काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय लिग फुटबलको उपाधिनजिक पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुपर लिग अन्तर्गत भएको विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबमाथि २–१ को कठिन जित निकाल्दै एपीएफ उपाधि नजिक पुगेको हो । सुपरलिगमा अब सबै टोलीले १–१ खेल खेल्न बाँकी छ ।
एपीएफको महत्वपूर्ण जितमा अनिता केसी र अनिता बस्नेतले गोल गरे । आर्मीका लागि कप्तान कृष्णा खत्रीले एक गोल गरिन् । खेलमा शुरुवाती अग्रता भने आर्मीले नै लिएको थियो । १७ औं मिनेटमा एपीएफकी गोलरक्षक एन्जिला थुम्बापो सुब्बाको कमजोर किपिङमा कप्तान कृष्णा खत्रीले सहज गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् ।
तर, आर्मीले त्यो अग्रता जोगाउन सकेन । पहिलो हाफमा १–० ले पछि परेको एपीएफले ५० औं मिनेटमा बराबरी गोल फर्कायो । एपीएफका लागि अनिता केसीले सावित्रा भण्डारीको हेडरलाई गोलमा परिणत गरेकी थिइन् । ८३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाईन् ।
अनिताले एकल प्रयासमा डि–बक्सबाहिरबाट गरेको सशक्त प्रहार आर्मीका गोलरक्षक लिला लामगादेले रोक्ने कुनै मौका नै पाइनन् । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा एपीएफले खेल २–१ ले आफ्नो पक्षमा पार्यो । खेलको इन्जुरी समयमा एपीएफका मनमाया लिम्बु दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएकी थिइन् ।
जितपछि एपीएफ दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने, समान ३-३ अंक भएको आर्मी र नेपाल पुलिस दोस्रो र तेस्रो स्थानमा छ । मंगलबारै भएको अर्काे खेलमा पुलिसले सुदूरपश्चिममाथि १–० को कठिन जित निकाल्यो । पुलिसको जितमा रुपा रानामगरले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
सुपर लिग अन्तर्गत बिहिबार अन्तिम खेलहरु हुदैछन् । सुपर लिगको अन्तिम दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दा एपीएफले नेपाल पुलिसको सामना गर्नेछ । यस खेलमा जित हात पारे एपीएफ च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुने टिमले १ लाख तथा तेस्रोले ५० हजार प्राप्त गर्नेछ ।