default_image

7 months ago

April 26, 2025

को बन्ला एनएसएलको सर्वोत्कृष्ट?

1103 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थन्डर्स भिड्दैछन् । प्रतियोगिताको उपाधिका लागि ललितपुर कागजी रुपमा दाबेदार रहँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि पनि यिनै दुई टोलीका खेलाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

गत सिजन ललितपुरले उपाधि जित्दा टोलीका कप्तान अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी बनेका थिए भने गोलरक्षक जेफ्री बाल्टसले उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोभ्स पाएका थिए । फाइनलमा पराजित धनगढी एफसीका रोहन कार्कीले उदीयमान खेलाडीको उपाधि पाएका थिए ।

गत सिजनको तुलनामा निकै सुधारिएको प्रदर्शन गरिरहेको ललितपुरले तेस्रो सिजनमा कुनै खेलमा हार बेहोरेको छैन । अझ टोलीले आफ्नो दोस्रो रोजाइको टोली उतारेको खेलमा पनि बराबरी खेलेको थियो । यसपटक व्यक्तिगत अवार्डमा ललितपुरकै दाबेदारी हुने देखिन्छ ।

यस्ता छन् सर्वोत्कृष्ट खेलाडीका दाबेदार:

१. सनिश श्रेष्ठ

प्रतियोगिताको उद्घाटन खेललाई छोड्ने हो भने सनिशले सायदै यस प्रतियोगितामा कुनै गल्ती गरेका छन् । राष्ट्रिय टोलीको जिम्मेवारीकै क्रममा केही चोटको सामना गरेका उनलाई प्रशिक्षक ग्रेसनले नेपाल फर्केको पर्सीपल्ट नै पहिलो रोजाइमा खेलाए । यसले पनि टोलीमा उनको भूमिका प्रष्ट भएको थियो । त्यसपछि उनले आक्रमण र डिफेन्स दुवैतर्फ ललितपुरका लागि उच्च प्रदर्शन गरेका छन् । उनले एउटा खेलमा प्लेयर अफ द म्याच पनि जिते ।

२. आयुष घलान

युवा विंगर आयुष घलान भने ललितपुरको वर्चस्व तोड्न हतियार बन्न सक्छन् । आयुषले यो सिजन खेल अघि बढ्दै जाँदा आफ्नो प्रदर्शन सुधार्दै गएका छन् । त्यसो त उनले प्रशिक्षक सुमन श्रेष्ठबाट क्रमश: स्वतन्त्र भूमिका पाएपछि खेलमा पनि थप प्रभाव छाडेका छन् । स्टेफन बिनोङ र जो आइडुसँग उनको समन्वय मिलेको छ । विंगमा समिर तामाङ र सुदिल राईको गतिलाई आयुषले राम्रो प्रयोग गरेका छन् । उनी पनि एउटा खेलमा प्लेयर अफ द म्याच भएका छन् ।

३. स्टेफन बिनोङ

एनएसएलले विदेशी खेलाडीलाई सर्वोत्कृष्ट खेलाडी दिने निर्णय गर्छ भने स्टेफन त्यसका लागि प्रबल दाबेदार छन् । पोखराको सिजन पुनरागमन गर्न उनको भूमिका निकै महत्त्वपूर्ण थियो । उनले हालसम्म ३ गोल मात्र गरेपनि आक्रमणमा उनको उपस्थितिले विपक्षी डिफेन्सलाई निकै समस्या परेको छ । शारीरिक रुपमा निकै बलियो उनले आफ्नो गतिको प्रयोग गर्दा डरलाग्दो स्थानमा डिफेन्डरबाट फ्रिकिक जित्दै सेट पिसको अवसर पनि सिर्जना गरेका छन् ।

४. अनन्त तामाङ

डिफेन्डर अनन्त तामाङले आफ्नो स्तरअनुसार प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । उनले डिफेन्समा टोलीको नेतृत्व गर्नुका साथै सेट पिसमा पनि पटक पटक विपक्षीलाई समस्या दिएका छन् । एउटा खेलमा प्लेयर अफ द म्याच बनेका उनी पनि दाबेदारीमा छन् ।

पोखराका जो आइडुले पनि लिगमा उच्च प्रदर्शन गरेका छन् । धनगढीका अहमद हिजाजी, सर्जियो बार्बोजाको दाबेदारी भने पछिल्ला नतिजाले कमजोर पारिदियो ।

उदीयमान कसले जित्ला?

ललितपुरका सन्तोष खत्रीले यो सिजन मिडफिल्डमा विदेशी खेलाडीलाई पनि बिर्साउने प्रदर्शन गरे । बक्स टु बक्स भूमिकामा खेल्ने उनले यसपटक थप रक्षात्मक जिम्मेवारी पाए र त्यसलाई उत्कृष्ट ढंगले निर्वाह गरेका छन् । त्यसै टिमका डिफेन्डर योगेश गुरुङले पनि आफूलाई फरक पोजिसनमा उतार्दै उच्च प्रदर्शन गरेका छन् ।

धनगढीका दीपेश राईले पनि विदेशी खेलाडीमाँझ आफूलाई बलियो रुपमा प्रस्तुत गरे । मार्की भएपनि उमेरले युवा कृतिश रत्न छुन्जुले पनि सुरुवाती खेलमा उत्कृष्ट खेल देखाएका थिए । पोखराका पदम भट्टराई, चितवनका सुमित श्रेष्ठ र झापाका एरोन थापा पनि यो अवार्डका लागि छलफलमा पर्ने नाम हुन् ।

गोलरक्षकमा प्रिसो बलियो

पोखराका एभ्स प्रिसोले लिगमा सर्वाधिक क्लिन सिट राख्दै दाबेदारी प्रस्तुत गरेका छन् । अन्य टोलीभन्दा कमजोर डिफेन्स लाइन भएपनि प्रिसोले रक्षात्मक नेतृत्व लिँदै टोलीलाई बलियो बनाएका छन् । उनले ८ खेलमा ६ गोल खाएका छन् भने ५ खेलमा क्लिन सिट छ ।

बुटवल लुम्बिनीका गोलरक्षक दीप कार्की पनि यस अवार्ड दाबेदारीमा अर्को नाम हुन् । बुटवल अंक तालिकाको पुछारमा जितविहिन रहेपनि दीप निर्विवाद त्यो टिमका उत्कृष्ट खेलाडी रहे । उनले ६ खेलमा १० गोल खाँदै मात्र १ क्लिनसिट राखेपनि २ खेलमा अन्तिम समयको गोलले पराजित भएको थियो ।

धनगढीका वालिद विरोका लागि लिग चरण सुखद रहेपनि प्लेअफमा भने बिर्सनलायक प्रदर्शन रह्यो । झापाका गोलरक्षक नेमान्जा लेमाजिचले लिग अवधिभर ३ खेलमा २ सय १ मिनेट मैदानमा बिताउँदा कुनै गोल खाएनन् । तर दुर्भाग्य काँधको चोटका कारण उनले लिगका सबै खेल खेल्न पाएनन् ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.