दिपक न्यौपाने
बुटबल – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भिड्दैछन्।
प्रतियोगितामा एक जित दर्ता गरिसकेको त्रिभुवन आर्मी क्लब सिमरा गोल्डकपको फाइनलमा पराजित भएको थियो। यस प्रतियोगितामा युनाईटेड सिक्किमलाई ८-०ले पराजित गर्दै सुखद सुरुवात गरेको आर्मी भर्खरै बुढासुब्बा उपाधि जितेको पुलिस टिमलाई हराउने दाउमा हुनेछ। विजयी टोलीले संकटासंग सेमिफाइनल खेल खेल्नेछ।
आयोजक अग्नी रुपन्देही ११ र हिमालयन शेर्पा क्लब यसअघि नै तिलोत्तमा गोल्ड कपको सेमिफाइनल पुगिसकेका छन् । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित मोफसलकै प्रतिष्ठित गोल्डकप मध्येको एक तिलोत्तमा २०३३ सालबाट सुरु भएपनि पटक पटक आर्थिक अभाव र अन्य कारणले रोकिने गर्थ्यो । गत बर्ष भने प्रतियोगिताले पुनः निरन्तरता पाएको छ ।
यसपटक प्रतियोगितालाई अग्नी सिमेन्टले मुख्य प्रायोजन गरेको छ । बुटवल उप महानगरपालिकाको संरक्षणमा संचालन हुने प्रतियोगितालाई करेन्ट मसला र हुवाइ मोबाइल सहयोग प्रायोजन गरेका छन् । त्यस्तै एन्फा, राष्ट्रिय खेलकुद परिषद (राखेप) र रुपन्देही जिल्ला विकास समिति प्रतियोगिताको विशेष सहयोगीका रुपमा रहेका छन् । तिलोत्तमा गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।