default_image

2 years ago

December 19, 2023

एनएसएलको रेफ्री विवाद उत्कर्षमा

3327 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल सुपर लिग २ को लिग चरण अन्त्यतिर आइपुग्दा प्लेअफमा पुग्ने चार टोलीको प्रतिस्पर्धा निकै कडा छ । झन्डै आधा जस्तो खेल बराबरीमा टुंगिदा लिग तालिकामा टोलीबीच खासै फरक छैन । मैदानभित्र स्तरीय खेलाडी र कडा प्रतिस्पर्धा हुँदा रेफ्री विवादले भने प्रतियोगितालाई गाँजेको छ । सोमबार सम्पन्न काठमाडौं रेजर्स र धनगढी एफसीको खेलपछि प्रशिक्षकको आरोप सुन्दा रेफ्री विवाद यसै साम्य नहुने देखिन्छ ।

धनगढी र काठमाडौं बीच खेलमा मुख्य रेफ्रीको भूमिका फिफा रेफ्री प्रज्वल क्षेत्रीले निर्वाह गरेका थिए । तर हाफ टाइमपछि खेलको मुख्य निर्णायकमा फिफा रेफ्री नविन्द्र महर्जन आए । यसअघि फोर्थ अफिसियल रहेका महर्जन रेफ्री क्षेत्रीको तिघ्रामा समस्या आएपछि मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा फोर्थ अफिसियल भने श्याम दनुवार रहे ।

पहिलो हाफमा १-० को अग्रतामा रहेको धनगढी दोस्रो हाफमा बराबरी गोल खाँदै अंक बाँड्न पुग्यो । सोमबारको जितले प्लेअफमा स्थान पक्का हुने भएको अवस्थाबाट अंक बाँड्नुपर्दा धनगढीले अझै कुर्नुपर्ने भएको छ । नतिजामा खुसी रहेको बताएका धनगढीका प्रशिक्षक युगलकिशोर राईले खेलमा भएको रेफ्री परिवर्तनबारे खुलेर आलोचना गरे ।

आजको नतिजामा हामी खुसी छौं । १ अंक जोड्यौं र शीर्षस्थानमा पनि छौं । खेलाडीको प्रदर्शन राम्रो छ । तर रेफ्रीको कुरा गम्भीर रुपमा लिनुपर्यो ,उनले प्रश्न गरे, ‘नविन्द्र महर्जन हामीले पटक पटक हुँदैन भनेको रेफ्री हो । हाम्रो पछिल्लो खेलपछि पनि भनेको हो । काठमाडौंको प्रायजसो हरेक खेलमा वहाँ नै रेफ्री हुनुपर्ने? हामीले हुन्न भन्दा भन्दा पनि सब्सटिच्युटबाट ल्याएर पनि खेलाउन लगाउने?’

एनएसएलमा प्रतियोगिता निर्देशक रहेका एन्फाका लिग निर्देशक संजिव मिश्रले खेलपछि बोल्दै मुख्य रेफ्री नहुँदा फोर्थ अफिसियलले खेलाउने नियमित प्रक्रिया नै रहेको बताएका थिए ।

‘मुख्य रेफ्री प्रज्वल क्षेत्रीको मांशपेशीमा समस्या आएका कारण रेफ्री परिवर्तन भएको हो । मुख्य रेफ्रीले नसकेपछि फोर्थ अफिसियलले खेलाउने नै हो ।’

‘रेफ्री हामीसँग कम छ । हरेक दिन खेल हुँदा जिम्मेवारी विभाजन अलि कठिन छ । हामीले भन्दापनि रेफ्री संघले नै कसले खेल खेलाउने भन्ने निर्णय गर्छ । हामीलाई पनि विहान मात्र थाहा हुन्छ ।’

‘आज फोर्थ अफिसियल भएको कारण नै नविन्द्रले खेलाएका हुन् । अब काठमाडौंमा नविन्द्रले धेरै खेलाएको रहेछ, ललितपुरको खेलमा भारतीय रेफ्री परेका रहेछन् । हरेक कुरा मिलाएर गर्दा यो संयोग मात्र भएको हो । आज पनि संयोग नै हो ।’

यता काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले भने जुनसुकै रेफ्रीले खेलाएपनि आफूलाई समस्या नहुने बताए ।

‘मेरो लागि सबै रेफ्री आफ्नै हो । मेरो यो त्यो भन्ने होइन । आयोजकले रेफ्री राख्ने हो । कुनै प्रशिक्षकलाई चित्त नबुझ्ने हुन सक्छ । तर मलाई केहि भएजस्तो लाग्दैन ।’

गत साता स्पोर्टिङ इलाम र वीरगन्ज युनाइटेडबीच भएको खेलमा पनि रेफ्री कबिन ब्यन्जनकारले दिएको निर्णयलाई लिएर निकै विवाद भयो । खेलपछि रेफ्रीविरुद्ध इलामका अधिकांश खेलाडी विरोधमा उत्रंदा रंगशालामा रेफ्री र खेलाडीबीच झगडाकै अवस्था सिर्जना भएको थियो ।

खेलपछि बोल्दै इलामका प्रशिक्षक मेघराज केसीले रेफ्रीको प्रदर्शन र स्तर नेपाली फुटबलकै जस्तो भएको र त्यसमा खासै समस्या नरहेको बताएका थिए । उनले रेफ्री आफैंले खेलाडीसँग असभ्य बोल्दा समस्या बल्झिएको भने बताएका थिए ।

‘खेलाडीले गल्ती गर्दा रेफ्रीले कार्ड दिने अधिकार हुन्छ । तर रेफ्रीले नै खेलाडीलाई असभ्य बोल्दा के हुन्छ? यसबारे पनि सोच्नुपर्ला । मैले आफैं रेफ्रीले अपशब्द बोलेको सुनें,’ अवस्था साम्य पार्न मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका केसीले भने ।

