default_image

8 months ago

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

2195 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई ।

३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले सुनमा सुगन्ध थप्यो ।

यस्तो च्याम्पियनसिपले नेपाली टोलीलाई अनुभव, शिक्षा र सम्भावनाको अमूल्य उपहार दिएको छ । उपहार यस्तो चिज हो, जसको अर्थ बुझेमा घरमा राख्न सकिन्छ, नबुझे फोहोरको डंगुरमा मिल्काउन पनि सकिन्छ ।

यस च्याम्पियनसिपलाई केन्द्रमा राखेर आजको आलेखलाई दुई सह–विषयमा बाँडेर चर्चा गर्ने प्रयास गरिएको छ ।

दर्शकमाथिको घात

दर्शकहरु फुटबलको मुटु हुन् । जब दर्शकहरु दर्शकदिर्घामा प्रवेश गर्दछन् तब खेलमा प्राण भरिने हो । नेपाली महिला फुटबललाई दर्शकहरुले दिने सीमाविहिन प्रेम फेरि एक पटक प्रमाणित भएको छ ।

दशरथ रंगशालामा राष्ट्रिय झण्डा सहितको दर्शकहरुको भव्य उपस्थिति , त्यो भव्य उपस्थितिले सिर्जना गरेको गर्जन सायदै नेपाली महिला खेलाडीहरुको आँखा र कानबाट हराएर जालान् । कति निश्चल माया! ती तमाम दर्शकहरु प्रति नमन ।

यति सुन्दर दर्शकहरुप्रति एन्फाले भने फाइनल खेलमा पुगेर घात गरेको छ । फाइनल खेल अगाडि बढाएको टिकटको अस्वभाविक मूल्यवृद्धि छलकपट हो ।

शतप्रतिशत मूल्यवृद्धि उपभोक्ताको नजरबाट हेर्ने हो भने कालोबजारी हो । हुन त एन्फाले त्यसबारे आफ्नो भनाई बाहिर ल्याइसकेको छ । तर फाइनल खेलमा हुने मूल्यवृद्धिको कुरालाई लुकाएर राख्नु गलत नियत हो । यो कुरा त प्रतियोगिताको प्रारम्भमा नै जानकारी गराउन सकिन्थ्यो । के नेपाल फाइनलमा नपुगेको भए पनि टिकटको मूल्यवृद्धि हुन्थ्यो त ? उत्तर सबैलाई थाहा छँदै छ ।

दर्शकहरुको भावनालाई मौकाको रुपमा लिनु फुटबलको मर्म हुन सक्दैन । फुटबल जतिसक्दो सर्वसुलभ हुनु पर्छ, जसमा सबैको पहुँच पुगोस् । कुनै पनि फुटबल आयोजनालाई आर्थिक रुपमा फाइदामा लग्ने प्रयास त हुनै पर्छ तर त्यसको तरिका पनि सही हुन जरुरी हुन्छ । टिकटको मूल्य अनुसारको सुविधा थियो त ?

फाइनल खेलमा १ हजार र २ हजार रुपैयाँको टिकट किनेर गएको त्यो झन्डै १६ हजार दर्शकहरुले प्रयोग गरेको शौचालयको अवस्था कस्तो थियो ? एन्फालाई थाहा छ ? प्रिय एन्फा, कृपया दर्शकहरुको महत्व र मूल्यलाई कदापि नजरअन्दाज नगरियोस् ।

नेपाली दर्शकहरुको यो लोभलाग्दो उपस्थितिले आगामी दिनमा महिला फुटबलको बलियो राष्ट्रहरुलाई नेपाल आउन प्रेरित गर्ने पक्का छ किनकी दर्शकहरुको भव्य सहभागिताको अगाडि फुटबल खेल्ने लोभ र इच्छा हरेक उत्कृष्ट खेलाडीमा हुन्छ ।

