default_image

1 year ago

August 22, 2024

स्वतन्त्र उडान भर्न आतुर छन् बाँधिएका कुशल

3364 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपालको यू२० फुटबल टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउँदा कप्तान कुशल देउवाको प्रदर्शन गजबको रहेको छ । नेपालले विहीबार समूह ए को अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेताको हैसियतले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

समूह चरणका दुवै खेलमा कप्तान कुशलले पूरा समय मैदानमा डटेर खेलेका छन् । उनको साथमा मिडफिल्ड सम्हाल्ने जिम्मेवारी पाएका अभिनाश स्याङतान पनि नेपालको खेलमा जमेका छन् । नेपालले प्रतियोगितामा गरेको ३ मध्य निराजन धामीको २ गोलमा अभिनाशकै असिस्ट छ । तेस्रो गोल समिर तामाङले बंगलादेशको गोलरक्षकबाट बल खोसेर गोल गरेका थिए ।

कुशल र अभिनाशलाई प्रशिक्षक उर्जन श्रेष्ठले खेलमा ४-२-३-१ को मध्य मिडफिल्ड पोजिसनमा प्रयोग गरेका छन् । यी दुईले आक्रमणमा रहेका ४ खेलाडीलाई बल पुर्याउने मात्र होइन, डिफेन्समा रहेका ४ खेलाडीलाई विपक्षी आक्रमण रोक्न पनि उत्तिकै मिहिनेत गरेका छन् । कुशल र अभिनाश दुवैले नेपालमै अघिल्लो वर्ष सम्पन्न साफ यू१९ च्याम्पियनसिपमा पनि खेलेका थिए ।

गत वर्ष साफ यू१९ सेमिफाइनलमा भारतविरुद्ध उत्रिएको सुरुवाती-११ ।

गत संस्करणमा यी दुईसँगै प्रशान्त लक्षमले मिडफिल्डमा आन्तरिक प्रतिस्पर्धा दिएका थिए । दुई मिडफिल्ड खेलाउने क्रममा तत्कालिन प्रशिक्षक सुनिल श्रेष्ठले पाकिस्तानविरुद्ध अभिनाश र कुशल तथा माल्दिभ्सविरुद्ध अभिनाश र प्रशान्तलाई सुरुवात गराए । भारतविरुद्ध सेमिफाइनलमा भने तीनै खेलाडी मिडफिल्डमा उतार्दा टोलीले गजबको प्रदर्शन गर्यो । नेपाल दुर्भाग्यवश टाइब्रेकरमा पराजित हुँदै फाइनल पुग्न चुकेपनि यी खेलाडीले प्रभाव भने छाडे ।

कुशलले त्यसपछि नेपाल सुपर लिगमा च्याम्पियन ललितपुर सिटी फुटबल क्लबका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरे । प्रशान्तले एनएसएलमै झापा फुटबल क्लबका लागि ५ खेल सुरुवात गरे । यसपटक भने चोटका कारण प्रशान्त टोलीमा छैनन् तर कुशल र अभिनाशले उनको कमी महसुस हुन दिएका छैनन् ।

प्रशिक्षक उर्जन श्रेष्ठले यसपटक ४-२-३-१ को अवधारणामा खेल्दा आक्रमणमा बढी जोड दिएका छन् । तर टोलीमा फरवार्ड धेरै हुँदा सन्तुलन नमिलेको भान हुन्छ । कुशल र अभिनाशले बल हुँदा आक्रमणमा राम्रो मुभ सिर्जना गरेका छन् । गति र शक्तिले भरिपूर्ण एकल फरवार्ड समिर तामाङ र उनको ठिक पछाडी रहेका निराजन धामीले त्यसलाई सदुपयोग गर्ने सक्दो प्रयास गरेका छन् । तर आफ्नो मिहिनेतमा गरेको दुवै गोल विंग प्ले बाट आएको छ । र त्यसमा अभिनाश नै आक्रमणमा पुग्दा घातक देखिएका छन् ।