त्यसो त रेफ्रीबारे प्रशिक्षकले दिएको अभिव्यक्ति सुरुवाती खेलदेखि नै थिए । झापाका स्पेनिस प्रशिक्षक ओरिओल मोहेदानो सेगुराले आफ्नो टोली प्रतियोगितामा नयाँ भएकाले केहि असहयोग भएको बताएका थिए । त्यस्तै इलामकै प्रशिक्षक केसीले फोर्थ अफिसियलले रेफ्री र सहायक रेफ्रीले नदिएको निर्णय टाढाबाट दिएकोमा असन्तुष्टि पोखेका थिए ।

यसपटक फिफा रेफ्री प्रकाशनाथ श्रेष्ठलाई एनएसएलमा कुनै जिम्मेवारी दिइएको छैन । अर्को वर्षको फिफा रेफ्री नवीकरणका लागि उनको नाम नपठाएको चर्चा फुटबल वृत्तमा चलिरहँदा एन्फाको रेफ्री नियुक्तिको विषय पुन: एकपटक विवादित बन्ने मोडमा देखिन्छ ।

फिफा रेफ्री नियुक्ति प्रक्रियामा पारदर्शीता नहुँदा विगतमा पनि विवाद निम्तिएको थियो । एन्फा नेतृत्वले फिफा रेफ्री नियुक्तिमा रेफ्रीको प्रदर्शन मात्र भन्दापनि कोटा र चुनावी माहोल जोड्न खोज्दा नियुक्ति विवादमा पर्दै आएको थियो ।

विवाद कम होस् भन्ने लक्ष्यसहित एनएसएलले प्रतियोगितामा २ भारतीय रेफ्री पनि ल्याएको छ । राम दशन र सुरोजित दासको रुपमा भारतको शीर्ष घरेलु प्रतियोगिताको अनुभव बोकेका यी दुई रेफ्री अन्य नेपाली रेफ्रीभन्दा कम विवादमा आएका छन् ।

एनएसएलका प्रबन्ध निर्देशक श्रेयांश कार्की भारतबाट रेफ्री ल्याउनुको मुख्य लक्ष्य नै निर्विवाद खेल गर्नु रहेको बताउँछन् ।

‘हामीले भारतबाट रेफ्री ल्याउनुको कारण नेपाली रेफ्री असक्षम भनेर होइन । यहाँको रेफ्रीले पनि बाहिरबाट आएका रेफ्रीसँग सल्लाह गर्ने र सिक्ने अवसर हुन्छ । अनि बाहिरबाट आउने रेफ्रीले विना कुनै दबाब खेलाउन पाउँछन् ।’

‘नेपालमा भएका रेफ्रीको खेलाडी वा टोलीसँग कुनै सम्बन्ध वा विवाद हुन सक्छ । खेलमा त्यसले कुनै असर नगर्ला तर हामीले सकेसम्म त्यस्तो अवस्था न्यूनीकरण गर्न खोजेका छौं ।’

कार्कीले रेफ्रीहरुको प्रदर्शनमा पटक पटक असन्तुष्टि आएकोमा आफ्नो तर्फबाट त्यसलाई सुल्झाउन सक्दो प्रयास गरेको पनि बताए ।

‘हाम्रो पनि रेफ्रीको प्रदर्शन हेर्ने संयन्त्र छ । हामीले एन्फाकै रेफ्री समितिसँग सहकार्य गरेका छौं । यस विषयमा सबै निर्णय वहाँहरुले लिनुहुन्छ । हामीले समय समयमा विस्तृत रिपोर्ट पनि माग गरेका छौं ।’

‘अस्ति इलामकै घटनालाई लिएर पनि हामीले विशेष रिपोर्ट माग गरेका छौं । खेलाडीले त मैदानमा कार्ड पाउँछन्, हामीले रेफ्रीका लागि पनि प्रदर्शन अनुसार जिम्मेवारी दिने वा नदिने निर्णय लिने गरेका छौं ।’

कार्कीले जनाए अनुसार नै इलामको उक्त विवादित खेलपछि रेफ्री कविन ब्यन्जनकारले कुनै खेलमा जिम्मेवारी पाएका छैनन् । एन्फाको औपचारिक प्रतियोगिता नभएका कारण पनि एनएसएलको आफ्नै कारवाही र अनुशासनको नियम हुने गर्दछ ।

गत सिजन विराटनगर सिटी एफसीका प्रशिक्षक यान ल लगायतलाई अनुशासनको कारवाही गरेको घटना खासै पुरानो भएको छैन । रेफ्री पटक पटक विवादमा आउँदा खेलको स्तर राम्रो भएपनि विवादले छायाँमा पर्दै आएको छ ।

भारतीय रेफ्री ल्याउने प्रयोगले सकारात्मक नतिजा दिएपनि यो दिर्घकालिन समाधान पक्कै होइन । रेफ्रीको प्रशिक्षण र प्रवर्द्धनमा निकै कम कार्यक्रम आएको अवस्थामा एनएसएलले एन्फासँग सहकार्य गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सिजनको अन्त्य नजिकिदै गर्दा खेलको महत्त्व पनि बढ्दै गएको छ । प्लेअफमा पुग्ने टोलीको छिनोफानो र त्यसपछि उपाधि होडमा रेफ्रीमाथि अझै दबाब पर्ने निश्चित छ । त्यसैले एनएसएल र रेफ्री समितिले रेफ्रीको प्रदर्शनलाई नजिकबाट नियालेर त्यसैको आधारमा बाँकी जिम्मेवारी दिनु नै उचित हुने देखिन्छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.