प्रशिक्षकको दुःख

गत साफको फाइनल पश्चात नेपाली महिला टोलीमा नफर्किने सार्वजनिक उद्घोष गरेका राजेन्द्र तामाङ फेरि आए । एन्फाको कमजोरीहरुप्रति सार्वजनिक रुपमा असन्तुष्टि पोखेका तामाङले टोलीलाई फाइनलमा एकचोटी फेरि पनि पुर्याए । फाइनलको नतिजा आशा अनुरुपको आएन, यद्यपि अनपेक्षित पनि थिएन । जित हार आफ्नो ठाउँमा छँदै छ , विशेषगरी म्यानमारसँगको प्रतिस्पर्धा र प्रदर्शनले नेपाली महिला टोलीको अपार सम्भावना झनै उजागर भएको छ ।

सार्वजनिकरुपमा आफ्नो कमजोरीहरुको उजागर र स्वीकार गर्नु तामाङको सबल पक्ष हो । जुन नेपाली प्रशिक्षकहरुमा बिरलै पाइन्छ ।

बारम्बार उस्तै प्रकृतिको गोल खाई रहनुले यो बुझ्न सकिन्छ कि तामाङको प्रशिक्षण टोली कमजोर छ । यहाँ एउटा प्रश्न जायज हुन्छ । मुख्य प्रशिक्षकको नियुक्ति पश्चात उनको ब्याकअप टिम मुख्य प्रशिक्षककै सिफारिसमा गरिन्छ कि फगत आन्तरिक राजनीतिक समीकरणले या अन्य कुनै बाहिरी दबाबले ?

नेपाली महिला फुटबल खेलाडीहरु अनुभव र व्यक्तिगत कौशलताको हिसाबले इतिहासकै उत्कृष्ट लय र स्वरुपमा छन् तर मैदानमा कमजोरीहरु लगातार देखिनै रहेको छ । म्यानमारसँगको फाइनल खेल सम्झिने हो भने टोलीको खास रणनीति देखिएन, यद्यपि खेलाडीहरुको व्यक्तिगत खेल, मिहिनेत र जुझारुपन तारिफयोग्य देखियो । म्यानमारले जितको लागि गरेको संघर्ष पनि सम्झना लायक छ ।

फाइनल खेल निर्विकल्प जितको लागि नै खेलिन्छ । स्वभावतः उक्त खेलको रणनीति सावित्रा भण्डारी साम्बाको वरीपरी रहेको देखिनु पर्ने हो तर दृश्य फरक थियो । वर्तमान आधुनिक फुटबलमा एकल स्ट्राइकरलाई त्यति धेरै मैदानमा दौडाएको पंक्तिकारको बिरलै दृश्य अनुभव रह्यो ।

एउटा भनाई यहाँ सान्दर्भिक हुन सक्छ । साख्टर डोनेट्स्क क्लबका प्रबन्ध निर्देशक सर्गेइ पाल्किनले उनको पूर्व खेलाडी एवं चेल्सीको वर्तमान खेलाडी मिखाइलो मुड्रिकबारे दिएको चर्चित भनाईको सार यस्तो छ । यदि तपाईलाई फरारी कुदाउन आउँदैन भने फरारी तपाईको लागि होइन । साधारण कार चलाउनेले फरारी कुदाउन सक्दैन ।

बारम्बार फर्मेसनको कुरा गरी रहने तामाङको कुराहरु सुन्दा उनी उनको फुटबल दर्शनमा नै प्रष्ट देखिँदैनन् । दर्शन पहिलो कुरा हो, फर्मेसन होइन । फर्मेसन भनेको तपाईसँग भएको दर्शन मैदानमा उतार्ने एउटा साधन मात्रै हो जसलाई विपक्षी टोलीको सबलता र दुर्बलताले पनि प्रभाव पार्छ । फर्मेसन परिवर्तन भई रहन सक्छ तर दर्शन मूलतः फेरिँदैन ।

