default_image

2 years ago

March 14, 2024

अब आगोको फुटबल खेल्नु पर्छ

1750 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

सानो प्रसंग स्व. डम्बरसिं गुरुङको ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीबाट करिअर सुरु गरेका उनले खेलाडी जीवन अन्त्यपछि फुटबल प्रशिक्षकको भूमिकामा काम गरे । गत वर्ष गुरुङको ७१ वर्षको उमेरमा निधन भयो । उहाँको कडा मिजासबारे धेरैलाई थाहा नहुन सक्छ । प्रशिक्षणको दौरान आफूले चाहे जस्तो नभएको अवस्थामा उहाँको रिसले उचाई छुन्थ्यो ।

त्यो बेलामा कुनै खेलाडीलाई प्रश्न गर्दा प्रायः जसो खेलाडीहरु चुप रहन्थे किनकी गुरुङलाई उत्तरले चित्त नबुझेमा त्यो जवाफ खेलाडीलाई झनै प्रत्युत्पादक हुने लगभग पक्का हुन्थ्यो । जब खेलाडी चुपचाप हुन्थ्यो तब उहाँको रिस यसरी प्रश्न बनेर आउँथ्यो : मुखमा जिपर लगा’को छस् कि मुख भित्र अम्बा कोचेको छस् ? स्व. गुरुङप्रति श्रद्धासुमन ।

यो प्रसंग यहाँ यस कारण सान्दर्भिक छ कि हामी अर्थात् खेलाडीहरु उल्लेखित प्रसंगमा झैं मुखमा जिपर लगा’को या मुखभित्र अम्बा कोचेर बसी रहेको आभाष हुन्छ । यो वर्तमान अवस्थाको चित्रण हो । यस्तो लेखिरहँदा पंक्तिकार आफैंलाई खेद छ । नेपाली फुटबल खेलाडीहरुले यस गल्तीलाई सुधार्दै अब अगाडि बढ्नु पर्छ ।

फुटबल एउटा निर्जीव वस्तु न हो । खेलाडीले खेले पश्चात मात्रै फुटबलमा जीवन भरिने वा त्यसले अर्थ र महत्व राख्ने हो । न कि पदाधिकारीहरुको सिलसिलावद्द स्वार्थले भरिएका चालबाजीहरुले फुटबलमा प्राण भरिन्छ । खेलाडी भएर न एन्फाको अस्तित्व छ । एन्फा पहिला आएर खेलाडीको अस्तित्व बनाएको होइन ।

डर, लोभ र आशाले नेपाली फुटबल खेलाडीहरु मौन झैं भएको सत्य हो । चुपचाप बस्न बाध्य बनाईएको पनि हो । समय घर्कीन लागिसक्यो, अब बोल्न थालौं । प्रश्न गरौँ एन्फालाई । प्रश्नको चित्तबुझ्दो उत्तर नआउन्जेल निरन्तर प्रश्न गरौं । कम्तिमा आउँदो पुस्ताको लागि भए पनि सबै खेलाडीहरु एकजुट भएर बुलन्द आवाजमा प्रश्न उठाउन अत्यन्त आवश्यक भइसकेको छ ।

खेलाडीको धर्म खेल्नु मात्रै होइन । पहिलो प्राथमिकता मात्र हो, खेल्नु । तर यहाँ एउटा भाष्य के बनाईएको छ भने खेलाडीको काम खेल्नु मात्र हो । नेपाली फुटबलमा चुपचाप रहनु या कुनै प्रतिक्रिया नजनाउनुलाई खेलाडीको अनुशासन मानिन्छ । बोल्नुलाई अनुशासनहिनताको अर्थ लगाईन्छ । मानौं खेलाडी भनेको कुनै यन्त्र मानव हो । अनुशासनको यो गलत भाष्यलाई सच्याउनु त छँदैछ , सँगै आउँदो पुस्ताको सपनाको मृत्युको साक्षी नबन्ने प्रण पनि सबै खेलाडीहरुले गर्नु छ । पहिला मान्छे , अनि खेलाडी हो ।

नेपाली फुटबलको गलत संस्कृति, विसंगति र प्रवृत्तिको विरुद्धमा आवाज उठाउन अब पनि ढिलो गर्नु हुँदैन किनकी हिजोको पुस्ताले गरेको यस्तो गल्ती आजको पुस्ताले दोहोर्याएर भोलीको पुस्ताको लागि अफसोच बन्नु हँदैन । विडम्बना हो, हिजोको पुस्ताले कुनै प्रश्न गर्न हिम्मत गरेन एन्फालाई । जो खेलाडीहरु एन्फाको जिम्मेवारीमा पुगे, ती सबै स्वार्थ र लोभको दलदले हिलोमा आफैं गाडिए । हिजोको पुस्ताले अब गर्दैन, त्यही भएर आजको पुस्ताले नेपाली फुटबलको वास्तविक विकासको लागि आवाजको विगुल फुक्न थाल्नु पर्छ ।

नेपाली फुटबल खेलाडीहरु नेपाली फुटबलको पिँध हो । पिँधमा रहेको खेलाडीहरु माथि टेकेर सबैले आफ्नो उचाई बनाए तर खेलाडीहरुलाई पिँधबाट उठ्न दिएनन् । नेपाली फुटबल खेलाडीहरुको काँध अब थाक्नु पर्छ । थाकेको काँधबाट भारी फ्यालेर जुरुक्क उठ्न साहस गर्नु पर्छ । भारी थामी राखे एउटा अवस्थामा पुगे पछि त्यसले आफैलाई किच्छ । भारी नफ्याँके सम्म उठ्न सकिँदैन ।

