default_image

1 year ago

July 24, 2024

नेपालमा संचालित ‘रोड टु टोटेनहम’ अवैध

2929 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

भारतीय क्लब किकस्टार्ट फुटबल क्लबले स्थानीय क्लब र संस्थासँग मिलेर इंग्लिस प्रिमियर लिगको क्लब टोटेनहम हट्सपर सम्म पुर्याउने भन्दै नेपालमा आयोजना गरेको ‘रोड टु टोटेनहम’ कार्यक्रम अवैध भएको पाइएको छ ।

किकस्टार्टले नेपालको बी डिभिजन क्लब श्री भगवती क्लब टोखा र भकुन्डो एनपी नामक संस्थासँग मिलेर ‘रोड टु टोटेनहम’ नामक कार्यक्रम दुई महिनाअघि आयोजना गरेको थियो । जसका लागि क्लबले झन्डै ३ हजार संख्यामा खेलाडीको ट्रायल लिएको थियो ।

टोखाले आफ्नो सामाजिक संजालमार्फत ‘किक्कस्टार्ट- टोटनह्याम एकेडेमीले यु-११ देखी यु-२१ सम्मका ट्यालेन्टेड नेपाली खेलाडीहरुका लागि ओपन ट्राइल यही बैशाख २९, ३० गते ललितपुरको च्यासलमा आयोजना गर्दै छ । ट्राइलबाट सेलेक्टेड ट्यालेन्टेड खेलाडीलाई युरोपियन क्लब टोटन्ह्यामको किस्कस्टर्ट-टोटन्ह्याम एकेडेमीले फुल इलाइट स्कलरशिप दिने छ भने उत्कृष्ट खेलाडीहरुका टोटन्ह्याम सम्म लागि रोड म्याप पनि दिने छ ।’ भनेर उल्लेख पनि गरेको छ ।

तर प्रिमियर लिग क्लब टोटेनहमलाई हाम्रो खेलकुदले यसबारे प्रश्न गर्दा किकस्टार्ट सँग यस्तो किसिमको कुनै सहकार्य नभएको क्लबले जनाएको छ । टोटेनहमले किकस्टार्टसँग नेपालको लागि त अझ कुनै प्रकारको सम्झौता नै नभएको समेत बताएको छ ।

हाल टोटेनहम र किकस्टार्टबीच प्राविधिक विकासका लागि प्रशिक्षण उपलब्ध गराउने सहमती मात्र भएको र पहिलो वर्षका लागि प्रशिक्षकको भिसामा काम भइरहेको इमेलमार्फत जानकारी दियो । टोटेनहमले नेपालमा भएको ‘यस ‘रोड टु टोटेनहम’ कार्यक्रमबारे क्लबलाई कुनै जानकारी नरहेको पनि प्रष्ट पारेको छ ।

यसबारे श्री भगवती क्लब टोखाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई सोध्दा क्लबको कार्यसमिति परिवर्तन भएको र यसबारे आफूभन्दा अघिल्लो समितिले प्रष्ट पार्न सक्ने बताए । श्रेष्ठको नेतृत्वमा अघिल्लो साता मात्र सर्वसम्मतले नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

कार्यक्रम संयोजक रहेका मनिष जोशीले भने किकस्टार्टले नेपालमा आयोजना गर्ने इच्छा देखाएपछि क्लबले त्यसमा समन्वय गरेको बताए । ‘हामीले क्लबको विश्वास गरेर कार्यक्रम ल्यायौं । नेपालमा भएका प्रतिभालाई ठाउँ दिने सोचले नै यो आयोजना गरेका हौं । अब वहाँहरुले सहकार्य रहेको बताएपछि त्यसै अनुसार नेपालमा पनि ट्रायल गरेर खेलाडी प्रशिक्षणमा पठाएका छौं,’ एन्फा केन्द्रिय सदस्य समेत रहेका जोशीले भने ।

पहिलो चरणमा गएका केही खेलाडी यसै फर्किए

‘रोड टु टोटेनहम’ अन्तर्गत क्लबले छनोट गरेका खेलाडीमध्य केही भारत पुगेर यसै फर्केका छन् । नेपालको लागि उमेर समूह तथा सिनियर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म नै पुगेका खेलाडी भारत पुगेर यसै फर्किनुपरेको छ । क्लबले नेपालका खेलाडीलाई टोटेनहम लग्ने प्रक्रिया जटिल हुने कारण भारतको आधार कार्ड लिएर भारतीय बन्नुपर्ने बताएपछि खेलाडीहरु फर्किएका हुन् ।

क्लबले सुरुमा एलिट स्तरमा छनोट हुने खेलाडीको सम्पूर्ण निशुल्क हुने भनेपनि खेलाडीहरु आफ्नो आवत-जावत खर्च पूरै बेहोरेर निराश हुँदै नेपाल फर्केका छन् । क्लबले त्यहाँ पुगेपछि भने केही समय किकस्टार्टको एकेडेमीमा प्रशिक्षण गर्नुपर्ने र त्यसपछि मात्र टोटेनहम जान सम्भव हुने बताएको खेलाडीले गुनासो गरे ।

सुरुवातमा नेपालबाट नै छनोट हुँदै भारतमा दोस्रो चरणको छनोट हुने भनेपनि किकस्टार्टको एकेडेमीमा रहेर प्रशिक्षण गर्न मात्र यो छनोट भएको तथ्य बाहिर आएको छ । टोटेनहमसँग यस्तो कुनै सम्झौता नभएकाले एकेडेमीसम्म पुग्ने बाटो नेपाली खेलाडीको लागि हाल सम्भव छैन । तर किकस्टार्टले यसमा अवैध रुपमा कार्यक्रम संचालन गरेर नेपाली खेलाडीलाई झुक्याउँदै आफ्नो एकेडेमी प्रयोग गर्न बाध्य बनाएको छ ।