प्रशिक्षक श्रेष्ठले वाइड फरवार्डको भूमिका दिएका निरज कार्की र अनिल बम्जन खास जमेका छैनन् । निराजन धामीको नाममा २ गोल त छ, तर जर्सी नम्बर १० लगाएर त्यसै नम्बरको भूमिकालाई न्याय दिन सकेका छैनन् । ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबका लागि विंग फरवार्डको भूमिकामा देखिएका धामीले एनएसएलमा पनि बुटवल लुम्बिनी फुटबल क्लबबाट सोही पोजिसनलाई न्याय गरेका थिए । यू२० मा फरक भूमिकाबाट गोल निस्केपनि खेलमा उनलाई जम्न कठिन देखिएको छ ।

प्रशिक्षक श्रेष्ठले समूहको दुवै खेलको अन्त्यतिर विंगर निकालेर मिडफिल्ड थप्दै ४-३-३ को रणनीति अबलम्बन गरेका छन् । यसो गर्दा भने टोलीको सन्तुलन कायम रहेको र खेलाडी पनि आफ्नो पोजिसनमा केही सहज देखिएका छन् । कुशल र अभिनाशको आक्रामक भूमिका थप विस्तार गर्न पनि अर्को मिडफिल्डरको उपस्थितिले सहयोग पुग्ने देखिन्छ ।

कुशलले नेपाल सुपर लिगका दौरान गरेको प्रदर्शनले उनको टोलीका समर्थक मात्र नभएर समग्र फुटबल वृत्त नै रमेको थियो । प्राविधिक रुपमा निपुण र विना दबाब खेल्न सक्ने उनको खुबीले प्लेअफमा ललितपुरलाई निकै सहयोग पुगेको थियो । आफ्नो पहिलो सिनियर प्रतियोगितामा उनले देखाएको प्रदर्शनले अष्ट्रेलियन प्रशिक्षक इयान गिलान नै प्रभावित थिए ।

यसपटक कप्तानको भूमिकामा उनी थप परिपक्व देखिएका छन् । मैदानभित्र उनको खेलमा दिन प्रति दिन सुधार देखिन्छ, साथसाथै मैदानबाहिर पनि जिम्मेवारीले उनले आफूलाई विकास गरेका छन् । अब प्रतियोगिताको मुख्य भागमा प्रवेश गर्दा उनले नतिजामा अझ प्रभाव जमाउन सक्छन्, मिडफिल्डमा थप स्वतन्त्रता पाएर ।

पहिलो खेलमा सरोज दर्लामी र दोस्रो खेलमा लछु थापाले मिडफिल्डमा जिम्मेवारी पाएका थिए । आवश्यक पर्दा रक्षात्मक मिडफिल्डको भूमिकामा जनप्रकाश बम पनि टोलीमा छन् । उनको शारीरिक उपस्थितिले टोलीको मिडफिल्डलाई स्वतन्त्रता त दिन्छ नै, नेपालको सेन्टर डिफेन्डरहरुलाई पनि सहयोग पुग्छ ।

एनएसएलका च्याम्पियन डिफेन्डर आश्विन घोरासैनी र सेमान्त थापाको जोडीले बिरलै समस्या खेप्नुपरेको छ । विंगब्याकको तुलनामा कम उचाइ रहेपनि यी दुई जब्बर डिफेन्डरको प्रदर्शनले गोलरक्षक जियारत शेखले खासै खतरा देख्नुपरेको छैन । विंगब्याकमा सबिन घिमिरे र राम थापाले पूरा समय डटेर खेलेका छन् । आक्रमणमा ओभरल्याप रन बनाउन पनि यी दुई खप्पिस देखिएका छन् । यो प्रयासले गोल नै सिर्जना नगरेपनि डिफेन्समा भने विपक्षी विंगरले बिरलै उनीहरुलाई माथ दिएका छन् ।

नेपालले यस प्रतियोगितामा खेलाएको सुरुवाती -११ ।

नेपालले सेमिफाइनलमा भुटान, भारत वा माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको अन्तिम लिग खेलमा भारत र माल्दिभ्स खेलेपछि मात्र नेपालको प्रतिद्वन्द्वी टुंगो लाग्नेछ । केही अप्रत्याशित नतिजा आएको अवस्था बाहेकमा नेपालले भुटानलाई नै प्रतिद्वन्द्वीको रुपमा पाउनेछ । र भुटान नाम सुन्दा सहज लागेपनि मैदानको प्रदर्शन र इतिहासले भने बेग्लै बखान गर्छ ।

