काठमाडौँ (हाम्रो खेलकुद)– फुटबलमा प्रतिभा र मिहेनत भएर मात्र पुग्दैन, सफल खेलाडी बन्न भाग्यको त्यत्तिकै साथ हुनुपर्दछ भनिन्छ। प्रतिभाशाली खेलाडीले मिहेनत गर्दै जाँदा र त्यसपछि अवसर पाउँदै गयो भने सफलता पाउने आशा गर्न सकिन्छ। प्रतिभावान र मेहनती खेलाडीलाई भाग्यले साथ दिन्छ र त्यसले अघि बढ्न बाटो पनि तय गर्दै जान्छ ।
त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की पछिल्लो पुस्ताका यस्ता खेलाडी हुन्, जसको प्रतिभा र मिहेनतमा भाग्यको पनि साथ रह्यो । घरेलु फुटबलमा उच्च प्रर्दशन गरेको केही समयमै उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा मौका पाए । तर, उनी यो सफलतामा सिमित हुन चाहदैनन् । अर्को महिना घरेलु मैदानमा ताजिकिस्तान विरुद्ध हुने एसियन कप छनोटको खेलको लागि प्रिन्सले ठुलै सपना देखेका छन् ।
आर्मीका लागि मोफसलका पछिल्ला दुई प्रतियोगिता खेलेका प्रिन्स दुवैमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । सर्लाहीमा आयोजित राजर्षी जनक कपमा पहिलो पटक आर्मीबाट खेलेका प्रिन्सले ३ खेलमा ३ गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्याए । लगत्तै वीरगंजमा भएको विशाल स्मृति फुटबल प्रतियोगितामा पनि प्रिन्सले टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । त्यहाँ ३ खेलमा ४ गोल गरे । वीरगन्जको प्रतियोगिताका दौरान कप्तान भरत खवास लगायत राष्ट्रिय टोलीका खेलाडी आर्मी टोलीमा थिएनन् । राष्ट्रिय टोलीका सदस्य आर्मीका अर्का स्ट्राइकर नवयुग श्रेष्ठ भने चोटका कारण आराम गरिरहेका थिए ।
आर्मी प्रवेश अघि फुटबलमा प्रिसको आफ्नै कथा छ । २०६९ मा सी डिभिजन छनोट हुने गृह बनेपा ब्वाइज क्लब (बिबिसी) खेले । अर्को बर्ष फ्रेन्ड्स क्लबका लागि ए डिभिजन खेलेका प्रिन्सको त्यसपछिको यात्रा भने सेना तिर मोडियो । काभ्रेको पनौती नगरपालिका सुन्थानमा जन्मिएका प्रिन्सले आर्मीबाट फुटबल करियर अघि बढ्ला भने सायदै सोचेका थिए ।
२३ वर्षिय प्रिन्स मंसिरमा सेनाको सकेन्ड लेफ्टिनेन्टमा पास आउट भए । आफ्नो ब्याचको टपर रहेका उनले एक वर्ष भारतमा रहेर प्रशिक्षण पनि गरे । भारतीय सेनाको एकेडेमीमा रहँदा उनले फुटबल प्रशिक्षण लिने मौका पाए । भारतमा रहँदा त्यहाँ पाएको शारीरिक र फुटबल प्रशिक्षणले फाइदा पुगेको उनको बुझाई छ । नेपाल फर्केपछि उनलाई क्लबका प्रशिक्षक नवीन न्यौपानेले सोझै सिनियर टोलीमा समेटे । आर्मी क्लबमा आबद्ध भएको छोटो समयमै खेल्ने मौका पाउनुले उनलाई भाग्यले दिएको साथका रुपमा पनि बुझ्न सकिन्छ ।
‘सर्लाहीको प्रतियोगिता खेल्ने तयारीमा थियौं । हाम्रो मुख्य स्ट्राइकर राष्ट्रिय टोलीमा थिए । वैकल्पिक स्ट्राइकरहरु पनि पूर्ण रुपमा फिट नभएकोले अरु खेलाडी छन् क भनेर सोधे,’ प्रशिक्षक न्यौपानेले स्मरण गरे,‘ व्यवस्थापनबाट प्रिन्सको बारे थाहा पाए । सुटिङ र सेट पिस राम्रो भएको सुने । त्यसपछि उनलाई प्रशिक्षणमा सामेल गराए । ’
