काठमाडौं – फुटबलमा बलियो र कमजोर मानिएको राष्ट्रको उमेर समूह टोलीबीचको स्तरमा खासै ठूलो अन्तर हुँदैन । अझ दक्षिण एसियाली राष्ट्रका उमेर समूहको टोलीको स्तरलाई समान मानिन्छ । सन् २००४ एएफसी यू २० च्याम्प्यिनसिपमा नेपालले भियतनामलाई हराउँनुले पनि युवा उमेरसम्म अन्तर नहुने कुरालाई बल पुग्छ । उमेर समूह पार गर्दै जाँदा विस्तारै दुई देशबीचको खेलाडीको स्तरको खाडल बढ्दै जान्छन् । एसियाली फुटबलमा अस्ट्रेलिया, जापान, दक्षिण कोरियालगायतका देशलाई बलियो मानिन्छ । ती देशको कुनै पनि उमेर समूह वा राष्ट्रिय टोलीको स्तरको नेपाली फुटबलसँग तुलना गर्नु अन्याय हुन्छ । छिमेरी राष्ट्र भारत दक्षिण एसियाको बलियो राष्ट्र भएपछि एसियाली फुटबलमा खासै माथिल्लो स्तरको मानिन्न । नेपाल र भारतबीच यू १९ वा त्यो भन्दा कम उमेर समूहमा तीब्र प्रतिस्पर्धा हुन्छ । तर, जब यू १९ समूह पार हुन्छ, त्यसपछि नेपाल र भारतबीचको फुटबल खेलाडीमा अन्तर देखिन सुरु हुन्छ ।
उदाहरण हाम्रैअघि छ:
दुई बर्षअघि बिमल घर्तीमगरको कप्तानीमा नेपाल यू १९ साफ च्याम्पियन बनेको थियो । त्यो फाइनलमा नेपालले भारतलाई नै हराएको थियो । नेपालले अग्रता लिएको खेल जोगाउन सकेन र उपाधि जित्नका लागि पेनाल्टी सुट आउट सम्म कुर्नु परेको थियो । कार्यवाहक कप्तान रहेका डिफेन्डर अनन्त तामाङले अन्तिम पेनाल्टी गोल निर्णायक बनेपछि नेपाल घरेलु मैदानमा च्याम्पियन बनेको थियो । त्यति बेला भारतीय टोलीको कप्तानी ड्यानिएल लाल्हिम्पुयाले गरेका थिए । निर्धारित समयमा भारतका लागि बराबरी गोल डिफेन्डर जेरी लाल्रिनज्वालाले गरेका थिए ।
भारतले यू १९ को त्यो एउटा फाइनल हारेको थियो, देशको समग्र फुटबल हारेको थिएन । त्यो टोलीमा रहने खेलाडीले आफुलाई थप परिष्कृत र निखार्दै लाने अवसर पाएका छन् । तर, नेपालमा भने लगभग त्यसको ठिक उल्टो अवस्था छ ।
दुई बर्षदेखि लिग फुटबल नहुँदा राष्ट्रिय टोलीमा रहेका समिति अटाउने बाहेकका खेलाडीको स्तरोन्नतीमा पूर्णविरामनै लाग्यो । यू १९ को त्यहि फाइनल खेलका उता भारतका खेलाडी बर्षमा दुईवटा स्तरीय लिगमा आफ्नो कौशल प्रदर्शन गरिरहँदा नेपाली खेलाडी भने मोफसलमा हुने नकआउट प्रतियोगितामा खेलेर चित्त बुझाउनु परेको अवस्था छ । ती मध्ये एकाध खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेर अभ्यास गरिरहेका छन् ।
भारतका यू १९ का तत्कालिन कप्तान ड्यानिएलले आइ लिगमा बेंगलुरु एफसीसँग २ वर्षका लागि आबद्ध भए र आइ लिग खेल्न थाले । पहिलो सिजन खासै मौका नपाएका उनी अर्को लिग आइएसएलमा चेन्नाईएनमा लोनमा अनुबन्धित भए । जहाबाटँ उनले ३ खेल खेले । दोस्रो सिजन बेंगलुरुबाट २५ खेले खेलेका ड्यानीएलले यसबीचमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्ने अवसर पाए ।