नेपाली फुटबलको सबैभन्दा पिडित पक्ष नै खेलाडीहरु हुन्, जसलाई एन्फाले मोहरा बनाएर विभिन्न समयमा विभिन्न गुटहरुले नेपाली फुटबलमा राज गरी रहे । एन्फामा नेपाली फुटबलको औपचारिक नेतृत्व त आइरह्यो तर खेलाडीहरुको अभिभावक आएको महसुस कहिल्यै गर्न सकिएन । तिनीहरुले खेलाडीको पसिनाको सुगन्ध थाहा पाएनन् , न त पसिनाको मूल्य र अर्थ । यो प्रवृत्ति निरन्तर आजको दिनसम्म जारी छ । पिडितको पक्षमा सबैभन्दा पहिले पिडित पक्षले नै बोल्न थाल्नु पर्छ । आफैं नगरे कसले ?

अब सामाजिक संजालमा बोलौं । चोक चोकमा बोलौं । मैदानमा बोलौं । ड्रेसिङ रुममा बोलौं । प्याराफिटबाट बोलौं । अभ्यास सत्रमा बोलौं । भेटघाटमा बोलौं । एक्ला एक्लै भए पनि बोलौं । सामूहिकरुपमा बोलौं । एन्फा मुख्यालयमा बोलौं । दशरथ रंगशालामा बोलौं । स्वदेशबाट बोलौं । विदेशबाट बोलौं । सबै शुभचिन्तकहरु बोलौं । सबै नेपाली फुटबल खेलाडीहरु बोलौं । यसरी बोल्दा हाम्रो भाषा र भाष्यको रुप र सार भने एउटै हुनु पर्दछ । न कि कसैको व्यक्तिगत स्वार्थको आवाज होस् ।

बोल्नु भनेको एउटा जिउँदाजाग्दो खेलाडी हुनुको परिचय पनि हो । बोल्नु भनेको भोलीको पुस्ताको लागि एउटा जिम्मेवारीबोध पनि हो । बोल्नु भनेको नेपाली फुटबलको वास्तविक परिवर्तनको कित्तामा छु भनेर इतिहासमा नाम लेखाउनु पनि हो ।

साधारण सभाको नाममा वार्षिक करोडौँ सक्नेहरुलाई सोध्नु पर्छ : खेलाडीहरुलाई आफैले घोषणा गरेको पुरस्कार रकम वर्षौंसम्म पनि एन्फाले किन दिँदैन ? यसको चित्तबुझ्दो उत्तर नआएसम्म निरन्तर प्रश्न गर्नु पर्छ ।

महिला टिमको सफलतामा रमाउन सक्नेहरुलाई सोध्नु पर्छ : महिला फुटबलको घरेलु संरचनाको निर्माण गर्न के ले छेकेको छ ? यसको चित्तबुझ्दो उत्तर नआएसम्म निरन्तर प्रश्न गर्नु पर्छ ।

राष्ट्रिय टिमकै खेलाडीहरु विदेशिदा पनि संवेदनशिल नहुनेहरुलाई सोध्नु पर्छ : बहुमत र अल्पमतको अराजनीतिमा रमाएर नेपाली फुटबल माथि कहिलेसम्म दाइँ गरी रहने ? यसको चित्तबुझ्दो उत्तर नआएसम्म निरन्तर प्रश्न गर्नु पर्छ ।

खेलाडीलाई रोजगारीका लागि पलायन हुँदा मुकदर्शक बन्ने एन्फा पदाधिकारी, जिल्ला र क्लबका पदाधिकारी विना काम राष्ट्रिय टोलीसँग जान किन लोभ गर्छन् त्यसलगायतका थुप्रै विसंगति विरुद्धको आवाज बुलन्द गर्नु पर्दछ।

यस्ता अनगिन्ती प्रश्नहरुको उत्तर नखोजुन्जेल नेपाली फुटबलको विकासको खाका केवल एन्फाका पदाधिकारीहरुको बेअर्थका भाषणबाजीहरुमा मात्र सिमित रहनेछ । यस्ता प्रश्नहरुको उत्तर खोज्न सुरु नगर्ने हो भने नेपाली फुटबलको यो हविगतमा परिवर्तन हुने छैन ।

अरुले गरेनन् , यसकारणले पनि नेपाली फुटबल खेलाडीहरु आफैं अगाडि आउनुपर्छ । प्रश्न गर्नुपर्छ । उत्तर माग्नुपर्छ । चित्तबुझ्दो उत्तर नआएको खण्डमा नेपाली फुटबलमा हस्तक्षेप गर्न पनि खेलाडीहरु तयार हुनु पर्छ । इतिहास आफै बन्दैन, बनाउन पर्छ ।

अब नेपाली फुटबल खेलाडीहरुले आगोको फुटबल खेल्नु पर्छ । विकल्प छैन ।

यस्तै यस्तै ।

नोट: प्रतीकात्मक तस्वीर डाल-इ एआईको सहयोगमा निर्माण गरिएको हो ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.