2 years ago
December 8, 2023
सन्जोग चाम्लिङ
प्रिय पाठक,
यदि तपाईं लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै हुनु हुन्छ भने एउटा सम्भावित प्रश्न तपाईंको लागि निम्नानुसार छ ।
प्रश्न – युरोपको व्यवसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी को हुन् ?
उत्तर – सावित्रा भण्डारी ।
पितृ सत्ताले आक्रान्त भएको हाम्रो समाजमा सावित्रा भण्डारीको चर्चा र सम्मान जति हुनु पर्ने हो, त्यो भएको छैन । यसको कारण अनुच्छेदको सुरुवातमा नै उल्लेख भइसक्यो । नेपाली फुटबलले पाएको एउटा सुन्दर अपवाद हो, सावित्रा भण्डारी ।

सावित्राले सिमपानी गाउँ देखि युरोपेली व्यवसायिक फुटबल लिगको यात्राले प्रमाणित गरेको एउटै सत्य हो, ‘जीवनमा सम्भव छ ।’ उनको यो रोमाञ्चक यात्राले अहिले नै पूर्णविराम लगाउने छनक देखिएको छैन ।
दृढ विश्वास , अविचलित संघर्ष र निरन्तरको मिहिनेतले मान्छेलाई कहाँ पुर्याउँछ ? यसको एउटा खास उत्तर हो, सावित्रा भण्डारी ।
सपनाको सीमा हुँदैन भन्ने भनाईलाई उनले फुटबलको मैदानबाट प्रमाणित गरिन् । युरोपेली लिग एक्कासी आएको अवसर नभएर उनले देखेको सपना थियो । स्वप्नशील मानिस नै अन्ततः विजेता बन्ने हो ।
खेतीपाती, घाँस-दाउरा, पर्म सकेर र सामाजिक व्यवधानहरुसँग पनि संघर्ष गर्दै फुटबल खेल्न समय निकाल्ने एउटी बालिकाको आज गर्विलो परिचय छ । गाउँमा आएको ट्याक्टरको पछाडि कुद्ने यी बालिका आजको दिनमा युरोपेली फुटबल लिगको मैदानमा गोलको भोक मेटाउन कुद्छिन् ।
यति क्षमताशिल खेलाडीको कथा कुनै दिन विद्यालयको पाठ्यक्रममा (एक अनुच्छेद नै सही) समावेश भए पंक्तिकारलाई कुनै आश्चर्य हुने छैन ।
मित्र राष्ट्र इजरायल भौगोलिकरुपमा एशिया महादेशमा रहेता पनि विविध राजनीतिक कारणहरुले गर्दा उसले एएफसीको झण्डामा नरहेर युइएफएको झण्डामा रहेर खेल्ने गर्दछ । विश्वको हरेक फुटबल खेलाडीको सपना नै युरोपेली फुटबल लिग हो । यो तथ्यलाई आत्समात् गर्दा सावित्रा भण्डारी नेपाली फुटबलको अहिलेसम्मकै सबैभन्दा सफल फुटबल खेलाडी हुन् । आज यिनै खेलाडीको चर्चा गरौं ।

सलहेश र सावित्रा
सिराहा जिल्लाको लाहान नगरपालिकामा एउटा विशेष फूल फुल्ने गर्दछ । उक्त फूलको नाम हो – सलहेश । स्थानिय जनविश्वास अनुसार सलहेश फूल नेपाली क्यालेण्डर अनुसार नयाँ वर्ष अर्थात् बैशाख १ गते मात्र फुल्ने गर्दछ ।
त्यही दिन उक्त फूल ओइलाएर जान्छ । प्रेमको प्रतीक मानिने उक्त फूल फुल्ने दिन त्यस ठाउँमा मेला लाग्दछ , जहाँ नेपाल र भारतका धेरै दर्शनार्थीहरु भेला हुन्छन् । विशेष गरी मिथिला क्षेत्रमा यस फूलको विशेष महत्व छ ।
लमजुङ जिल्लाको सिम्पानी गाउँमा जन्मिएकी एक जना महिला फुटबल खेलाडी छिन् – सावित्रा भण्डारी । एकेए, साम्बा । एउटै शब्द साम्बा भने पछि परिचयको लागी अन्य कुनै शाब्दिक फुर्काहरुको आवश्यकता नपर्ने यी खेलाडी पंक्तिकारलाई सलहेश फूलझैं लाग्दछ । जसरी सलहेश फूल सधैं नफुलेर एक दिन फुल्दछ , त्यसरी नै सावित्रा जस्तो क्षमतावान् फुटबल खेलाडी पनि देशले सधैं पाउँदैन ।