ड्यानिएल मात्र होइन साफ यू १९ को फाइनल खेलेका टोलीका अन्य सदस्य पनि आइलिग र आइएसएलले खेल्ने मौका पाए । फाइनलमा गोल गरेका जेरीले पनि गत महिना मात्र राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका छन् । उनी आइलिगमा डिएसके शिभजयनको पहिलो रोजाइका खेलाडी हुन् भने आइएसएलको चेन्नाईयन एफसीका महत्वपूर्ण खेलाडीका रुपमा स्थापित भइसकेका छन् । मिडफिल्डर अनिरुद्ध थापा मिन्नेरभा एफसीका मिडफिल्ड सम्हाल्ने गर्छन भने अर्का मिडफिल्डर रोहित कुमार र डिफेन्डर गुर्सिमरत सिंह गिल बेंगलुरु एफसीमा आबद्ध छन् ।
कुनै समय समान लाग्ने नेपाल र भारतका खेलाडीले पाउने प्रशिक्षण र एक्सपोजरकै कारण विस्तारै अन्तर बढ्दै छन् । युवा टोलीकै खेलाडी राष्ट्रिय टोलीमा पुग्ने हुँदा कुनै बेलासँगै प्रतिस्पर्धा गरेका दुई देशका खेलाडीबीच स्तरमा ठूलो अन्तर देखिन थाल्छ ।
पछिल्लो केही बर्षयता फुटबलमा नेपालले भारतलाई हराउन सकेको छैन । २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएको नेपालले त्यसपछिका भारतलाई कुनै पनि खेल जित्न सकेको छैन । फिफा वरियताले पनि अहिले नेपाल र भारतबीचको अन्तरलाई थप प्रष्ट पार्दछ ।
कि राष्ट्रिय टोली कि विदेश पलायन
बिमलको नेतृत्वमा नेपालले यू १९ मा मात्र होइन, त्यसअघि यू १६ मा पनि महत्वपूर्ण सफलता प्राप्त गरेको थियो । बिमलकै कप्तानीमा एन्फा एकेडेमीको यू १६ उमेर समूह एएफसी यू १६ च्याम्पियनसिपको अन्तिम चरणका लागि छनोट भएको थियो । छनोट भएपछि टोलीले युरोप र एसियाका उत्कृष्ट देशहरुमा प्रशिक्षणको अवसर पाएको थियो ।
यू १६ च्याम्पियनसिपको अन्तिम चरणमा नेपालले उज्वेविस्तानलाई १–१ बराबरीमा रोकेको थियो । उज्वेकिस्तान त्यहि टोली थियो जसले प्रतियोगिताको विजेता बनेको उत्तर कोरियालाई समूह चरणको खेलमा हराएको थियो । उज्वेकिस्तानविरुद्ध बराबरी गोल गरेका किरण सुनारको कतिले नाम पनि बिर्सिसके । किरण इन्डियन आर्मी बनेको धेरै समय बितिसक्यो । युवा अवस्थामा भारतको प्रतिष्ठित गभर्नर्स गोल्डकपमा मनाङ मस्र्याङ्दीको पहिलो रोजाइबाट खेल्ने गरेका किरण घरेलु फुटबल नियमित नहुँदा पलयान हुन बाध्य भए ।
त्यही यू१६ कै समूह चरणका सबै तीन खेलमा पहिलो रोजाइमा रहेको मिडफिल्डर विकास थापाले पनि भारतीय सेनाकै जागिर रोजे । यू१६ हुँदै यू१९ साफको विजयी टोलीका सदस्य डिफेन्डर आकाश थापा मगर व्रिटिस लाहुरे बने । फुटबलमा भविष्य नदेखेपछि विकल्प खोज्नु नेपाली खेलाडीको नियती नै बनिसक्यो । उमेर समूहमा उच्च प्रदर्शन गरेका देशको प्रतिनिधित्व गरिसकेको धेरै खेलाडी अहिले वैदेशिक रोजगारीमा छन् । शिव श्रेष्ठ, अमिर श्रेष्ठ, गणेश खड्का त्यसका उदाहरण हुन्।
एकरुपता पाउन नसकेको एकेडेमी
युवा परियोजना अनुसार महत्वकाँक्षी एन्फा एकेडेमी स्थापना भएको दुई दशक पुरा हुने क्रममा छ । बेला बखत बन्द हुने चर्चा चलेपनि अहिले सम्म एकेडेमीले थोरबहुत खेलाडी उत्पादन भने गरिरहेको छ ।
