default_image

2 years ago

August 19, 2023

फिफाको लागि प्रशिक्षण गर्दागर्दै अस्ताए विक्रम

3073 views

0 Bookmark

कुनैपनि पेशामा आबद्ध भएपछि त्यस क्षेत्रको उत्कृष्ट बन्ने लक्ष्य सबैको हुन्छ । उत्कृष्ट बन्ने मात्र होइन, त्यस स्थानमा टिकिरहनु थप कठिन मानिन्छ । फुटबलमा रेफ्रीको हलमा सबैभन्दा ठूलो लक्ष्य फिफाको ब्याज लगाउन पाउनु हो ।

फिफाले विश्वभर लागु हुनेगरि तोकेको फिटनेस परिक्षा र खेल संचालनका लागि लज अफ द गेम को परिक्षा उत्तीर्ण गरेपछि मात्र फिफा ब्याज पाउन रेफ्री योग्य हुन्छ । त्यसपछि फिफाले राष्ट्रलाई दिएको कोटामा परे मात्र रेफ्रीले उक्त ब्याज पाउँछन् । विक्रम चौधरीले सन् २०२१ मा सबै प्रक्रियामा अब्बल हुँदै फिफा सहायक रेफ्रीको ब्याज आर्जन गरेका थिए ।

रेफ्री पेशामा आवद्ध भएको १६ वर्षको अनवरत साधनापछि विक्रमले फिफा रेफ्रीको पहिचान पाएका थिए । त्यसअघि सन् २०१९ मै विक्रम त्यस पदका लागि योग्य भएपनि एन्फाको आन्तरिक राजनीतिका कारण उनले फिफा ब्याज लगाउन २ वर्ष कुर्नुपरेको थियो । त्यसैले पनि फिफा ब्याजको महत्त्व विक्रमजति सायदै कसैले बुझेका थिए ।

फिफा असिस्टेन्ट रेफ्री बन्नुअघि नै आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा आबद्ध भएका विक्रमले फिफा ब्याज प्राप्त गरेपछि अझ धेरै खेल र प्रतियोगिताको अवसर पाए । त्यसै अनुसार सेप्टेम्बर महिनामा हुने बंगलादेश र भुटानबीच मैत्रीपूर्ण खेलका लागि विक्रम नियुक्त भएका थिए ।

यसै वर्ष माल्दिभ्स र बंगलादेशबीच भएको मैत्रीपूर्ण खेलाएका विक्रमले विहीबार यसको खबर पाएका थिए । खबर पाउनेबितिक्कै उनले उक्त खेल खेलाउन जाने अर्का रेफ्री प्रकाशनाथ श्रेष्ठलाई फोन गरे । प्रकाश र विक्रमले एकसाथ करिअर सुरु गरेकाले पनि हुनुपर्छ, दुईजनाको पेशासँग मात्र नभएर व्यक्तिगत सम्बन्ध पनि थियो । उनले सधैंजस्तो प्रकाशलाई खेलका लागि आवश्यक तयारी गर्ने र सँगै जाने त हो भन्दै बात मारे ।

तर शुक्रबार विहान काठमाडौंको भद्रकालीस्थित आर्मी मुख्यालयको मैदानमा प्रशिक्षणकै क्रममा विक्रमको निधन भयो । अर्को वर्षका लागि फिफा ब्याज नविकरण गर्नु उनको स्वभाविक लक्ष्य थियो । तर आवश्यक फिटनेस टेस्टका लागि तयारी गर्दागर्दै ट्रयाकमा लडेका विक्रम फेरी उठेनन् ।

विक्रमसँगै आर्मीकै सहायक रेफ्रीद्वय गणेश चौधरी र प्रविन गौतम प्रशिक्षण गरिरहेका थिए । अर्को शुक्रबार (अगस्ट २५) मा एन्फाले सन् २०२४ को फिफा रेफ्री नविकरण र नयाँ फिफा रेफ्री थपका लागि फिटनेस टेस्ट लिने निर्णय लिएको थियो । त्यसका लागि तीन जनाले एकसाथ प्रशिक्षण गर्ने योजना बनाएका थिए ।

विक्रम आफ्नो परिवारसँग बाँसबारीस्थित आर्मीको परिवार क्वाटरमा बस्दै आएका थिए । अर्का रेफ्री गणेश पनि त्यसै एरियामा बस्थे । प्रविन भने आर्मीको फुटबल टोली बस्ने गरेको भद्रकालीस्थित ब्यारेकमै बस्थे । फिटनेस टेस्टलाई नै लक्षित गर्दै गणेश र विक्रमले ब्यारेकमै क्लोज क्याम्पमा बस्ने योजना बनाए ।

