काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले खेलेका औपचारिक पछिल्ला ३ खेलमा ३ अलग अलग खेलाडीले कप्तानी गरेका थिए । नियमित कप्तान अनिल गुरुङ टोलीमा रहेपनि पहिलो रोजाइमा नअटाएपछि उपकप्तान विराज महर्जनलाई स्वतः त्यो जिम्मेवारी पाउछन् नै । तर, विराजको अवस्था पनि अनिलकै जस्तो भएपछि अब नेपाली टोलीको कप्तानी कसले गर्ने छन् भन्ने प्रष्ट छैन ।
चैतमा फिलिपिन्सविरुद्ध भरत खवासले कप्तानी गरेका थिए । फेरी जेठमा भारतविरुद्धको मैत्रीपूर्ण खेलमा विराजले आर्मब्यान्ड लगाए । जेठको अन्तिममा घरेलु मैदानमा नेपालले यमनको सामना गर्दा विराजले नै कप्तानी गरे । तर, त्यो खेलको अन्तिम समयमा मैदान प्रवेश गरेपछि कप्तानको जिम्मेवारी अनिलले लिए ।
सामान्यतया टोलीमा कप्तानको जिम्मेवारी नेतृत्वको क्षमता भएको र अन्य खेलाडीले पनि स्वीकार्ने खेलाडीले पाउने गर्छन् । तर नेपालमा भने त्यो भन्दा कप्तान छनोटको प्रक्रिया अलिक भिन्न छ । नेपालमा टोलीको सिनियर सदस्य कप्तानका लागि लायक मानिन्छ ।
सन् २०१५ को साफ च्याम्पियनसिप खेल्नु अघि खेल मिलेमतोको अभियोगमा तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दिप राईलगायत ५ खेलाडीमा प्रतिबन्धमा परे । जसका कारण कप्तान पद खाली रह्यो । तत्कालिन प्रशिक्षक प्याट्रिक अजेम्सले कप्तानको जिम्मा सिनियर भएको आधारमा अनिललाई दिए । यद्दपी अनिल अजेम्सको पहिलो रोजाइमा भने थिएनन् । उनले त्यसबेला पत्रकार सम्मेलनमा अनिल पुरै टोलीको कप्तान रहेको बताएका थिए । उनले त्यसबेला विराज र रोहित चन्द दुवै लाई उप कप्तानको भूमिका दिएका थिए । अजेम्स खासमा रोहितलाई कप्तान बनाउन चाहन्थे । तर, नेपालको परम्परा नतोड्न सुझाव पाएपछि उनले अनिललाई कप्तान घोषणा गरेका थिए ।
साफ च्याम्पियनसिप अघि नेपालले बंगलादेशसँग ढाकामा मैत्रीपूर्ण खेल खेल्ने तय भयो । त्यसमा अजेम्सले अनिललाई पहिलो रोजाईमा राखे र कप्तानी उनैले गरे । मैत्रीपूर्णको खेलको अघिल्लो दिन ढाका पुगेका रोहित बेन्चमै सिमित भए । रोहित मलेसियामा टि टिम एफसीका लागि कागजी प्रक्रिया एवं मेडिकल गर्न गएकाले टोलीभन्दा केहि पछि मात्र ढाका पुगेका थिए ।
त्यही मैत्रीपूर्ण खेलको दोश्रो हाफमा प्रशिक्षक अजेम्सले अनिलको ठाँउमा नवयुग श्रेष्ठलाई पठाए । रोहित पहिलो रोजाईमा नरहेका कारण आर्मब्यान्ड विराजले पाए । रोहित दोश्रो हाफमा विशाल राईको ठाँउमा मैदान छिरे । बंगलादेशसँगको मैत्रीपूर्ण खेलपछि साफ च्याम्पियनसिप खेल्न नेपाली टोली भारतको केराला पुग्यो । श्रीलंका विरुद्धको पहिलो खेलमा अनिल गुरुङले कप्तानी गरे । भारतविरुद्धको दोश्रो खेलमा अनिल बेन्चमा सिमित भएपनि विराजले कप्तानी गरे । ती दुवै खेल गुमएपछि नेपाल प्रतियोगिता बाहिरिएको थियो ।
त्यसपछि बंगलादेशमा भएको बंगबंधु गोल्डकप र १२औं दक्षिण एसियाली खेलकुद (साग) यू २३ मा रोहित र अनिल दुवै थिएनन् । रोहित व्यवसायिक फुटबल खेल्न मलेसिया लागे भने अनिल टोलीमा अटाएनन् । टोलीमा रहेका ४ सिनियर खेलाडी (विराज, रबिन श्रेष्ठ, विक्रम लामा र नवयुग श्रेष्ठ) मध्ये अनुभवी विराजले नै कप्तानीको जिम्मेवारी पाए । त्यसयता अनिल टोलीमा कमै परे, जसका कारण विराजले लगातार कप्तानी गरे । यद्दपी अझै सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिलपछि कुनै खेलाडीलाई पनि कप्तान को सार्वजनिक घोषणा गरेको छैन ।
चैतमा फिलिपिन्सविरुद्धको खेलमा अनिल टोली थिएनन् । विराज पहिलो रोजाईमा परेनन् । त्यसमा कप्तानको जिम्मेवारी भरतलाई दिइयो । अनुभव र सिनियरिटीका आधारमा भरतले त्यो जिम्मा पाएका थिए । पछिल्लो पटक अजेम्स ले रोहितलाई उपकप्तान तोकेपनि त्यो बेला चोटका कारण भरत टोलमिा थिएनन् ।
एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग हुने खेलअघि नेपालले जापानको भ्रमण गर्दै छ । १० दिनको जापान भ्रमणमा नेपालले पाँच वटा मैत्रीपूर्ण खेल खेल्दैछ । अहिले फेरी अनिलले टोलीको कप्तान रहेका छन् । व्यवस्थापक बिराट जंग शाहीले हाम्रो खेलकुद डटकमलाई टोलीको कप्तान अहिलेपनि अनिल रहेको बताए । उनले भने यो भ्रमणमा ‘ कप्तान अनिल हुन् । त्यस्तै उपकप्तान विराज र दोस्रो उपकप्तानमा भरत छन् । ’
टोलीको नियमित कप्तान नहुँदा अन्य खेलाडी देश समर्थक पनि अलमलमा पर्ने स्वभाविक नै हो । क्रिकेटमा जस्तो फुटबलमा कप्तानको भूमिका त्यति फराकिलो नभएपनि भविष्य समेतलाई मध्यनजर गर्दै कप्तानको जिम्मेवारी दिन सक्दा त्यसले फुटबल टोलीको एकतामा थप बल पुग्ने सम्भवना भने रहन्छ ।