3 months ago
September 8, 2023
सन्देश सिग्देल, काठमाडौं नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेको कार्यकाल सुरुवातदेखि नै चुनौतीपूर्ण रहिआएको छ । प्रशिक्षक नियुक्त भएदेखि नै उनले मुख्यत: टोली छनोटमा निकै ठूलो चुनौती सामना गर्नुपरेको छ । आफ्नो पहिलो जिम्मेवारीको रुपमा मार्चमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपका लागि अनेसेसामु आफ्नो पहिलो २३-सदस्यीय टोली निकाल्ने समय निकै कम थियो […]
सन्देश सिग्देल, काठमाडौं
नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेको कार्यकाल सुरुवातदेखि नै चुनौतीपूर्ण रहिआएको छ । प्रशिक्षक नियुक्त भएदेखि नै उनले मुख्यत: टोली छनोटमा निकै ठूलो चुनौती सामना गर्नुपरेको छ ।
आफ्नो पहिलो जिम्मेवारीको रुपमा मार्चमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपका लागि अनेसेसामु आफ्नो पहिलो २३-सदस्यीय टोली निकाल्ने समय निकै कम थियो । त्यसमाथि राजधानीमा चलिरहेको ए डिभिजन लिगको गुणस्तर पनि खस्किएको चौतर्फी आँकलन थियो ।
राष्ट्रिय टोलीबाट खेलिसकेका र निरन्तर रुपमा टिममा परिरहने धेरै खेलाडीको अस्ट्रेलिया प्रस्थानले पनि परिस्थितिलाई अझै जटिल बनाएको थियो । उनी आउनुअघि दुई दर्जन भन्दा बढी खेलाडीहरुले देश छोडिसकेका थिए । र यो क्रम जारी नै थियो ।
पहिलो त समय नै कम, त्यसमाथि लिगको समय तालिका पनि खेलाडी मैत्री थिएन । २-३ दिनको अन्तरमा लगातार खेल खेलिरहनुपर्ने भएकाले खेलाडीहरु चोट बोकिरहेका थिए । जसले गर्दा उनीसँग स्तरीय विकल्पको अभाव थियो ।
विविध अवरोध र चुनौतीका बाबजुद एनेसेले टोलीलाई काठमाडौंमा जित दिलाए । यद्यपि प्रतियोगितामा नेपाली टोलीको यात्रा सहज भने थिएन । नेपालले आफ्नो इतिहासमा भुटानसँग पहिलो पटक बराबरी खेल्नुले पनि टोलीले संघर्ष गरेको संकेत दिएको थियो ।
उपाधि लाओस र भुटान नगई काठमाडौँमै त बस्यो, तर फ्यानहरूले आफूले गर्व गर्ने राष्ट्रिय टोलीको स्तर खस्किएको र महत्त्वपूर्ण सुधार आवश्यक भएको तितो सत्य स्वीकार गर्नुपरेको थियो । एनेसेले प्रशिक्षकको भूमिकामा आएको दिनदेखि नै नेपालमा रहेका युवा खेलाडीहरुको विकासको आवश्यकतामा जोड दिए । उनीसँग टोलीको उन्नतिको लागि मात्र नभई आफ्नै प्रशिक्षण क्यारियरको लागि पनि टोलीसँग सफल हुने ठुलो इच्छा थियो ।
साफ च्याम्पियनसिप नेपाली फुटबलका लागि सफलता पाउने सम्भावना र इज्जतको हिसाबले सबैभन्दा ठूलो प्रतियोगिता हो । तर टोलीको प्रदर्शन विगतको महिमा भन्दा धेरै टाढा थियो । नेपाल यसअघि फाइनलमा पुगेको प्रतियोगितामा यसपटक भने समूह चरणबाटै बाहिरियो ।
तर, भारतविरुद्ध केहि हदसम्म उत्साहजनक प्रदर्शन र विदेशी लिग खेल्ने खेलाडी सम्मिलित पाकिस्तानी टोलीविरुद्धको जितमा समर्थकहरुको आशाको किरण देखियो । एनेसेले नेपाली फुटबलको दीर्घकालीन विकासका लागि आफ्नो प्रतिवद्धतालाई सङ्केत गर्दै प्रारम्भिक एक वर्षको सम्झौता लम्ब्याउने इच्छा समेत व्यक्त गरे ।
म्यानमार विरुद्धको आगामी मैत्रीपूर्ण खेलहरू बेङ्लोरमा निराशाजनक प्रदर्शनपछि टोलीले खेल्ने पहिलो खेल हो । तर, विभिन्न कारणले एनेसेको छनोट विकल्पहरू घट्दै गएका छन् । उनको साफ टोलीका तीन सदस्य यसअघि नै अस्ट्रेलियाको यात्रा गरिसकेका छन् । फरवार्ड दिपकराज सिंह ठकुरी, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले टोलीमा भएकै समय पलायनको बाटो रोजे ।
स्टार फरवार्ड विमल घर्तीमगर र अनुभवी डिफेन्डर देवेन्द्र तामाङलाई व्यक्तिगत कारणले टिममा राखिएन । विमलले भर्खरै विवाह गरेका कारण टोलीमा फर्कन थप समय मागेका थिए । देवेन्द्र, दुर्भाग्यवश, बन्द प्रशिक्षणमा नै देखा परेनन् ।
