दोलन या आन्दोलनरुपी कार्य थिएन , थियो त एउटा सस्तो स्टन्टबाजी । स्टन्ट त्यति खेर मात्र हुँदैन थियो , जति खेर ती प्रश्नहरु दर्शकदिर्घामा बारम्बार देख्न पाइन्थ्यो ।
लिगमा विगत भन्दा दर्शकहरुको कम उपस्थितीले एन्फाको विपक्षी खेमालाई खुब मसला मिल्यो, जुन वास्तवमा उनीहरुको भित्री चाहाना थियो । यहाँ विपक्षी खेमा भन्नाले व्यक्ति र क्लब विशेषलाई मात्र नबुझेर केही संचारमाध्यमहरुलाई पनि बुझ्दा खासै अनर्थ नलाग्ला कि ?
सबैको एउटै मत थियो : लिगको स्तर र आयोजनाको गुणस्तर घटेकोले दर्शकहरु खेल हेर्न आएनन् । दर्शकहरु उपस्थित नहुनुको यो कारणमा विमति सायदै कसैको होला तर यसको खास कारण भने अलिक फरक छ । विश्वका सबै खेलहरु मानिसहरुको भावनासँग गाँसिएको हुन्छ र त्यही भावनाले गर्दा नै दर्शक उक्त खेलमा सधैँ आफ्नो अपनत्व महशुस गर्दछ । जहाँ भावना हुँदैन , त्यहाँ विकर्षण हुनु स्वभाविक हो ।
नेपाली फुटबलमा अहिलेको अभाव खासमा भावना नै हो । नेपाली फुटबलप्रेमीहरु र नेपाली फुटबल अहिले भावनात्मकरुपमा नजिक छैनन् । एन्फा भित्र र बाहिर हुने घिनलाग्दो हर्कत र क्रियाकलापहरुले नेपाली फुटबलप्रेमीहरुलाई निराश बनाएको छ । निराशाको स्थितीमा उत्साहको उपस्थिती हुँदैन । एन्फाको बोली , व्यवहार र सोच देखेर नेपाली फुटबलप्रेमीहरुलाई टाढा पुर्याएको छ । उनीहरु रिसाएका छन् ।
भावना विना फुटबलको विकासमा दर्शकको साथ सम्भव छैन । त्यही माथि नेपाली समाज झनै भावनात्मक रहेको तथ्य जगजाहेर नै छ । यही स्थितिमा अर्को संस्करणको विजेता रकम करोडौं करोड बनाए पनि दर्शकहरु आउनेवाला छैनन् ।
कम भन्दा कम दर्शकहरु उपस्थित भएको यसपालिको लिगमा एपीएफ क्लब र एफसी खुमलटार रेलिगेसनमा परे । खुमलटारको नतिजाले कसैलाई पनि आश्चर्य पारेन तर एपीएफको बी डिभिजन यात्रा भने थोरै भए पनि अनपेक्षित थियो । यसले गर्दा सम्भवतः नेपाली राष्ट्रिय टिममा पहिलो पटक बी डिभिजन क्लबका खेलाडीहरु पनि छनौट भए , कम्तिमा अबको एक वर्ष यो तथ्य लागु हुन सक्छ ।
एपीएफ रेलिगेसनमा परे पनि उसले उठाएको म्याच फिक्सिङको विषय फेरी घरेलु फुटबलमा औपचारिकरुपमा अगाडि आएको छ, तर एन्फाले यो विषय उहिलेदेखि सामान्य ठान्छ । नेपालको हरेक तहको लिगमा फिक्सिङ भएको-गरेको नसुनिएको-नदेखिएको होइन ।
पहिलो पटक विदेशी खेलाडीहरु पनि व्यक्तिगत विधामा पुरस्कृत भइरहँदा एउटा घटना उल्लेख गर्दा यहाँ मनासिब देखिन्छ । विगतको कुनै संस्करणको लिगमा सर्वाधिक गोलकर्ताको विधामा कुनै नेपाली खेलाडीले अर्को विदेशी खेलाडीसँगको प्रतिस्पर्धामा सो पुरस्कारको लागी अन्तिम खेलमा फिक्सिङको (अ)सुविधा लिएको धेरैले देखेको नै हो । विगतकै कुनै संस्करणको लिगमा कुनै अमुक क्लबलाई रेलिगेसनबाट बचाउन एन्फा वरीपरीकै तत्कालिन व्यक्तिहरु जानेर या अन्जानमा सक्रिय भएको कुरा लेख्नलाई सायद कुनै आइतबार कुर्नु नपर्ला ।
