काठमाडौं, मंसिर ६
अखिल नेपाल फुटबल संघ (एन्फा) को संस्थापन पक्षले विरोधी समूहसँग मिलेर जाने सम्भावना नरहेको एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिलाई बताएका छन् ।
नेपाली फुटबल र एन्फाको पछिल्लो अवस्थाका विषयमा अध्ययन गर्न एएफसीले अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेललाई नेपाल पठाएको छ ।
काठमाडौं आउने वित्तिकै कट्टेलले आइतबार एन्फाको संस्थापनपक्षलाई एन्फा मुख्यालय सातदोबाटोमा भेटेका थिए । उनले कार्यावहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ अलग्गै र त्यसपछि सबै पदाधिकारीसँग सामूहिक छलफल गरेका थिए ।
छलफलमा अधिकांशले एन्फाविरुद्ध दुई बर्षदेखि सक्रिय तीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा,किशोर राई, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङसँग मिलेर काम गर्न नसक्ने बताएका थिए ।
उनीहरु ४ जना २०७० को निर्वाचनबाट एन्फा कार्यसमितिमा निर्वाचित भएका थिए । असोज ११ गते एन्फाले उनी चार जानलाई बर्खास्त गरेको थियो ।
एन्फा विवादको अध्ययनका क्रममा कट्टेलले सोमबार युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट र एन्फा विरोधी शेर्पा समूहसँग भेट गर्नेछन् ।
बुधबार एएफसी मुख्यालय मलेसिया फर्केर कट्टेलले विवाद अनुसन्धानको प्रतिवेदन बुझाउनेछन् ।