नेपालले यो उमेर समूहमा भुटानसँग संघर्ष नै गरेको इतिहास छ । पछिल्लो पटक सन् २०१९ मा नेपालमै सम्पन्न प्रतियोगितामा नेपाल भुटानसँग ३-० ले पराजित भएको थियो । त्यसबेला घरेलु टोलीले समूह चरण पार गर्न सकेको थिएन । सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा प्रतियोगिताको एकमात्र हार घरेलु टोली भुटानविरुद्ध नै थियो । सन् २०१५ मा भने विमल घर्ती मगरको ह्याट्रिकमा नेपालले एन्फा कम्प्लेक्समै भुटानलाई ३-१ ले हराएको थियो ।

सम्भवत: आइतबार नेपाल र भुटानले एन्फा कम्प्लेक्समै पहिलो सेमिफाइनल खेल्ने सम्भावना छ । समूहको पहिलो खेलमा भारतसँग १-० ले पराजित भुटानले दोस्रो खेलमा माल्दिभ्सलाई २-१ हरायो । दुवै खेल १० खेलाडीमा रहेर अन्त्य गरेको भुटानले गजबको फुटबल खेलेको छ । कृत्रिम घाँसे मैदानमा नै प्रशिक्षण गर्दै आएको भुटानी टोलीले आफ्नो रणनीति अनुसार खेल्न सकेको छ । विशेषगरी मिडफिल्डबाट आक्रमणको समन्वय लोभलाग्दो छ ।

यस्तो अवस्थामा नेपालले आफ्नो मिडफिल्डलाई मजबुत बनाउनुपर्ने देखिन्छ । एक त आफूसँग भएका उत्कृष्ट मिडफिल्डरलाई स्वतन्त्रता दिनु आवश्यक छ नै, डिफेन्स र मिडफिल्डको दुरी घटाउनु पनि जरुरी छ । आक्रमणमा खेलाडी लगातार चल्न नसकेको अवस्थामा आफ्नो प्लान बी लाई अब मुख्य रणनीतिमा बदल्नु टोलीलाई आवश्यक देखिन्छ । र यसमा कुशल र अभिनाशले पुन: एकपटक त्यो जिम्मेवारी लिन पर्ने हुन्छ, यसपटक आफूलाई सहज लाग्ने गरि ।

दुवै जितमा अन्त्यतिर प्रयोग गरेको ३ खेलाडी सम्मिलित मिडफिल्ड नेपालको लागि सेमिफाइनल जित्ने उत्तर हुन सक्छ । यसले आफ्नो आक्रमणमा समिर तामाङ र निराजन धामीले आफ्नो पोजिसनमा जम्ने अवसर पाउँछन् नै । कप्तान कुशल र अभिनाशलाई पनि खुलेर आक्रमणका खेलाडीलाई सहयोग गर्ने अवसर हुन्छ । अर्को विंग फरवार्डका लागि आन्तरिक प्रतिस्पर्धा बढ्नु पनि टोलीलाई राम्रो नै हुनेछ । मिडफिल्डमा आउने खेलाडीले डिफेन्सलाई पनि साथ दिँदा भुटानी मिडफिल्डलाई रोक्न सहज हुने देखिन्छ ।

सेमिफाइनलमा भारत वा माल्दिभ्स प्रतिद्वन्द्वी हुँदाको अवस्थामा पनि आफ्नो टोलीको सन्तुलन बनाउन प्रशिक्षक श्रेष्ठले यो विकल्प लिन सक्छन् । गत संस्करण सेमिफाइनलमा टाइब्रेकरमा चुकेको टोलीलाई यसपटक एन्फाको मैदानले साथ दियोस । यसैपनि सन् २०१५ मा यसै मैदानमा यू१९ साफ जितेपछि नेपालले त्यसै टोलीको खेलाडी समेटेर सन् २०१६ को अवधिमा बंगबन्धु, साग र सोलिडारिटी कप जितेको थियो । के थाहा, इतिहास दोहोरिन्छ कि?

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.