न्यौपानेले सुने जस्तै प्रिन्सको सुटिङ र सेट पिस देख्दा खुसी लागेको सम्झदै उनले भने, ‘ तर टोलीमा खेल्दा केहि असहज महसुस भए जस्तो लाग्थ्यो । टोलीमा अरु स्ट्राइकर नभएकोले पनि उनलाई केहि टिप्स दिए । विस्तारै सुधार देखियो अनि सर्लाही लाग्ने निर्णय गरें । ’
सर्लाहीमा पहिलो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका प्रिन्सले २ गोल गर्दै आफुमा पर्याप्त क्षमता रहेको उदाहरण दिए । दोस्रो खेलमा पहिलो रोजाइमै परेका उनले राम्रो त खेले नै गोल पनि गरे ।
प्रिन्सका बारेमा प्रशिक्षक न्यौपाने थप्छन्,‘ उनमा भनेको कुरा छिट्टै टिप्ने र त्यसअनुसार मैदानमा उतार्ने क्षमता छ । वीरगंजको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीहरु फर्केपनि मैले उनलाई मौका दिए । प्रदर्शनमा क्रमिक रुपमा सुधार गर्दै लगे । प्रशिक्षणमा पनि एकदम मन लगाएर खेल्छन् । नबुझेको कुरा सोध्ने, सल्लाह लिने उनको बानी छ । त्यो सबैमा देखिन्न । ’
राष्ट्रिय टोलीको छनोटमा प्रिन्स परेको खबर पाउँदा प्रशिक्षक न्यौपाने दंग परे । उनले भने, ‘प्रिन्सले त्यहाँ पनि प्रशिक्षकको चाहअनुसार आफ्नो क्षमता देखाउन सक्यो भने अन्तिम छनोटमा पर्नेमा म ढुक्क छु । छनोटमा परेपछि सल्लाह पनि लिएको थियो । प्रशिक्षकको निर्देशन अनुसार खुलेर खेल्नु भन्ने सुझाव दिएको छु । ’ राष्ट्रिय टोलीमा स्तरीय खेलाडीको जमघट हुने भएकाले त्यहाँ आफुलाई उत्कृष्ट सावित गर्न प्रिन्सले थप मेहनत गर्नुपर्ने न्यौपानेको सुझाव छ ।
प्रिन्सले प्रशिक्षक न्यौपानेबाट धेरै सिक्ने अवसर मिलेको बताउँछन् । ‘ म्याच एक्सपोजर र प्रशिक्षणमा धेरै सिकाउनुभ यो । कमजोरीलाई सुधार गर्दै लगे ,’ प्रिन्सले भने, ‘ कसरी समन्वय गरेर खेल्ने भन्ने त्यति थाहा थिएन । उहाँले निकै राम्रो ढंगले सिकाउनु भयो । फुटबल खेलेको धेरै भयो । तर राष्ट्रिय टोलीको छनोटमा यत्ति चाँडै पर्छु भन्ने कल्पना पनि थिएन । उत्साहित छु । ’
क्लबका सिनियर पनि सहयोगी रहेको उनले भन्न छुटाएनन् । ‘ भरत र नवयुग दाइको अनुभवले धेरै सिक्ने मौका पाए । दुवै जनाले टिप्स दिनुहुन्छ,’ प्रिन्सले खुसी हुँदै भने, ‘अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्दा धेरै फाइदा पुगेको छ ।’
छोटो समयमै ठू्लो उडान भरेका प्रिन्स दबाबबीच पनि अघि बढ्नेमा आशावादी छन् । ‘राष्ट्रिय टोलीको छनोटमा परेपछि केहि दबाब त हुन्छ । मिहेनत गर्छु र आफ्नो कमजोरीलाई अझै सुधार्ने प्रयास गर्नेछु,’ उनले भने, ‘ यसअघि सकेको र बुझेको त छ नै, त्यसबाहेक अन्य खेलाडी र प्रशिक्षकको सुझावलाई आत्मसात गर्दै थप सुधारका लागि प्रयास गर्नेछु । ’