घरबाट आउजाउ गर्दा र बाहिर बस्दा अन्य कुरामा भुलिने भन्दै फिटनेस टेस्टलाई ध्यानमा राख्दै उनीहरुले यो निर्णय लिएका थिए । तीनै जनाले भर्खर मात्र आर्मीको अन्तरिक गण अन्तर्गतको प्रतियोगिता खेलाएर आएका थिए । वर्षाको मौसममा हिलाम्मे मैदानमा लगातार खेलाएका कारण उनीहरुमा लिगको समय भन्दा केहि कम गति थियो । त्यसलाई सुधार गर्न पनि आर्मी मैदानमा रहेको सिन्थेटिक ट्रयाक प्रयोग गर्न चाहन्थे ।

आर्मीको सिनियर फुटबल टोली डुरान्ड कपका लागि भारतमा रहेकाले उनीहरुलाई फुटबल मैदानकै ट्रयाकमा प्रशिक्षण गर्न सहज भएको थियो । तीनै जना एकसाथ प्रशिक्षण गर्दा एक अर्कालाई सहयोग हुने र बलियो तयारी हुने आशा थियो । सोहीअनुसार मुख्य टेस्टको एक साताअघि शुक्रबार उनीहरुले मुख्य टेस्ट अनुसारकै फिटनेस टेस्ट लिने योजना बनाए ।

फिफा रेफ्री बन्नका लागि फिफा इन्टरभल टेस्टमा १० ल्याप पूरा गर्नुपर्ने थियो । इन्टरभल टेस्टमा ७५ मिटर कुद्ने र त्यसपछि २५ मिटर हिड्ने प्रक्रिया हुन्छ । फुटबल मैदानको वरपर रहने ४ सय मिटर ट्रयाकमा फिटनेस टेस्ट हुने प्रावधान रहेकाले आर्मीका रेफ्रीले आफ्नो क्लबमा रहेको खेलस्थल प्रयोग गरेका थिए ।

शनिबार एन्फा परिसरमा दिउँसो १:३० बजे विक्रमलाई फुटबल वृत्तले अन्तिम श्रद्दान्जली दिने कार्यक्रम तय थियो । तर असामयिक निधनपश्चात अस्पतालमा हुने प्रक्रियाका कारण कार्यक्रम केहि ढिलो सुरु भयो । एन्फाले तोकेको भन्दा केहि समय अघि नै एन्फा परिसरमा फुटबल सम्बद्ध व्यक्तिहरु अन्तिम बिदाइका लागि प्रतीक्षामा थिए ।

रेफ्रीको टोली त अझ अघि आइपुगेको थियो । अघिल्लो दिन रातको १० बजेसम्म अस्पताल रहेका रेफ्री टोली एन्फामा पनि एक्यबद्धताका लागि उपस्थित थिए । सर्लाहीका स्थायी वासिन्दा विक्रमको एक छोरा र एक छोरी छन् । विक्रमकी श्रीमती र परिवारसँगै उनका पिता पनि श्रद्दान्जली सभा चलिरहँदा पुत्रवियोगमा रोइरहेका थिए ।

त्यसै समूहमा अघिल्लो दिन सँगै प्रशिक्षण गरिरहेका प्रविन पनि थिए । श्रद्दान्जली सभापछि विक्रमको पार्थिव शरीरलाई सर्लाही पुर्याउन गाडीमा हालेपछि पनि उनी गाडीनजिक नै बसिरहे । अन्तिम कार्यका लागि गृहजिल्ला जान गाडी गुडेसँगै प्रविनसँग घटनाक्रम बुझ्नका लागि नजिकै गयौं । चर्को घाम भएकाले पनि प्रविनले भिडबाट केहि पर छहारीतर्फ जाउँ भन्दै आग्रह गरे ।

निकै निराश मुद्रामा रहेका प्रविनले घटनाक्रम सुनाउनुअघि केहि समय मागे । अघिल्लो दिनदेखि केहि खाना पनि नखाएको र निन्द्रा पनि नपरेको उनले सुनाए । उनले त्यसो नभनेपनि हाउभाउ र शारीरिक अवस्थाले त्यो प्रत्यक्ष बयान गरिरहेको थियो । प्रविनले शुक्रबार विहानको घटना सुनाउन थाले ।

‘विहीबार नै टेस्टको आवश्यकता अनुसार तीन जनाले मैदान वरपर रहेको ट्रयाकमा मार्कर र आवश्यक लाइन कोरेका थियौं । एथलेटिक्सका धावक राम चौधरीले पनि हामीलाई कुदेर साथ दिनुभयो ।’