खुमलटारको ए डिभिजन यात्रा छोटो रह्यो । खुमलटारले जुन प्रकारको अनौठो व्यवस्थापन शैली अपनाएको थियो, त्यही दिन देखि नै उ रेलिगेसनको डेन्जर जोनमा परीसकेको थियो भने लिग पूर्वको पत्रकार सम्मेलनमा क्लबका कप्तानले दिएको अभिव्यक्तिले त्यो डेन्जर जोन झनै गहिरो बनाएको थियो । बालुवाटारमा कहीँकतै कोही नेपाली फुटबल प्रशिक्षकसँग कफी खाँदै लिग अगाडि नै पंक्तिकारले खुमलटारको नतिजाको प्रक्षेपण आत्मविश्वासका साथ गरेको नै थियो ।
खुमलटारले माथिल्लो फुटबलको अनुभव लियो । अन्तिम खेलमा एक जना पूर्व नेपाली कप्तानको क्लबले कुनै समयमा दशरथ रंगशालामा गरेको हर्कतको सानो रुप पनि देखायो । यस पटकको अनुभवबाट शिक्षा लिए क्लबलाई फाइदा छ । खुमलटार र एपीएफ दुवैलाई आगामी यात्राको शुभकामना !
यो लेखको अन्तिम आखुम् बाखुम् अब छोटकरीमा ।
यसपालिको लिगको उत्तर्रार्द्धमा नेपाली राष्ट्रिय टिमको लागि क्लबहरुले खेलाडी रिलिज गर्न अस्वीकार गरेर एन्फासँग जुँगाको लडाइँ र सौदाबाजीको (कु)प्रयास गरेको छ । यस घटनाले पनि प्रष्ट हुन्छ कि नेपाली फुटबलका जिम्मेवार पक्षहरु आफ्नो–आफ्नो मात्रै धुन बजाउन तछाँडमछाँड गरीरहेका छन्, जसरी निरोले रोम जलिरहँदा बाँसुरी बजाएका थिए ।
क्लब र एन्फाविचको विवाद र असहमतिहरु देशको अगाडि गौण विषय हुन् । नेपाली राष्ट्रिय टिमको लागी खेलाडीहरु रिलिज नगर्ने हो भने त्यो क्लब कसरी नेपाली फुटबल क्लब हुन सक्छ ? कुनै दिन नेपाली फुटबलको व्यवस्थित अभिलेखीकरण भएको समयमा यो घटना एउटा कालो घटनाको रुपमा दर्ज हुनेछ ।
यस्तै यस्तै ।
पूर्व फुटसल खेलाडी राई हाल बेलायतमा छन् ।
July 9, 2025
एजेन्सी – साफ महिला यु-१७ च्याम्पियनसिप २०२५ को खेल तालिका सार्वजनिक भएको छ । बुधबार दक्षिण एसियाली फुटबल फेडेरेसनले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता आगामी महिनामा आयोजना हुदैछ । २० देखि ३१ अगस्टसम्म आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग खेल्नेछ । नेपालले २० अगस्टमा हुने उद्घाटन खेलमा भारतको सामना गर्नेछ । […]
July 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापनलाई लिएर चौतर्फी आलोचना भएपछि त्यसमा आधारिक धारणा प्रस्तुत गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलनमा गर्ने भएको छ। पत्रकार सम्मेलनमा महिला टोलीसँग सम्बन्धित प्राविधिक र व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने व्यक्ति रहने एन्फाले जनाएको छ। पत्रकार सम्मेलनमा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे […]
July 9, 2025
एजेन्सी – इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २-० को जित दर्ता गरेको हो । फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए । […]