9 months ago
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ।
ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले १ खेल जितेको थियो।
सन् २०२१ मा भएको पहिलो संस्करणको उद्घाटन खेल रेजर्सले ललितपुरलाई १-० ले हराएको थियो। पछि दोस्रो क्वालिफायरमा ललितपुरमाथि रेजर्सले ३-० को जित दर्ता गर्यो।
गत संस्करणको लिगमा पनि रेजर्सले १-० को जित निकालेको थियो। त्यसको प्ले अफमा ललितपुरले रेजर्सलाई ३-० ले हराएको थियो।

पहिलोमा रेजर्स र दोस्रोमा ललितपुर दुवैले फाइनलमा धनगढी एफसीलाई हराएको थियो। दुई विजेताबीच आज रोमाञ्चक भिडन्त हुने अनुमान गरिएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल ६:०० बजे सुरु हुनेछ।
ललितपुरले अन्तर्राष्ट्रिय ड्युटीमा रहेका केही राष्ट्रिय खेलाडीको अनुपस्थितिमै तयारी गरेको बताएको छ। टोलीका मुख्य प्रशिक्षक साइमन ग्रेसनले नेपाली खेलाडीको सिकाइ प्रक्रियाको प्रशंसा गर्दै प्रतिस्पर्धाको स्तर उच्च भएको बताए।
‘स्थानीय खेलाडीसँग काम गर्दा अत्यन्त सकारात्मक अनुभव भएको छ। उनीहरूको समर्पण र मेहनत प्रशंसनीय छ। उद्घाटन खेल चुनौतीपूर्ण हुनेछ। तर हामी जितका लागि पूर्ण रूपमा केन्द्रित छौं, लिड्स युनाइटेड, लेस्टर सिटी, एस्टन भिल्ला र ब्ल्याकबर्न रोभर्सका पूर्व खेलाडी समेत रहेका ग्रेसनले भने।
कप्तान अनन्त तामाङले उपाधि रक्षा गर्ने यात्रा सहज नहुने स्पष्ट पारे। उनले भने, ‘तयारी लगभग पूरा भइसकेको छ। यस सिजनमा प्रतिस्पर्धाको स्तर अझ मजबुत बनेको छ। हरेक टोलीमा बलिया विदेशी खेलाडी र अनुभवी प्रशिक्षक छन्। हामीले नयाँ रणनीति र खेलशैली सिकिरहेका छौँ। काठमाडौं बलियो टोली हो। त्यसैले प्रत्येक खेललाई अलग रणनीतिका साथ खेल्दै अघि बढ्नेछौं।’

काठमाडौं रेजर्स पनि अनुभवी बेल्जियन प्रशिक्षक प्याट्रिक डे विल्डेको नेतृत्वमा उच्च मनोबलका साथ सशक्त सुरुआत गर्ने योजनामा छ।
‘एनएसएलमा सहभागी सबै ७ टोली उपाधि होडमा छन्। अन्तर्राष्ट्रिय ब्रेकका कारण पूर्ण टोलीसँग प्रशिक्षण गर्न नसके पनि हामी खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि तयार पारिरहेका छौं । दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा छ। हामी जितको लक्ष्यमा केन्द्रित छौं। उत्कृष्ट टोलीविरुद्ध खेल्न पाउनु नै रोमाञ्चक हुन्छ,’ प्रशिक्षक डे विल्डले आत्मविश्वासका साथ भने।
रेजर्सका कप्तान कुलदीप कार्कीले टोलीको मनोबल उच्च रहेको बताए। ‘हामीले ३ सातासम्म तयारी गरेका छौं। प्रशिक्षकबाट नयाँ रणनीति र खेलशैली सिक्ने अवसर मिलेको छ। नेपाली प्रशिक्षकहरूबाट पनि सिक्ने अवसर थियो। तर यो फरक अनुभव हो। हाम्रो लक्ष्य स्पष्ट छ—हामी जित्नकै लागि मैदानमा उत्रिनेछौँ। दोस्रो संस्करणको प्रभाव तेस्रो संस्करणमा पर्ने छैन। खेल पूर्ण रूपमा सकारात्मक मानसिकताका साथ खेल्नेछौँ र हामी जित हासिल गर्नेमा विश्वास्त छौ,उनले भने।

एनएसएलमा काठमाडौं र ललितपुरको नतिजा
# २०२१अप्रिल २१ – काठमाडौं १-० ललितपुर (लिग राउन्ड) उद्घाटन खेल
# २०२१ मे १३ – काठमाडौं ३-० ललितपुर (दोस्रो क्वालिफायर)
# २०२३ डिसेम्बर २३- काठमाडौं १-० (लिग राउन्ड)
# २०२३ डिसेम्बर २६ – काठमाडौं ०-३ ललितपुर (प्लेअफ)
तेस्रो संस्करणका सहभागी ७ टोली —ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]