2 years ago
March 7, 2024
फेयर प्ले
प्रकाश तिमल्सिना,काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चुनिएको २० महिना पूरा भइसकेको छ । यो डेढ वर्ष भन्दा लामो समयमा एन्फामा साधारण सभा गर्नबाहेक अधिकांश मामिलामा असफल रहँदै आएको छ ।
वर्षदिन भन्दा अघि तय विश्वकप छनोट खेलका लागि दशरथ रंगशाला तयार अवस्थामा राख्न नसक्ने एन्फाबाट अरु के नै अपेक्षा गर्न सकिन्छ । मैदानको अवस्था खराब भएकै कारण चैत ८ गते बहराइनविरुद्ध हुने खेल न्युट्रल भेन्यूमा गर्नुपर्ने अवस्था सिर्जना हुनुलाई नेतृत्वकै असक्षमता मान्नुपर्ने हुन्छ । पुनर्निर्माण अवस्थामा रहेका कारण बाहेक दशरथ रंगशालामा यसअघि अन्तर्राष्ट्रिय फुटबल रोकिएको थिएन । चेन्ज एन्फाको नारासहित आएको नेतृत्वले नेपाली फुटबलमा अर्को एउटा गलत नजिर स्थापित गरेको छ ।
नयाँ नेतृत्व आएपछि सकारात्मक कामको आशा राखिन्छ । जुन स्वभाविक हो । विश्वासमा खरो उत्रन सकेन भने विश्वास विस्तारै अविश्वासमा बदलिन्छ । अहिलेको अवस्था त्यहि हो । पंकज विक्रम नेम्वाङ नेतृत्वमा रहेको एन्फाबाट फुटबलप्रेमी आशा गर्न छाड्दै गएका छन् । कम्तीमा सामाजिक संजालमा फुटबल नेतृत्वप्रतिका टिप्पणीबाट यत्ति बुझ्न सकिन्छ । तर त्यसले नेतृत्वलाई खासै फरक परेको देखिदैन ।
नेम्वाङ निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हराउँदै एन्फाको मुख्य नेतृत्वमा पुगेका थिए । अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष हुँदा अधिकांश समय शेर्पाविरुद्धमा उभिएर नै नेम्बाङले एन्फा अध्यक्षको आफ्नो धरातल तयार पारेका थिए । त्यति बेलाका अधिकांश बैठकमा उनको असहमति/फरक मत हुने गर्थ्यो । विगतमा शेर्पाको अवस्थामा नेम्वाङ पुगेका छन् ।

अधिकांश बैठकमा नेम्वाङले फरक मत/असहमितको सामना गर्नुपरेको छ । यहाँसम्म कि उनले नेतृत्व गर्ने कतिपय बैठकमा बहुमत पनि नपुग्ने अवस्था देखिएको छ । कतिपय अवस्थामा कार्यसमिति बैठक नेम्बाङलाई भ्यागुताको धार्नी पुर्याउन खोजेझैं भएको छ । अर्थात् एउटालाई साथमा राख्यो अर्को उफ्रेर बाहिरिने । अर्को समात्यो फेरि अर्को फुत्त निस्कने । केहि न केहि वाचा वा प्रोलोभनपछि मात्र कतिपय बैठकमा कोरम पुग्ने गरेको एन्फाकै पदाधिकारी स्वीकार गर्छन् ।
नेतृत्वमा पुग्नु र त्यहाँ पुगेपछि सहि ढंगमा काम अघि बढाउन फरक विषय हुन् । साम, दाम, दण्ड, भेद गरेर पनि नेतृत्वमा पुग्ने नेम्वाङको आकंक्षा पूरा त भयो । तर, २० महिनामा उनले न अध्यक्षमा चाहिने क्षमता प्रदर्शन गर्न सके न त सामूहिक नेतृत्वलाई कार्यान्वयन नै । यहाँसम्मकी आफ्नै प्यानलमा चुनाव जितेका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र कतिपय सदस्य अहिले उनकै सबैभन्दा ठूलो आलोचक भएका छन् । आखिर किन त्यस्तो परिस्थित तयार भयो ? सामूहिक नेतृत्वको वाचा कता पुग्यो ?
पछिल्लो २० महिनामा ४ मध्य २ विशेष र दुई नियमित साधारण सभा भयो । २०७९ असार ६ गतेको निर्वाचनमा ४ सदस्यका उम्मेदवारको मत बराबर भएपछि असोज १२ गते अर्को साधारण सभा बस्यो । त्यो निर्वाचनमा समिति थियो ।
अर्को विशेष साधारण सभा कात्तिक २३ गते हेटौडामा बस्यो । त्यसको एकमात्र एजेण्डा थियो नेम्बाङविरुद्धको अश्विासको प्रस्तावको छिनोफाने गर्नु । त्यसमा नेम्वाङलाई सफलता मिल्यो । आफूविरुद्ध अविश्वास प्रस्ताव राख्नेहरुलाई नै फुट गराएर नेम्वाङ जोगिए । त्यसकै जगमा पूर्व महासचिव इन्द्रमान तुलाधरलाई एन्फा फर्कने बाटो खुल्यो ।