जुन देशको फुटबल संघले महिला फुटबललाई कर्म काण्ड भन्दा माथि सोच्दैन, त्यस्तो देशमा यति प्रतिभाशाली र सबल महिला फुटबल खेलाडी पाउनु एउटा आश्चर्य नै हो । यसरी हेर्दा यो सलहेश फूल मलिलो माटोमा नभएर ढुंगामा फुलेको छ । सायद ढुंगामा फूलेको फूल भएर होला, सावित्रा विपक्षीको लागी ढुंगा झै दह्रो र कठोर देखिन्छिन् ।
नेपाली महिला फुटबलको यो कठिन कालखण्डमा सावित्राको सफलताले लेखेको कथाले समस्त नेपाली फुटबल क्षेत्रलाई सुगन्धमय बनाएको छ । यी खेलाडी तिनै हुन् , जसले लामो समयदेखि नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई बलियो काँध दिइरहेकी छिन् । यो क्रम अझै केही समय जारी रहने पक्का छ ।
सावित्रा र साम्बा
नेपाली फुटबल जगतले साम्बा भनेर चिने पनि सावित्रा भण्डारीलाई साम्बा हुनु या बन्नु सम्मको यात्रा घतलाग्दो सुनिन्छ । पितृसत्तात्मक नेपाली समाजमा छोरी मान्छेले फुटबल खेल्न पाउनु सजिलो थिएन र छैन । सावित्राले भोगेको झैं कठिन समय सायद अहिले अलिक कम छ ।
हलोको अनौ समाएर तत्कालिन समयमा एक किसिमको विद्रोह गर्ने साहस भएकी सावित्रा भण्डारीलाई फुटबल खेल्न कहाँ सजिलो थियो होला र ! यो सुन्दर सामाजिक विद्रोह हामीले बिर्सनु हुँदैन ।
घरको चुल्हो एका तिर र फुटबलको सपना अर्को तिर । यही जोखिमको यात्रामा बनेको लोकप्रिय नाम हो, साम्बा । यो यात्रामा योगदान दिने रेफ्री शुक्र लामा धन्यवादका पात्र छन् । जसले गर्दा समयमा नैे सावित्रालाई राजधानीको यात्रा तय भयो । सावित्रा थिइन् , तर फुटबलको मैदानले उनलाई साम्बा भनेर एक मतले नयाँ नाम पारित गर्यो ।