‘एथलेटिक्सका खेलाडीको प्रयोग टेस्टमा प्रयोग हुने बिपको आवाज सुन्नु र आफ्नो गतिमा सुधार गर्नु थियो । त्यसअनुसार टेस्ट दिन सुरु गर्यौं । सुरुवातमै मैले र गणेशले जति सकिन्छ कुद्ने भनेका थियौं । विक्रम दाई भने जसरी हुन्छ धेरै गरौं भनिरहनु भएको थियो ।’

‘गणेशले पाँचौ ल्यापपछि विश्राम लिए । म र विक्रम भने धावकसँग नियमित कुदीरह्यौं । सातौं ल्याप सुरु गर्दा गणेश फेरी जोडिए । ७५ मिटर र २५ मिटरमा फिटनेस टेस्टको ‘बिप’ अनुसार कुदेको थियौं । सातौं ल्यापबाट विक्रम दाइले पनि बिप भेट्न सक्न्नुभएन । केहि थकित भएपछि बिस्तारै गति कम गर्नुभयो क्यारे । गणेश भने विश्राममा गएका थिए । म धावक राम दाइ र ‘बिप’ सँगै नियमित कुदें ।’

‘म आठौं ल्याप सकेर नवौं सुरु गर्दै थिएँ, अलि टाढाबाट विक्रम दाइ ढलेको देखें । परबाट हेर्दा थाकेर बस्नुभएको जस्तो लागेको थियो । तर हामी नजिक पुगेपछि पनि केहि रेस्पोन्स देखेनौं । त्यसपछि हामी रोकिएर नजिकै गयौं । बेहोस भएजस्तो लागेर गणेश दाइलाई पानी ल्याउन भन्यौं ।’

‘घाम भएकाले नजिकै शीतलसम्म लग्यौं । हामी ९ ल्याप कुदेको ज्यान भएर होला, वहाँलाई बोक्दा नै शरिर केहि भारी लाग्यो । तुरुन्त मैदाननजिक रहेको मेडिकल टिमलाई पनि बोलाइहाल्यौं ।’

‘स्वास्थ्य टोलीले पल्स जाँच गर्दा धड्कन नै नभएको भन्नुभयो । त्यसपछि तुरुन्त सिपिआर दिनुभयो । मैले पनि केहि समयअघि एन्फाले गरेको कोर्षमा सिपिआर विधि जानेको थिएँ । स्वास्थ्य टिमका साथीले एम्बुलेन्सलाई बोलाउन लाग्दा मैले नै सिपिआर जारी राखें ।’

‘म पनि एम्बुलेन्समा अस्पताल आने भनेपछि कपडा लगाउन गएँ । त्यसबीचमा सिपिआर दिँदा एकछिनमा पल्स देखिएको भन्नुभयो । २ मिनेटमै एम्बुलेन्स पनि आइपुग्यो र हामी ब्यारेकबाट निस्कियौं । पल्स देखिएकाले छाउनीस्थित सैनिक अस्पताल नै लग्ने निर्णय भयो । म एम्बुलेन्समै बसेर छाउनीतर्फ लागे ।’

‘ब्यारेकबाट १५ मिनेटमा छाउनी अस्पताल पुग्यौं । डाक्टरले १०-१२ मिनेटपछि आएर बचाउन सकिएन भन्नुभयो । एम्बुलेन्समा बस्दा पनि मैले पल्स हेरिरहेको थिएँ । मैदानमा हुँदा पल्स देखेको भनेपनि अस्पताल लग्दा पल्स गइसकेको थियो ।’

विक्रम २०६२ सालमा त्रिभुवन आर्मी क्लबमा आवद्ध भएका थिए । सेनाको गणबाट फुटबल खेलाडीको रुपमा उनको प्रवेश त्रिभुवन आर्मी क्लबमा भएको थियो । २०६३ सालमा एन्फाले लामो समयपछि रेफ्री कोर्षका लागि आवेदन माग गरेपछि आर्मीले विक्रमसँगै ३ जनाको नाम पठायो ।

फुटबल टोलीका सदस्य रहेपनि चोटले सताएपछि विक्रमसँगै वर्तमान फिफा सहायक रेफ्री माधव खत्री पनि खेल खेल्न भन्दा खेलाउनेतर्फ मोडिए । ‘विक्रम र म सँगै फिफा रेफ्री कोर्षमा गएका हौं । हामीसँग पदम भुजेल र कृष्णसिंह ठगुन्नाले पनि कोर्ष गरेका थिए । खेलाडी हुँदा डिफेन्स र मिडफिल्डमा खेल्ने विक्रम त्यसपछि हामीसँगै रेफ्रीतर्फ नै काम गर्न थाल्यौं ।’

