पोखरा (हाम्रो खेलकुद)– डिस होमको एक्सन स्पोर्टसले १६ औं आहा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपालको पहिलो स्पोर्टस च्यानल एक्सनले स्पोर्टसले आहा गोल्डकपको क्वार्टरफाइनलदेखिका खेलहरु प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
एक्सन स्पोर्टसको सञ्चालक ओर्जिनल इन्टरटेनमेन्टका अध्यक्ष दयाराम पाण्डे र आहा गोल्ड कपका आयोजक सहारा क्लबका महासचिव विश्व बरालले प्रत्यक्ष प्रसारण सम्झौतामा बिहीबार साँझ हस्ताक्षर गरेका हुन् । आहा गोल्ड कपका क्वार्टरफाइनल खेल माघ १३ बाट सुरु हुनेछन् ।
पहिलो दिन सुदूरपश्चिम ११ स्पोर्टस क्लब र धरान फुटबल क्लब विजयी हुँदै प्रतियोगिताको अन्तिम आठमा पुगिसकेका छन् । आज सिएमजी क्लब संकटा र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एक्सन स्पोर्टसले धनगढीमा माघ १ गते सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसार गरेको थियो ।