सन् २०१५मा किर्गिस्तानमा भएको एएफसी यू१६ च्याम्पियनसिप छनोटमा नेपाल उत्कृष्ट ५ उपविजेता बन्दै अन्तिम चरणमा पुग्यो । तर, बढी उमेरका खेलाडी खेलाएको आरोपमा नेपाललाई एएफसीले प्रतियोगितामा अयोग्य ठहर गर्दै निष्कासन गर्यो र आउने दिनमा गल्ति दोहोराए कडा कारवाही हुने चेतावनी दियो । त्यो गल्तिमा जरिवाना पनि चर्कै परेको थियो ।
बढी उमेरका खेलाडी खेलाउने नेपालले परम्परा नै स्थापित गरिसकेको छ । तर, त्यो टोलीमा कप्तान मनिष कार्की मात्र बढी उमेरका खेलाडी थिए । त्यसबाहेक त्यहि उमेर समूहका खेलाडी स्तरीय थिए । एएफसीले प्रतियोगिताबाट निष्कासन गरेसँगै त्यो ब्याचका खेलाडीलाई एन्फाले बेवास्ता गर्यो । मनिषले त फुटबल खेल्ने छाडिसके। एन्फाको व्यवहार हेर्दा लाग्थ्यो की खेलाडीहरु आफ्नो रहरले मात्र यू १६ खेल्न गएका थिए । अन्ततः ती सबै खेलाडी एकेडेमीबाट छुटे ।
सामन्यतया एन्फाले यू१९ उमेर समूह सम्म खेलाडीलाई एकेडेमीमै राख्ने चलन थियो । तर त्यो टोलीलाई यू १६ पछि खुला छाडिदियो । त्यो खेलाडीमाथि अन्याय त भयो नै एन्फाले पनि आफुले गरेको लगानीबाट थप सफलताको आशा राख्ने धैर्यता देखाएन । त्यो वर्ष यू १४ उमेर समूहका खेलाडी छनोट त भयो तर कुनै पनि प्रतियोगितामा भाग लिने अवसर नै नपाइन केही महिनाको प्रशिक्षणपछि ती खेलाडी पनि एन्फाले घर फर्कादियो ।
त्यति बेला १६ खेलाडीलाई राख्न गाह्रो मानेको एन्फाले त्यसपछिको यू १४ मा भने २६ नयाँ खेलाडी लियो । नयाँ खेलाडीलाई मेहनत त गराइयो तर त्यो टोलीले ताजिकिस्तानमा भएको प्रतियोगितामा सन्तोषजनक प्रदर्शन गर्न सकेन । विगतको तुलनामा नेपालको नतिजा खस्कियो ।
ती २६ खेलाडीलाई अहिले यू १६ एकेडेमीमै राखिएको छ भने त्यसैमा आधा दर्जन खेलाडी थपिएका छन् । २६ खेलाडीको स्तरउन्नती हेरेर छनोट गर्नु र त्यसको ठाँउमा अरु खेलाडी राख्नु भन्दा नयाँ खेलाडी थप्ने विकल्प एन्फाले रोजेको थियो । अर्को तिर यू १४ एकेडेमीका लागि २ दर्जन नयाँ खेलाडी छन् । एकेडेमीलाई पुनः स्तरीय हुनेमा झिनो आशा गर्ने ठाँउ रहेको छ । टेक्निकल डाइरेक्टर जापानी चिआकी ताकेदाले युवा फुटबलमा धेरै समय विताउनेमा दृढ छन् । एकेडेमीले राम्रो खेलाडी उत्पादन गर्ने उनको विश्वास छ । एन्फाले पनि एकेडेमी व्यवस्थापनमा थप ध्यान पुर्याउने बताउँदै आएको छ। युवा वा नेपालको समग्र फुटबल विकासका लागि एन्फाको प्रयास मात्र पर्याप्त पक्कै हुँदैन । सायद यस्तै अनुभवका कारण केही क्लबले खेलाडी उत्पादन प्रयास थालेका छन् । मध्यपुर युथ क्लब, झापाको मुनाल क्लबको चन्द्रगढी एकेडेमी र पोखराको सहारा एकेडेमी यस्ता केही उदाहरण हुन् । यसले समग्र नेपालको फुटबल कहि न कहि टेवा पुर्याउनेछ ।
सधैं तिनै युवा खेलाडी?