‘जिल्लास्तर, स्थानीय स्तर प्रतियोगिता हुँदै हामी सी, बि र ए डिभिजन छोटो समयमा नै खेलाउन थाल्यौं । म र पदम केहि अगाडी नै फिफा रेफ्री भएपनि २०२१ मा विक्रमले पनि फिफा ब्याज पायो ।’

संयोगवश हाल एन्फामा रेफ्री समिति संयोजक रहेका बुद्धिबहादुर गुरुङले नै ६३ सालमा विक्रम लगायतलाई एन्फा रेफ्री प्रशिक्षण दिएका थिए । गुरुङका अनुसार विक्रम एक अनुशासित रेफ्री थिए । ‘खेलमा लागेपछि अनुशासन त हुनु नै पर्यो । तर विक्रममा खेलभित्र अनुशासन मात्र होइन, व्यक्तित्वमा पनि त्यो झल्कन्थ्यो । प्रशिक्षण होस् वा खेलका लागि रिपोर्टिङ, उनी सधैं समयअघि नै पुग्थे,’ गुरुङले सम्झना गरे ।

गुरुङले विक्रम भौतिक रुपमा रेफ्री मात्र नभएर, २ दशक लगाएर तयार भएका एक कुशल प्रतिभा गुमाउँदा फुटबल वृत्तलाई नै ठूलो घाटा भएको बताए । ‘विक्रमको भौतिक शरीर मात्र होइन, एक रेफ्री मात्र होइन, हामीले २ दशक अथक मिहिनेत गरेका प्रतिभा गुमाएका छौं । उनले गरेको लामो समयको मिहिनेत र फुटबल प्रतिको साधना नेपाली फुटबलले गुमाएको छ । आज हामी रेफ्री मात्र नभएर सम्पूर्ण फुटबलको लागि ठूलो घाटा पुगेको छ,’ गुरुङले थपे ।

प्रशिक्षणका क्रममा निधन भएका विक्रमको लागि रेफ्री समितिको तर्फबाट सहयोगका लागि गुरुङले फिफा र एएफसीलाई आग्रह गर्ने बताएका छन् । ‘हामीले एन्फा नेतृत्वसँग यसबारे छलफल गरिसकेका छौं । प्रशिक्षणकै क्रममा निधन भएकाले फिफा र एएफसीसमक्ष कुरा राख्नेछौं । हाल एन्फा अध्यक्ष आफैं एएफसी बैठकमा सहभागी हुन बाहिर हुनहुन्छ, आशा गरौं केहि सम्बोधन हुन्छ’, गुरुङले थपे ।

फिफा रेफ्री प्रकाशनाथ श्रेष्ठ र विक्रमले एकसाथ एन्फा रेफ्री कोर्ष गरेका थिए । एन्फा एकेडेमीका खेलाडी रहेका प्रकाशले रेफ्रीतर्फ करिअर मोड्दा विक्रम त्यसको सहयात्री बने । प्रकाशले सुरुवातमा सहायक रेफ्रीबाट करिअर सुरु गरेपनि पछिल्लो ५ वर्षयता भने सेन्टर रेफ्रीको भूमिका निर्वाह गरिरहेका छन् । विक्रमले फिफा ब्याज पाउँदा प्रकाशले पनि सेन्टर रेफ्रीको रुपमा फिफा ब्याज पाए । त्यसपछि दुईले अन्तर्राष्ट्रिय खेलमा पनि सँगै खेलाएका छन् ।

प्रकाशले अघिल्लो दिन मात्र विक्रमले बंगलादेश र भुटानको खेल खेलाउने पक्का भएपछि फोन गरेको सम्झिए । ‘हामी एकसाथ नै रेफ्री वृतमा आयौं । राम्रो रेफ्री मात्र नभएर व्यक्तिगत रुपमा पनि राम्रो साथी थियो । सधैं घर परिवारको बारेमा हालखबर सोध्ने गर्थ्यो । नेपाली फुटबलले कुशल रेफ्री र हामीले सहृदयी साथी गुमायौं,’ प्रकाशले सुनाए ।

तीन सातापछि विक्रम र प्रकाश सँगै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउने कार्यक्रम थियो । अब उनीसँग यसपटक विक्रम साथमा हुने छैनन् । उक्त खेलमा उनको सम्झनामा केहि गर्ने उनको आशा छ । ‘हाम्रो नाम त्यस खेलको रेफ्रीको रुपमा दर्ता भइसकेको अवस्था छ । विक्रम त हाम्रो साथमा रहेनन्, तर उनको यादमा केहि गर्ने चाहना छ । म्याच कमिस्नरमा नेपालमै काम गर्नुभएको गौतम कर हुनुहुन्छ । आशा छ उनको यादमा हामीले केहि सम्मान दिनेछौं,’ श्रेष्ठले टुंग्याए ।

सुबास हुमागाईं, काठमाडौं

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.