सावित्राबाट साम्बाको रुपमा विकसित हुने क्रममा घरेलु फुटबलमा उनले कति गोल गरिन् ? यसको यकिन संख्या स्वयं साम्बालाई पनि सम्भवतः थाहा छैन ।
नेपाली समाजमा कुनै बालिका अहिले साम्बा जस्तै बन्छु भनेर सपना पछ्याइरहेकी छिन् भने त्यो भन्दा सन्तोषको श्वास साम्बाले कहिले फेर्लिन् र ? साम्बा जस्तै बनाउँछु भनेर कोही अभिभावक आफ्नो छोरीलाई फुटबलको मैदानमा लगी रहेका छन् भने त्यो भन्दा आनन्द साम्बालाई कहिले लाग्ला र ? त्यस्तो सपना भएको नयाँ खेलाडीहरुको कथा केही वर्ष पछि पढ्न–सुन्न पक्कै पाइएला ।
सिम्पानी गाउँको आफ्नै दैनिकीमा व्यस्त यी सावित्रालाई एक दिन साम्बा बन्छु भन्ने कहाँ थाहा थियो होला र ! तर राजधानी आएर संघर्षको आफ्नै मैदानमा छिरे पछि उनी सबैको प्रिय साम्बा बनिन् । विडम्बना हो, अहिले पनि धेरैलाई सपना पछ्याउन राजधानी नै आउनु पर्छ । उनले रोजेको फुटबलको सपनाको बाटोले उनलाई उनको गन्तव्यमा पुर्यायो ।
गन्तव्य पुग्नु यात्राको अन्त्य होइन, बरु नयाँ गन्तव्य फेरि पहिल्याउनु हो । पसिनाले बनाएको उनको आफ्नै नाम र कर्ममा अहिले साम्बा बनेर उनी रजगज गर्दै छिन् । क्या बात् ।
साम्बा र अर्को साम्बा
साम्बा पछि को ? अर्को साम्बा कहिले ? यी प्रश्नहरु टड्कारो छ ।
जुन देशमा महिला फुटबल लिग त के, कुनै पनि प्रतियोगिताको टुंगो पनि हुँदैन, त्यो देशमा साम्बा जस्तो प्रतिभाशाली खेलाडी हुनु समस्त नेपाली फुटबल क्षेत्रको नै शिर उँचो हुनु हो । यसो भनीरहँदा बाँकी महिला र पुरुष फुटबल खेलाडीहरुको क्षमता र योगदानलाई बेवास्ता गरेको अनर्थ नलागोस् ।
नेपाली महिला फुटबलको विकासबारे घोत्लिने हो भने हामीलाई अर्को साम्बा चाहिँदैन किनकी साम्बा त एउटा हुन्छ । हामीलाई त आउँदो दिनमा साम्बा भन्दा प्रतिभाशाली खेलाडी चाहिन्छ ।

कामना छ, साम्बालाई नै बिर्साउने गरी अर्को खेलाडी विकसित होस् । साम्बालाई नै भुलाउने नाम आएन भने पनि नेपाली फुटबललाई आउने दिनमा कम्तिमा कैयौँ साम्बाहरु चाहिएको छ ।
सोच्नुस् त, नेपालको खेल र नतिजा कस्तो हुन्छ होला ?
सार्क राष्ट्रहरुलाई मात्र हेर्ने हो भने पनि सबै देशहरुले महिला फुटबललाई माथि ल्याउन प्रयास गरी रहेका छन् । यस तथ्यको साक्षी काठमाडौंमा सम्पन्न भएको छैटौँ साफ महिला च्याम्पियनसिपमा तपाई हामी नै हौं । बढ्दो प्रतिस्पर्धाको अबको समयमा नेपाललाई साम्बा भन्दा माथिल्लो स्तरको खेलाडी चाहिन्छ । साम्बामा नै अड्किनु भनेको यथास्थितिमा रहनु हो । तर यस पछाडिको बाध्यता र वास्तविकता फेरि आफ्नो ठाउँमा छँदै छ ।
हाम्रो सपना साम्बा पछि अर्को साम्बा नभएर अझ सबल साम्बा हुनु पर्छ । के एन्फाले यसको लागी तयारी गरीरहेको छ ? यसको उत्तरमा मुस्कुराउनु सिवाय तत्काललाई केही छैन ।
साम्बाको कुराहरु सुनिरहँदा उनको एउटा सपना भनेको आफ्नो आमा बुवाको लागी एउटा घर बनाइदिने भन्ने छ । आफ्नो अभिभावकको लागी यस्तो सपना देखेर पसिना बगाई रहने छोरी नेपालको हरेक घरमा हुन् । जुन दिन साम्बाले घर बनाएर घरको चाबी आमा बुवालाई दिन्छिन्, त्यो दिन उनले जिन्दगीको सबैभन्दा ठूलो मेडल जित्नेछिन् ।
यस्तै यस्तै ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]