नेपाली यू २३ उमेर समूहको टोली र राष्ट्रिय टोलीमा खासै अन्तर छैन । राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा अटाउने ३० खेलाडीमध्ये एक दर्जन खेलाडी अहिले यू २३ टोलीमा छन् । त्यस बाहेक यू२३ टोलीमा रहेका खेलाडीको स्तर दयनीय छ । एन्फाले यू २३ टोली तयारीका लागि ४० खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । तर २८ मात्र प्रशिक्षणमा पुगे । अहिले प्रशिक्षणमा समावेश केहि खेलाडी त प्रारम्भिक ४० जनाको सुचिमा थिएनन् ।
२०१६ को १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने यू२३ टोलीमा रहेका लगभग सबै खेलाडी अहिले राष्ट्रिय टोलीमा छन् । लिग नहुँदा नयाँ खेलाडी छनोटमा समस्या पर्ने प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् । राष्ट्रिय टोलीका खेलाडी नियमित प्रशिक्षणमा रहेकाले पूर्ण रुपमा फिट छन् । त्यसबाहेकका खेलाडीको भने न फिटनेस ठिक छ त न खेल कौशल नै विकास हुन सकेको छ ।
अहिले यू २३ टोलीमा २ वर्षअघि यू १९ जितेका टोलीका अधिकांश खेलाडी छन् । कप्तान बिमल, अनन्त , अन्जन बिष्ट, डोना थापा, सुजित गुरुङ, दिनेश राजबंशी, कमल श्रेष्ठ, अमित तामाङ, तेज तामाङ, रोमन रसाइली, गौरब बुढाथोकी, सुनिल बल, लगायतका खेलाडी यू२३ टोलीको पहिलो रोजाइका दाबेदार हुन् । २०औं वसन्त टेक्दै गरेका यी खेलाडीहरु सामन्यतया हेर्ने हो भने टोलीका वैकल्पिक खेलाडीका रुपमा आउनुपर्ने थियो। तर, अघिल्लो ब्याचका खेलाडी या त विदेशीय या फुटबलबाट अलग भए ।
बिमलभन्दा अगाडी यू १९ खेलेका टोलीको कप्तान सुलभ मास्के हाल अष्ट्रेलियामा छन्। उनी त्यहाँ फुटबल खेल्नेसँगै आफ्नो अध्ययन र काम गर्दैछन् । टोलीका डिफेन्डर बिबेक प्रताप पन्त पनि सुलभ जस्तै अष्ट्रेलियामा नै छन् । त्यति बेलाका गोलरक्षक बृजेश सिंह, बिरेन्द्र चन्दलगायतले त फुटबल खेल्न छाडिसके। त्यसै ब्याचका संजय राजबाहक, भुसन सुब्बा, धिरज तामाङ, राम थापा लगायतका खेलाडी भने लिग नहुनाका कारण धेरथोर मोफसलका प्रतियोगितामा अड्किएका छन्।
युवा राष्ट्रिय टोली हैन कमजोर गहिराईको पराकाष्ठा
राष्ट्रिय टोलीमा युवा खेलाडीको बाहुल्यता छ । यसले आउने दिनमा टोलीलाई फाइदा पुग्ने विश्वास गर्न सकिन्छ । खेलाडीको संख्यामा आएको कमैकै कारण नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको बुझ्न पनि उत्तिकै जरुरी छ । युवा खेलाडी नियमित प्रतियोगिता र राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेकोले अन्य खेलाडीको दाँजोमा अब्बल देखिन्छन् । साग र बंगबन्धु गोल्डकपको लागि बोलाइएको यू२३मा केहि राष्ट्रिय टोलीकै अनुभवी खेलाडी थपिनु बाहेक हाल टोलीमा नयाँ छैन । २ वर्षदेखि पहिलो रोजाइमा एकाध परिवर्तन मात्र भउको छ । लिग नहुनाले बजारमा खेलाडीको अभाव रहेको क्लबका पदाधिकारीहरुको गुनासो छ ।
