म्यानचेस्टर (एजन्सी)– सर्जियो अगुइरोले गोल गरेपछि प्रिमियर लिगमा गए राती लिभरपुल र म्यानचेस्टर सिटीले १–१ को बराबरी खेलेका छन् । त्यसअघि घरेलु मैदानमा अपराजित यात्रालाई कायम गर्ने क्रममा अंकतालिकाको दोस्रोे स्थानको टोनेनह्यामले साउथ ह्याम्प्टनलाई २–१ ले हराएको थियो ।
इत्तिहाद रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि ५१ औं मिनेटमा जेम्स मिल्नरको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता लिएको थियो । रोर्बेटो फिर्मिनोको फाउलमा गेल क्लिच्नी पेनाल्टी बक्समा लडेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।
तर, केभिन डी ब्रुनेको पासमा अगुइरोले ६८ औं मिनेटमा बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । बराबरीपछि पनि दुवै टोलीले गोल थप्ने अवसर पाएर पनि सफल हुन सकेन । आइतबारको नतिजापछि सिटी ५७ अंकसाथ तेस्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल(५६) चौथो स्थानमा छ ।
अर्को खेलमा क्रिस्टियन इरिक्स्नले १४ औं मिनेटमा गोल गर्दै टोटेनह्यामलाई अघि बढाएको थियो । ३३ औं मिनेटमा डेले अलीले पेनाल्टी गोल गर्दै गोलअन्तरलाई दोब्बर पारेका थिए । स्टेभन डेभिसलाई अलीलाई फाउल हानेपछि स्पर्शले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफको सातौं मिनेटमा जेम्स वार्ड प्रोसेले गोल फर्काउदै घरेलु टोलीमाथि दबाब बढाएपछि बराबरी गोल गर्न सकेन । अंक तालिकाको शीर्ष टोली चेल्सी र टोनेनह्यामबीच अझै १० अंकको फरक छ । साउथह्याम्प्टन अंक तालिकाको दसौं स्थानमा यथावत छ । आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले मिडल्सब्रोलाई ३–१ ले हराएको थियो ।