यी अनुपस्थितहरू बाहेक, एनेसेले आफ्नो टोलीमा थप परिवर्तनहरू गरेका छन्, जसमा अनुभवी गोलकिपर विशाल श्रेष्ठलाई अभिषेक बरालको लागि बाहिर राखिएको छ । विमल पाण्डे र राइट-ब्याक सिमान्त थापा दुवै साफ टोलीबाट बाहिरिएका छन् । यसबाहेक, एपीएफ मिडफिल्ड जोडी नवीन लामा र मणिकुमार लामा २३ सदस्यीय टोलीमा अनुपस्थित छन् । फुटबल टोलीबाट बाहिर भएपछि मणि नेपाली फुटसल टोलीसँग एएफसी फुटसल एसियन कप छनोटको तयारीमा व्यस्त छन् ।
म्यानमारविरुद्ध खेलका लागि सात नयाँ अनुहारहरू बोलाउने एनेसेको निर्णयले परीक्षण गर्ने र अगाडि बढ्न नयाँ टोली तयार गर्ने उनको मनसायलाई देखाउँछ । यो स्पष्ट छ कि टोलीमा भएका केही परिवर्तन एनेसेको नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण हो । उनले आफ्नो आगमनदेखि हरेक पटक राष्ट्रिय टोलीको निर्माण गर्न सामना गरिरहेका चुनौतीहरूलाई समेत झल्काएको छ ।
रूपान्तरणको क्रममा बनेको एनेसेको अहिलेको टोलीले तत्कालका चुनौतीलाई सम्बोधन गर्ने मात्र नभई अझ दिगो भविष्यको लागि योजना रहेको झल्को दिन्छ । अहिलेको टोलीमा सात नयाँ अनुहार समावेश गर्ने निर्णय उनको नियन्त्रण बाहिर रहेको अवस्थाबाट सिर्जना भएतापनि केहि हदसम्म उदाउँदो प्रतिभामा विश्वास गर्ने उनको इच्छा देखिन्छ । यी युवा खेलाडीहरूले टोलीमा ताजा ऊर्जा र उत्साह ल्याउँछन्, जुन दीर्घकालीन रूपमा अमूल्य हुन सक्छ। तर फेरिपनि नेपालले गुणस्तर विकासमा केहि समय व्यतित गर्नुपर्ने हुन्छ ।
एनेसेको कार्यकालको एक उल्लेखनीय पक्ष भनेको रणनीतिक परिवर्तनहरू लागू गर्न खेलाडीहरूमा अनुशासन र टोलीमा एकताको भावना जगाउन लगनशील काममा जोड दिनु हो । उनले पहिलो दिनदेखि नै आफु कडा व्यवहारको भएको कुरा झल्काएका छन् । थोरै समयमा बटुलेका अनुभव र एनेसेको रणनीतिक कौशलता नेपाली टोलीमा बिस्तारै आफ्नो छाप छोड्दै जानेछ भन्ने विश्वास राख्न सकिन्छ ।
फिफा विश्वकप छनोटको महत्वपूर्ण खेल नजिक आइरहेको बेला एनेसेले नयाँ प्रतिभालाई टोलीमा समाहित गर्ने र युवा र अनुभवबीचको सही सन्तुलन खोज्ने दोहोरो चुनौती सामना गरिरहेका छन् । नेपालसँग उनको युगको नयाँ अध्याय आज दिउँसो १६० औं वरियतामा रहेको म्यानमारसँग सुरु हुनेछ । थोरै भएपनि आजको खेलमा एनेसेको टिम छनोट अर्को महिना लाओससँग हुने खेलको सोचाइका साथ हुनेछ । एनेसे याङ्गोनमा यो युवा टोलीसँग सकारात्मक नतिजाको साथ आत्मबल उच्च भने राख्न चाहन्छन् ।
नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपुर्ण खेल यांगोन अन्तरास्ट्रिय रंगशालामा नेपाली समय अनुसार आज दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
December 3, 2023
दिपक बोहरा ,पाँचथर झापाको बिर्तामोड युनाइटेड कठिन जित निकाल्दै पाँचथरमा जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा आइतबार इलामको रेडहर्स क्लबलाई १-० ले बिर्तामोड सेमिफाइनलमा पुगेको हो । श्याम मुर्मुको गोलमा बिर्तामोड विजयी भएको थियो । बिर्तामोड युनाइटेडले अनुभवी खेलाडी योगेश गुरुङ र ‘बि’डिभिजन खेलेका युवा खेलाडी सम्मिलित टोली उतारेको […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध २-१ को जित हासिल गरेको छ । खेल १-१ को अवस्थामा रहेको बेलामा उनले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराए । खेल अवधिभर […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा स्पोर्टिङ्ग इलाम एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् । पहिलो हाफको अवधिभर इलामले नै खेलमा बढी बल राखेको छ र मौकाहरु सृजना गरेको छ । बुटवलका लागि भने जिलेस्पी जंग कार्कीले एक अवसर सिर्जना गर्नु बाहेक अरु स्पष्ट अवसर […]