1 year ago
September 17, 2024
सुबास हुमागाईं, काठमाडौं
मन्जली कुमारी योन्जनका लागि सन् २०२२ को साफ महिला च्याम्पियनसिप बिर्सनलायक क्षण थियो । यसैपनि नेपालले फाइनलमा बंगलादेशसँग हार बेहोरेका कारण खल्लो बनेको उक्त प्रतियोगिता मन्जलीका लागि भने सुरु नहुँदै सकिए बराबर भएको थियो । प्रतियोगिता सुरु भएको दिनबाट ज्वरो आएपछि अस्पताल पुगेकी उनलाई डेंगी संक्रमण भएको देखिएपछि प्रतियोगिताभर उनी अस्पतालमै रहिन् ।
करिअरको उच्च लयमा रहेको अवस्था र टोलीमा मुख्य भूमिका पाएको बेलामा खेल्न नपाउँदाको पिडा २ वर्षपछि कुरा गर्दा पनि उनको अनुहारमा झल्कन्थ्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार कर्णाली प्रदेशविरुद्ध आधा घण्टा खेल्न पाएकी मन्जलीको परिचय २ वर्षको अन्तरमा भने फेरिएको छ । साफको पिडा भुलाउन खेलबाट विश्राम लिने निर्णय गरेर मैदानबाट झन्डै २ वर्ष बाहिर रहेकी उनी अहिले पुनरागमन गर्दा आमा बनिसकेकी छिन् ।

२०७८ वैशाखमा एपिएफमै आवद्ध रहेका आइटिएफ तेक्वान्दो खेलाडी सुनिल महतोसँग मन्जलीले विवाह गरेकी थिइन् । साफमा नेपाली टोली उपाधिबाट विमुख भएपछिको केही समय क्यालेन्डरमा फुटबल गतिविधि थिएन । त्यसैले उनले खेलबाट केही समय विश्राम लिने सोच बनाइन् । अहिले छोरा ६ महिना पुगेपछि परिवारकै आग्रहमा उनले पुन: खेलमा फर्कने निधो गरिन् । छोरा सानै रहेकाले सासुआमा काठमाडौं नै आएर छोरा हेर्दा मन्जलीले खेलमा फर्कन सहज भएको छ । श्रीमान सुनिलले पनि सधैं साथ दिएका छन् ।
गत महिना ९ महिनाको छोरा कार्लोसलाई घरमा छोडेर २५ वर्षीय मन्जली एक साताका लागि मलेसिया पुगिन् । एएफसी च्याम्पियन्स लिगको छनोट खेल्न एपिएफ फुटबल क्लबसँग विदेश जाँदा मन्जली पहिलो पटक छोराबाट यति लामो समय टाढा भएकी थिइन् । छोराबाट टाढा हुँदा फरक महसुस भएको उनले बताइन् ।

‘खेलको लागि एक महिना नियमित प्रशिक्षणमा थिएँ । त्यो बेला घर बाट नै आउने जाने गरें । ३ महिनादेखि व्यक्तिगत रुपमा नै तयारी गरिरहेको थिएँ । आमा घरमा हुनुभएकाले छोरा हेर्न समस्या भएन । प्रशिक्षण र घरमा सन्तुलन गर्न सहज भएको थियो । विहान बेलुका छोरा हेर्थें । तर उता गएपछि छोरा निकै मिस गरें । श्रीमानले खेलमा ध्यान दिन सम्झाउनुभयो तर आमाको मन न हो,’ मन्जलीले सुनाइन् ।
मन्जलीले एपिएफको च्याम्पियन्स लिग छनोटको पहिलो खेलमा बेन्चबाट मैदान छिर्ने अवसर पाइन् । उज्वेकिस्तानको नासाफ एफसीले १-० को अग्रता लिएको अवस्थामा मैदान पसेकी उनले खासै प्रभाव छाड्न पाइनन् । एन्फा महिला लिगमा कर्णालीविरुद्ध भने केही बढी समय पाएकी उनले सुरुवातमा खेल्न केही असहज भएको उनले महसुस गरिन् ।
‘धेरै पछि खेलेर हो । सुरुवातमा चैं के गर्ने गर्ने जस्तो भयो । तर बिस्तारै बल फिल हुन थालेपछि स्वभाविक रुपमा खेल्न सकें । प्रशिक्षण त निरन्तर गरेको छु । तर खेलमा अलिकति फरक त हुन्छ नै,’ मन्जलीले सुनाइन् । एपिएफले खेल ६-० ले जित्दै लिगको शीर्ष स्थानमा उक्लियो ।

लेफ्ट विंगमा खेल्न रुचाउने मन्जलीको खेल्ने शैली पृथक छ । शारीरिक रुपमा बलियो उनको बल नियन्त्रण पनि अब्बल छ । उनी आफैं पोस्टमा प्रहार गर्ने क्षमता पनि राख्छिन् । सन् २०१९ मा विराटनगरमा भएको महिला साफमा नेपालको पहिलो गोल मन्जलीकै नाममा थियो । समूह चरणको दुवै खेलमा उनले गोल गरेकी थिइन् ।
सन् २०२२ को प्रतियोगितामा पनि मन्जली निर्विकल्प लेफ्ट मिडफिल्डमा खेल्ने तय थियो । तर डेंगीले नेपाली टोली र मन्जली दुवैको आशामा तुषारापात गरिदियो । नेपालको टोली सन्तुलनमा उनको अनुपस्थितिले निकै असर परेको त्यसबेला प्रशिक्षक कुमार थापाले पनि स्वीकारेका थिए ।
मन्जली अब आफ्नो पुरानै लयमा फर्किएर क्लब फुटबल हुँदै राष्ट्रिय टोलीमा पुनरागमन गर्न चाहन्छिन् । तर यो यात्रा सहज नरहेको उनले बुझेकी छिन् । आफ्नै क्लबमा रहेका खेलाडी राष्ट्रिय टोलीमा रहेकाले उनले आफूलाई क्लबमा प्रमाणित गर्नु आवश्यक रहेको उनलाई थाहा छ ।