नेपालबाट छनोट चरणमा सहभागी ३६ खेलाडीहरु मध्ये ५ खेलाडीहरुले पूर्ण छात्रवृत्ति प्राप्त गरेको टोखाले जानकारी दिएको छ । तर पूर्ण छात्रवृत्ति पाएका भनिएका खेलाडी नेपाल फर्किसकेका छन् । दोस्रो चरणमा मंगलबार बेंगलोर लागेका अन्य खेलाडीहरुले ९० प्रतिशत देखि १० प्रतिशत सम्मको छात्रवृत्ति प्राप्त गरेको टोखाले जनाएको छ ।

टोटेनहमले वार्षिक रुपमा विश्वभरबाट आफ्नो कार्यक्रम भएका ४५ हजार भन्दा बढी खेलाडीलाई प्रशिक्षण दिने गर्दछ । टोटेनहमले किकस्टार्टसँगको आफ्नो सहकार्यमा स्थानीय प्रशिक्षक र खेलाडीको विकासमा सहयोग गर्न चाहेको मात्र बताएको छ । टोटेनहमले प्राविधिक सहयोग गर्ने र युवा टोलीको केहि विशेष खेलाडीलाई एकेडेमीमा गएर प्रशिक्षणको अवसर दिने बताएको छ ।

यसै अनुरुप किकस्टार्टले केहि महिनाअघि लन्डन पुगेर ८ ओटा प्रशिक्षण सेसन पनि लियो । अफ सिजनमा क्लबहरुले युवा परियोजना अन्तर्गत गर्ने कार्यक्रममध्य यो पनि एक थियो । तर यहाँ एकेडेमीमा खेलाडी पुर्याउने जस्ता केही पक्ष उदृत गरिएको छैन । टोटेनहम आफैंले पनि एकडेमीमा नेपाली खेलाडी लग्ने कुनै प्रावधान नरहेको हाम्रो खेलकुदलाई बताएको छ ।

टोटेनहमको वैधानिक ‘प्लेयर डेभलपमेन्ट पाथवे’ पनि रहेको छ । जसमा खेलाडी विकास कार्यक्रमबाट ५ चरणको छनोट पार गरेपछि मात्र खेलाडी एकेडेमीसम्म पुग्छन् । तर यस परियोजनामा नेपाल क्षेत्र पर्दैन । भारतमा पनि टोटेनहम र किकस्टार्टको परियोजना हालसम्म पूर्ण रुपमा सुरु भएको छैन ।

टोखाले खेलाडी छनोट गर्दा च्यासल मैदान र एन्फा कम्प्लेक्सको मैदान प्रयोग गरेको थियो । एन्फाले यो कार्यक्रम क्लब आफैंले गरेको र यसमा एन्फाको कुनै संलग्नता नरहेको समेत प्रष्ट पारेको छ । ‘क्लबले यस्तो कार्यक्रम गर्ने हो । हामीसँग स्वीकृति लिनुपर्छ भन्ने हुँदैन । एन्फाको मैदान पनि वहाँहरुले अन्य कार्यक्रमजस्तो प्रयोग गर्न भाडामा लिनुभएको हो । एन्फाले यसमा कुनै भूमिका खेलेको छैन,’ एन्फा महसचिव किरण राईले हाम्रो खेलकुदलाई बताए ।

दोस्रो चरणका ४६ खेलाडी मंगलबार उडे

क्लबका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ तथा व्यवस्थापक राजु विक्रम थापाको नेतृत्वमा ४६ सदस्यीय टोली मंगलबार बेङ्गलोरको किक स्टार्ट फुटबल क्लब (एफसी) प्रस्थान गरे । संयोजक जोशीले उत्कृष्ट खेलाडीको रुपमा छनोट हुन सफल खेलाडीहरुले किकस्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरुले टोटनह्याममा सहभागीता जनाउने प्रेस विज्ञप्तिमा बताएका थिए । तर टोटेनहम र किकस्टार्टको सहकार्यबारे यथार्थ थाहा पाएपछि भने उनले क्लबसँग विस्तृत जानकारी लिनुपर्ने बताए ।

बेङ्गलोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारिरीक, खेल कौशलता परिक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने विज्ञप्तिमा उल्लेख छ ।

किकस्टार्टले एक त आफ्नो क्षेत्राधिकार नै नपर्ने नेपालमा खेलाडी छनोट गरेको छ । यसमा श्री भगवती क्लब टोखा र अन्य आवद्द संस्था र व्यक्तिहरु पनि झुक्याइएको महसुस गरिरहेका छन् । किकस्टार्टले आफ्नो एकडेमीमा नेपाली खेलाडी भर्ती गर्न यो कदम चालेको आँकलन गरिएको छ ।

विगतमा पनि युरोपका ठूला क्लबको नाम जोडिएका प्रशिक्षण कार्यक्रमले आफ्नो योजनामा प्रशिक्षण गर्नेमा मात्र सिमित राख्थे । त्यसबाट खेलाडी क्लबमा पुगेर प्रशिक्षण मात्र गर्ने प्रष्ट हुन्थ्यो, तर ‘रोड टु टोटेनहम’ नाम राखेर एकडेमीसम्म पुर्याउने भन्ने झुटो खबरले खेलाडी पनि ठगिएका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.