काठमाडौं, असोज ३ –
चौतर्फी आक्रमण र अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टिकरण मागेपछि एक साता नवित्दै एपिएफका प्रशिक्षक कृष्ण थापा गलेका छन् । उनले अघिल्लो साताको आफ्नो अभिव्यक्तिलाई हतासको प्रतिक्रिया भन्दै सबैसँग माफी मागेका छन् ।
अघिल्लो साता मंगबार रुस्लान थ्री स्टारसँग ४–१ ले पराजित भएपछि आक्रमक रुपमा प्रस्तुत भएका थापाले एन्फाको चर्को ओलोचनामात्र गरेका थिएनन् अन्य दुई टोलीमाथि खेल मिलेमतोको आरोप समेत लगाएका थिए ।
थापाले वैशाख १२ को भूकम्पका दिन लिग झापा ११ र मोरङबीच खेल गराउनुलाई एन्फाको गम्भिर षयडन्त्र भएको बताएका थिए । एपिएफलाई शीर्षस्थानमा रहन नदिन एन्फाले त्यो षडयन्त्र गरेको उनको आरोप थियो । त्यति मात्र होइन त्यो खेलमा मोरङ र झापाले मिलेमतो गरेको उनले अर्को गम्भिर आरोप लगाएका थिए । भदौ ३० मा पुनः मोरङ र झापाको खेल हुनुअघिल्लो दिन पुनः मिलेमतो हुन सक्ने थापाले आशंका व्यक्त गरेका थिए । यद्दपी त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि उनीमाथि चौतर्फी आक्रमण भएको थियो । झापा र मोरङ फुटबल क्लबका अध्यक्षले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै थापालाई बर्खास्त गर्दै कारबाही प्रक्रियाअघि बढाउन माग गरेका थिए । त्यसबीचमा एन्फाले पनि गम्भिर षडयन्त्र र मिलेमतोको आरोप प्रमाणित गर्न स्पष्टिकरण मागेको थियो । त्यसपछि भने राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक समेत रहेका थापा ‘ब्याकफुट’ भएका थिए ।
आइतबार त्रिभुवन आर्मीसँग १–० को हारपछिको पोस्ट म्याच कन्फ्रेन्समामा प्रशिक्षक थापाले भने,‘४१ बर्षको खेल जीवनमा मैले दुई पटक गल्ति गरे । सन् १९८१ मा एसियाली छनोटका दौरान म खेलाडी र कप्तान थिए । बन्द प्रशिक्षणमा हुँदा भागेर बुटवलको स्थानिय प्रतियोगिता खेल्न गए । फर्केर आएपछि तत्कालिन एन्फा अध्यक्ष कमल थापाले तिमि राम्रो खेलाडी हौ तर गल्ति ग¥यौं भन्नु भयो । मैले गल्ति स्वकार गरेर टोलीमा सामेल भए । त्यसपछिको भारतसँगको खेल पनि हामीले जितेका थियौं ।’
राष्ट्रिय टोलीका पूर्व प्राविधिक सल्लाहकार समेत रहेका थापाले अहिलेको घटनालाई आफ्नो जीवनको दोस्रो गल्ति माने । ‘हतासमा बोलेर गल्ति गरेको छु । गल्ति गरे भन्ने आत्मसमिक्षा गरेको छु ,’ गम्भिर हुँदै भने,’ मोरङ र झापामा सबै मेरा मिल्ने साथी छन् । मेरो अभिव्यक्तिले पर्न गएको असर प्रति म माफी चाहन्छु ।’ लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमा रहँदा एनसेल कप जितेका ६० बर्षे थापाले दुई दिनअघि माफी माग्दै एन्फामा स्पष्टिकरण बुझाएका थिए ।
उनले आइतबार माफीमात्र मागेनन् फुटबल विवादका लागि पहल गर्न समेत एन्फा नेतृत्वलाई सुझाएका छन् । ‘आन्दोलनरत कर्मा छिरिङ शेर्पाहरुको जायज मागलाई सम्बोधन गर्नै मिलेर अघि बढ्दा राम्रो हुन्छ,’ बर्षको अन्त्यबाट प्रशिक्षणबाट पनि विश्राम लिने संकेत गरेका उनले भने,‘हामीले युवा फुटबलमा राम्रो गरिरहेको छौं । यसलाई अघि बढाउन पनि सबै मिलेर अघि बढ्न पर्छ । यसले देशको फुटबल विकासमा टुवा पुग्न सक्छ ।’
तर उनको आइतबारको अभिव्यक्ति पनि विवादरहित रहेन । उनी लगत्तै बोलेका आर्मीका प्रशिक्षक मेघराज केसीले भने उनको आलोचना गरे । ‘यसलाई राजनीतिक गफ गर्ने थलो बनाउन हुन्न । गणेश थापाले के गरे । कर्मा छिरिङले के गर्नुपर्छ भन्ने ठाँउ यो होइन,’ उनले भने,‘यहाँ प्राविधिक कुरा गरेको मात्र राम्रो हुन्छ ।’