भर्खरै सम्पन्न यू१८ लिगमा रहेका अधिकांश खेलाडीले ‘बि’ डिभिजन लिग खेलिसकेका थिए । केहि खेलाडी ‘ए’ डिभिजन खेल्ने तयारी अवस्थामा थिए । नेपाली फुटबलमा खेलाडीको संख्यामै कमी आएको थप प्रष्ट हुने यो अर्को उदाहरण हो । सिनियर राष्ट्रिय टोलीमा हाल प्रारम्भिक टोलीमा रहेका बाहेकका खेलाडी पाउन कठिन छ । यू२३मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीनै पुन: राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना स्वभाविक रुपमा बढी छ । राष्ट्रिय टोली सिनियर खेलाडी एकपछि अर्को चोटग्रस्त हुँदा त्यो ठाँउ युवा खेलाडीले नै लिएका छन् । तर, युवा खेलाडीनै मुख्य खेलाडी हुने भएपछि उनीहरुमा पनि चोटका कारण करियरमा चाँडै ब्रेक लाग्ने डर पनि बढ्दो छ।
एन्फाले युवा टोलीलाई ध्यान दिएको अवस्थामा राष्ट्रिय टोलीलाई निकै टेवा पुगिरहेको छ। तर अहिलेको अवस्थामा राष्ट्रिय टोलीको विकल्पमा परिपक्क नहुँदा युवा खेलाडीनै आउनु वा ल्याउनु पर्ने बाध्यताले नेपाली फुटबललाई फाइदा पुर्याउँदैन । सामान्यतया विश्व फुटबलमा २५ वर्षदेखि ३० बर्षको उमेरलाई उच्चतम प्रदर्शन गर्ने उमेर मानिन्छ । तर नेपालमा भने युवा अवस्थामा बढी खेल खेल्ने हुनाले ३० बर्ष पुग्दा सम्म धेरै खेलाडी चोटग्रस्त हुने गरेका छन्। विगत १ वर्षको अन्तरलमै रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, रबिन श्रेष्ठ लगायतका खेलाडीले शल्यक्रिया गर्नुपर्ने चोट बोके। उमेर साथमा रहेकाले उनीहरुले केहि विश्रामपछि पुनरागमन त गरे/ गर्छन। तर यस्तै चोटकै कारण कतिले फुटबल नै छोड्नु पर्ने अवस्था बनेको छ । प्रदीप महर्जन, चेतन घिमिरे जस्ता आशा गरिएका खेलाडी त्यसका उदाहरण हुन् ।
एन्फा एकेडेमीलाई अझै व्यवस्थित, नियमित लिग सञ्चालन गर्दै खेलाडीको संख्यालाई बढाउँदै नलाने हो भने आउने केही बर्षमा उमेर समूहकै खेलाडीले मात्र राष्ट्रिय टोली धान्नु पर्ने परिस्थित बन्न सक्छ। उमेर समूहका खेलाडीलाई पनि उचित व्यवस्थापन र ठाउँ नदिने हो भने नेपालमा खेलाडीको अभावका कारण फुटबलनै बन्द हुने अवस्था नआउला भन्न सकिन्न। यसतर्फ समयमै एन्फाको ध्यान पुगोस् ।