माघ ८ गते विशेष साधारण सभा बस्यो । १० मिनेटमा सकिएको त्यो विशेष साधारण सभाले अडिट कम्पनीको छनोट गर्यो । अर्को नियमित साधारण सभा फागुन १४ गते बस्यो । १ घन्टा भन्दा केहि लामो समय चलेको बैठकमा केन्द्रिय समितिका आधा जसो पदाधिकारी र सदस्यले नै बहिष्कार गरे । एन्फा साधारण सभामा त्यो पनि नौलो घटना थियो । साधारण सभामा एन्फा कार्यसमितिको धेरै भूमिका हुँदैन । तर, जवाफदेही कार्यसमितिका आधा भन्दा बढी पदाधिकारी सदस्य सभामा नुहुनुले संस्थाको मतभेद छताछुल्ल भएको छ ।
अहिले सम्म तत्कालको समस्यालाई जसोतसो मिलाउँदै आएका नेम्वाङले फुटबललाई गति भने दिन सकेका छैनन्। एन्फा भित्र कसैलाई एकअर्काप्रति विश्वास छैन । नेतृत्वकै खिचातानी र अविश्वासका कारण झण्डै ५ दर्जन व्यवसायिक खेलाडीले यो २० महिनामा देश छाड्दा एन्फा मुकदर्श बाहेक केहि भएन । उनीहरुलाई रोक्नु कुनै विश्वासिलो आधार तयार पार्न सकेन ।
वाफ च्याम्पियनसिपको फाइनल खेलेर यसै साता स्वदेश फर्केको महिला टोलीलाई त्रिभुवन विमानस्थलमै पुगेर जनही ५१ हजार रुपैयाँ घोषणा गरेका नेम्वाङ नेतृत्वको एन्फाले यो २० महिनामा घरेलु महिला फुटबलमा सिन्का पनि भाँचेनन् । पुरुषको ए डिभिजन लिगबाहेक अन्य लिग हुन सकेन । क्रिकेटको लोकप्रियता बढ्दै गर्दा फुटबलमा त्यसको असर पर्नेमा अब शंका गरिराख्नु पर्दैन । फुटबलमा भन्दा क्रिकेटमा समर्थकहरु बढ्दै गएको घाम जत्तिकै छर्लङ छ ।
एन्फाका हरेक बैठक विवादित बन्ने गरेका छन् । साधारण सभाका लागि प्रस्तुत गर्ने एजेण्डा एउटा सहमति र अर्को प्रस्ताव गरेको कारण देखाउँदै नै १० पदाधिकारी र सदस्यले सभा बहिष्कार गरेका थिए । कुनै पनि विवादमा एन्फा नेतृत्वले प्रष्ट जवाफ दिएको छैन ।

एन्फा अध्यक्ष नेम्वाङले यो अवधिमा एउटा पनि पत्रकार सम्मेलन गरेका छैनन् । कुनैपनि एन्फाको कार्यक्रममा प्रश्नको सामना पनि गर्दैनन् । विदाई र केहि औपचारिक कार्यक्रममा बाहेक नेम्वाङ जवाफमा दिने ठाँउमा कतै बस्दैनन् । पछिल्लो समयमा एन्फा भित्रबाट नेम्वाङमा नेतृत्व क्षमतामा प्रश्न उठ्ने थालेको छ । केहि व्यक्तिहरुप्रति अति विश्वास गरेर आफू अलग्गै बस्ने नेम्वाङको प्रवृत्ति देखिएको छ ।
प्रेसबाट जति भागेपछि आफ्नो कार्यकालको जस अपजसबाट नेम्वाङ उम्कन पाउने छैनन् । समयले जवाफ माग्ने नै छ । अरुलाई दोष लगाएर उनी उम्कन पाउने छैनन् । चुनौतीलाई अवसरमा बदल्ने मौकाबाट उनी च्युत हुने खतरा बढ्दै गएको छ । समयमै सम्हाल्न नसक्ने हो भने बाँकी २८ महिना फुटबल थप विवादित र गिजोलिने खतरा छ । त्यस्तो अवस्थामा नेपाली फुटबलको दुरावस्थाको मुख्य दोषी नेम्वाङ नै हुनेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]