तामाङ बारम्बार खेलाडीको उमेरको चर्चा र आलोचना गरि रहन्छन् , जुन उनको अधिकारभित्र नै पर्दछ तर पंक्तिकारको अनुभवमा भने उनले यो विषयको चर्चा आवश्यकता भन्दा धेरै नै गरे । थोरै चिनीको स्वाद गुलियो हुन्छ तर धेरै भएपछि तितो हुन्छ ।

घरेलु महिला फुटबलको कुनै स्वरुप र संरचना नभएको देशमा खेलाडीको उमेरको सार्वजनिक आलोचना गरी रहनु भन्दा आन्तरिकरुपमा खेलाडीहरुमा मिहिनेतको स्तर वृद्धि गर्नु नै प्रशिक्षकको बुद्धिमानी हुन्छ । जति नै उमेरको आलोचना गरे पनि आखिरमा उनले कति जना नै नयाँ खेलाडीहरुलाई मौका दिए र ?

च्याम्पियनसिपको नाम दिए पनि आखिरमा यो मैत्रीपूर्ण खेल न थियो । नयाँ खेलाडी र नयाँ प्रयोगको लागि यो एउटा अवसर थियो ।

फाइनल खेल पश्चातको पत्रकार सम्मेलनमा एन्फाले अझै मैत्रीपूर्ण खेलहरुको आयोजना र सहभागिताको योजना बनाइरहेको तामाङले बताए । यो कुरा झुटो होइन भने खुशीको कुरा हो । तर जबसम्म घरेलु फुटबलको संरचनाको निर्माण हुँदैन तबसम्म मैत्रीपूर्ण खेलले मात्र नतिजा दिँदैन । एन्फाको मुख्य ध्यान घरेलु फुटबलमा नै हुनु पर्छ ।

सम्भवतः तामाङले आफूसँग भएको कौशल र क्षमता राष्ट्रिय टोलीलाई दिइसके । अब उनलाई प्रतिस्थापन गर्नुपर्छ तर उनको स्थानमा कुनै अर्को नेपाली प्रशिक्षक भने होइन । अबको पहिलो पाइला नै क्षमताशिल विदेशी प्रशिक्षकको नियुक्ति हो । उपाधिको डम्फु पिट्न छाडेर जितको दृढ यात्रामा हिँड्ने हो भने पथ प्रदर्शक पनि व्यावसायिक चाहिन्छ । नेपाली महिला टोलीलाई एक जना हाइ प्रोफाइल विदेशी प्रशिक्षकको विकल्प छैन ।

साफ महिला च्याम्पियनसिपको आगामी संस्करण जित्ने अहिलेको लक्ष्य हो भने कम्तिमा म्यानमारकै स्तरको टोलीसँग अझै लगातार पराजित भइरहनु पर्छ । फेरि एकचोटी दोहोर्याउँ । फलाम तातिएर रातै छ , कृपया एन्फा चिसो पानी नखन्याउ है ।
यस्तै यस्तै ।

November 7, 2025

झापा महिला गोल्डकप- ४ खेलमा ११ लाख बढीको टिकट विक्री

दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]

November 7, 2025

झापा महिला गोल्डकप – विभागीय टोलीकै दबदबा

दिपक बोहोरा/झापा घरेलु महिला फुटबलमा विभागीय टोली टोली दबदबा रहँदै आएको छ। चाहे त्यो लिग होस वा नकआउट। अधिकांश नकआउटको सेमिफाइनलमा पुग्ने ४ मध्ये ३ टोली विभागीय नै हुन्छन् । फाइनल त विभागीय टोलीबीच नै हुने निश्चित प्रायः नै हुन्छ। गत वर्ष लिग सहित सबै नकआउटको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो। फाइनलमा पुग्ने अर्को […]

November 6, 2025

चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु

सुशील पन्त क्षेत्री, चितवन चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट १ हजार भन्दा बढी विद्यार्थी […]

Success

Thank you for your time.