फ्युचर र रुद्रेपिपलको खेल वर्षा अवरुद्ध
अर्जुन कार्की
बागलुङ (हाम्रो खेलकुद) – चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब बागलुङ जिल्ला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल आइतबार रस आवर फुटसललाई ५–० ले हराउँदै चिल्ड्रन लाइफ उपाधि नजिक पुगेको हो । दीलिप जिसीले ह्याट्रिक गरेको खेलमा सन्तोष थापा र उमेश थापाले १/१ गोल गरे ।
१८ औं मिनेटमा पहिलो गोल गरेका दीलिपले दोस्रो हाफको दोस्रो र ११ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । सन्तोषले पहिलो हाफको ४० औं र उमेशले दोस्रो हाफको चौथो मिनेटमा गोल गरे । दोस्रो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध हुन पुगेको छ ।
फ्युचर स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लबबीचको दोस्रो सेमिफाइनल पहिलो हाफ सकिएपछि अवरुद्ध भएको छ । पहिलो हाफमा फ्युचर स्पोर्टस्ले २–० को अग्रता लिएको थियो । फ्युचरको लागि दुवै गोल प्रमल थापाले गरे । उनले १० औं र १५ औं मिनेटमा गोल गरेका थिए । अवरुद्ध भएको खेल सोमबार खेलाईने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले समान २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । फाइनल सोमबार नै हुनेछ ।