default_image

2 years ago

December 9, 2023

काठमाडौंको अपराजित यात्रा तोड्दै बुटवल तेस्रोमा उक्लियो

2258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबलाई सिजनको पहिलो हार चखाउँदै बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ को तेस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा शनिबार साँझ काठमाडौंलाई २-१ ले पराजित गर्दै बुटवलले सिजनको दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा जित हासिल गरेपछि लगातार बराबरी खेलेको काठमाडौंले चौथो खेलमा आएर हारको सामना गर्नुपर्यो ।

बुटवल ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ४ खेलमा ५ अंकका साथ पाँचौ स्थानमा झर्यो ।

काठमाडौंविरुद्ध पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बुटवलले दोस्रो हाफमा पनि सोही लयलाई निरन्तरता दियो । जिलेस्पी जंग कार्कीले सुरुवाती समयमा काठमाडौंका कप्तान कुलदीप कार्कीलाई बायाँ विंगमा निकै समस्या दिए । काठमाडौंले खेलको माहोल विपरित बढेको आक्रमणमा बललाई पोस्टमा छिराएको थियो । तर सहायक रेफ्रीको झन्डा अफसाइडको लागि उठ्दा गोलले मान्यता पाएन ।

अर्कोतर्फ बुटवलले भने लगातारको आक्रमणलाई गोलमा परिणत गर्यो । काठमाडौंकै पूर्व खेलाडी बिनोङले लिगको तेस्रो गोल गर्दै आफूलाई सर्वाधिक गोलकर्ता पनि बनाए । हाफको अन्त्यमा कप्तान एरिक विष्टको फ्रिकिक क्रसबारमा लाग्दा टोली अग्रता दोब्बर बनाउनबाट भने चुक्यो ।

एरिकले दोस्रो हाफमा भने गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट उनले अग्रता दोब्बर पार्दै बुटवललाई बलियो अवस्थामा पुर्याए । काठमाडौंले इन्ज्युरी समयको अन्त्यतिर गोल गरेपनि त्यो सान्तवनामै सिमित भयो ।

खेलको सुरुवातमा बुटवलले केही अवसर सिर्जना गर्यो । जिलेस्पी सुरुवाती समयमा आक्रामक देखिएका थिए । पहिलो मिनेटमा उनको क्रस दुई डिफेन्डरलाई लागेर पोस्ट तर्फ गएको बल अभिषेक बरालले समाते । दोस्रो मिनेटमा उनकै अर्को क्रस सहजै क्लियर भयो ।

तेस्रो मिनेटमा काठमाडौंका तोजिदिनोभको थ्रु पासमा शोखरूखको क्रसमा गणेश हमालको प्रहार डिफ्लेक्ट भएर पोस्ट माथिबाट बाहिरियो ।

सातौं मिनेटमा बुटवलका कप्तान एरीक विष्टको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । १०औं मिनेटमा काठमाडौंका कप्तान कुलदीप कार्कीको क्रसमा एनकेन्गवे जुनियरको हेडर पोस्ट तर्फ जान सकेन ।

१३औं मिनेटमा बुटवल फरवार्ड स्टेफन बिनोङले बक्स बाहिर बाट पोस्टको थोरै बाहिर प्रहार गरे । २०औं मिनेटमा बुटवलका लेफ्ट ब्याक पासाङ लामाले बक्स बाहिरबाट टाढा प्रहार गरे ।

२२औं मिनेटमा बिनोङको थ्रु पासमा सर्ज सङ पुग्न सकेनन् । २४औं मिनेटमा एनकेन्गवे जुनियरको क्रसमा हिसुबले बल नियन्त्रणमा लिन खोज्दा मौका खेर फाले ।

२६औं मिनेटमा काठमाडौंले बललाई जाली चुमाएको थियो । तर असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोल भने मान्य भएन । हिसुब थपलियाको क्रसमा किंगे ओलिभिएरको हेडर बुटवल डिफेन्डर अर्नेस्ट टाम्पीको मुखमा लागेर शोख्ररुख सामु पुगेको थियो र उनले बल पोस्टमा छिराएका थिए । तर उनलाई रेफ्रीले विवादास्पद अफसाइडको निर्णय दिए ।

२९औं मिनेटमा भने बुटवलले अग्रता लियो । सरोज तामाङको क्रस काठमाडौं गोलरक्षक अभिषेक बरालले राम्ररी पन्च गर्न नसकेपछि बक्स भित्र आशिष लामा र जिलेस्पीलाई मौका सृजना भएको थियो ।

तर तालमेल नमिलेपछि दुवैले राम्ररी बलमा प्रहार गर्न सकेनन् र बल बिनोङ सामु पुग्यो । उनको पहिलो प्रहार कुलदीप कार्कीले गोल लाईन बाट क्लियर गरेपनि दोस्रो पटकमा भने बिनोङको खुट्टामा लागेर बल गोल पोस्ट भित्र जान पुग्यो । यो उनको बुटवलका लागि सिजनको तेस्रो गोल हो ।

३५औं मिनेटमा काठमाडौं बराबरी गर्नबाट चुक्यो । एनकेन्गवेको क्रसमा हिसुब थपलियाले बक्स भित्रबाट गरेको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

३८औं मिनेटमा बुटवल गोलरक्षक मोहम्मडुले हास्यास्पद बचाउ गरे । तोजीदिनोभको फ्रिकिक उनले समात्ने क्रममा पोस्टको माथि फालेका थिए । ४५औं मिनेटमा बुटवल अग्रता दोब्बर गर्नबाट केही सेन्टिमिटरले चुक्यो । एरिक विष्टको फ्रिकिक क्रसबारमा लागेर फर्किदा बुटवलले अग्रता लिन सकेन ।

थपिएको समयमा काठमाडौँले बराबरी गर्ने अर्को मौका खेरा फाल्यो । हिसुबको क्रसमा आन्द्रेस नियाले बक्स भित्र बल नियन्त्रणमा लिएर पोस्टको थोरै टाढा प्रहार गर्न पुगे ।

४८औं मिनेटमा तोजीदिनोभले बक्स बाहिरबाट घुमाउरो प्रहार गर्न खोज्दा बल पोस्टको केही टाढाबाट बाहिरिन पुग्यो । चार मिनेट पश्चात उनकै क्रसमा शोखरुखको हेडर पोस्टको माथिबाट बाहिरियो । ५८औं मिनेटमा गणेश हमालको क्रस मोहम्मडुले सहजै समाते ।

६१औं मिनेटमा बुटवल अग्रता दोब्बर बनायो । जिलेस्पीको पासमा एरिक विष्टले बक्सको बाहिरबाट बटम कर्नरमा सटिक प्रहार गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

६९औं मिनेटमा तोजिदिनोभको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको माथिबाट बाहिरियो । ७२औं मिनेटमा काठमाडौंको गोलमा आफ्नै खेलाडी राजीव लोप्चन बाधक बने । खमीर गिल्शनको क्रसमा एनकेन्गवे पुग्न सकेनन् रिबाउन्डमा आन्द्रेस नियाको प्रहार राजीवले नै रोक्न पुगे ।

८२औं मिनेटमा सुशील यादवको क्रसमा राजीवको प्रहार मोहम्मदडुले फुसकाएपनी बुटवल क्लियर गर्न सफल भयो । थपिएको समयको छैठौं मिनेटमा भने काठमाडौँले एक गोल फर्काउन सफल भयो । एनकेन्गवे जुनियरको पासमा राजीव लोप्चनले सिक्स यार्ड बक्स भित्र बाट गोल गर्न सफल भएका थिए ।

लिग अन्तर्गत आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनले खेल्नेछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.