‘मैले २ वर्षअघि खेल्दा र अहिलेमा धेरै फरक छ । राष्ट्रिय टोलीमा नयाँ खेलाडी आएका छन्, राम्रो पनि गरेका छन् । हाम्रो क्लबमै पनि प्रतिस्पर्धा बढेको छ । मैले पहिला क्लबमा आफ्नो स्थान बनाउनुपर्छ । यसको लागि निरन्तर मिहिनेत गरिरहेको छु । अहिले नै पहिलाजस्तो खेल त भएको छैन तर बिस्तारै फिटनेसमा फर्कंदैछु । पूरा फिट भएपछि खेल्न सक्छु भन्ने विश्वास छ,’ मन्जलीले सुनाइन् ।
मन्जलीले पछिल्लो एक महिना एपिएफको टोलीसँग प्रशिक्षण गर्दा राष्ट्रिय टोलीका प्रशिक्षक राजेन्द्र तामाङले टोलीको जिम्मेवारी लिएका थिए । यसले आफूलाई सहज भएको मन्जलीले बताइन् ।
‘हामीलाई वहाँले पहिला पनि सहायक प्रशिक्षकको भूमिकामा हेर्नुभएको थियो । त्यसबेला मेरो खेलबारे वहाँलाई जानकारी छ । त्यसैले पनि एपिएफमा हुँदा मलाई केहि सहज भयो । अब राष्ट्रिय टोलीमा पनि वहाँ नै प्रशिक्षक हुनुहुन्छ । त्यसैले मैले क्लबमा प्रमाणित गर्न सकें भने, त्यो बाटो पनि खुल्नेछ,’ मन्जलीले सुनाइन् ।
मन्जलीका श्रीमान सुनिल आफैं पनि आइटीएफ तेक्वान्दोका थर्ड डान पुगिसकेका छन् । उनी आफू पनि खेलाडी भएकाले मन्जलीको संघर्ष र सफलताबारे बुझेका छन् । अझ आमा बनेपछि मन्जलीलाई शारीरिक रुपमा थप कठिन भएको उनलाई थाहा छ ।

‘मैले मन्जलीको खेल धेरै अघिदेखि हेरेको छु । अहिले आमा बनेपछि उनलाई केही कठिन भएको छ । घरमा आमा आएर धेरै सहज भएको छ । तर त्यसबाहेक पनि प्रशिक्षणमा पहिलाकै स्तरमा आउन केही समय लाग्छ । उनलाई खेल्नुपर्छ भनेर सधैं भन्ने गरेको छु । त्यसै अनुसार सहज बनाउन मैले सकेको गरेको छु । आशा गरौं चाडैं टोलीमा देख्न पाइन्छ,’ आफैं केहि महिनाअघि दक्षिण एसियाली प्रतियोगिता खेलेका सुनिलले भने ।
मन्जली भने आफू टोलीमा पर्ने वा नपर्ने भन्दापनि नेपालले साफ जित्नुपर्ने बताउँछिन् । ‘म टोलीमा पर्ने वा नपर्ने त पछिको कुरा भयो । तर हामीले यसपटक साफ जित्नुपर्छ । धेरै पटक नजिक पुगेर बन्चित भएको पिडा छ । म परें भने शत प्रतिशत दिन्छु नै, म छैन भनेपनि अन्य खेलाडी सक्षम छन् । म सधैं साथ दिन्छु । हामीले यसपटक जसरी पनि उपाधि जित्नुपर्छ’, उनले सुनाइन् ।
एपिएफ लिग उपाधि जोगाउने लक्ष्यका साथ खेलिरहँदा मन्जली पनि लगातार उपाधि जित्न आतुर छिन् । पहिलो चरणमा अब एपिएफले ४ खेल खेल्न बाँकी छ र मन्जली यो समयको सक्दो सदुपयोग गर्न चाहन्छिन् । आफ्नो फिटनेस मात्र पूर्ण भए खेलमा प्रमाणित गर्न सक्ने विश्वास उनले राखेकी छिन् । अपराजित एपिएफले शीर्ष ५ मा रहने पक्का भएसँगै सबै खेलाडीलाई अवसर पनि दिइरहेको छ । मन्जलीले यसै अवसरबाट बलियो पुनरागमनको आधार तय गर्ने सोच बनाएकी छिन् ।

‘३ महिना भयो खेल्न थालेको । अहिले धेरै सहज हुन थालिसकेको छ । पहिला जस्तै त भएको छैन तर प्रशिक्षणमा भने सहज छ । अब मैदानमा खेल्न पाएँ भने आफू फिट छु भन्ने संदेश दिन सक्छु । त्यसका लागि आफ्नो तर्फबाट सक्दो गरि नै रहेको छु । आशा गरौं राम्रो हुनेछ,’ मन्जलीले हाँस्दै भनिन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]