काठमाडौं (हाम्रो खेलकुद)– रक्षक रञ्जित धिमालको गोलमा पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम खेलको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलमा थ्री स्टार क्बलले मच्छिन्द्र क्लबविरुद्ध १–० को अग्रता लिएको छ ।
खेलको १२ औं मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलबाट थ्री स्टारले अग्रता लिएको हो । नीराजन खड्काको प्रहारमा पेनाल्टी बक्स भित्र रहेका मच्छिन्द्रका रक्ष्ँक अन्जन देवकोटाको ह्यान्ड भएपछि थ्री स्टारले पेनाल्टीमा गोल गरेको थियो । रञ्जितको पेनाल्टी प्रहारमा मच्छिन्द्रका गोलकिपर दीप कार्कीले सहि जज गरेपछि बलमा हातमा लाग्दै गोल भएको थियो । रञ्जित जारी लिगमा उच्चकर्ता हुन् । आठौं चरणको खेलमा आइपुग्दा उनको गोल संख्या ७ पुगेको छ । सिग्नेचर मनाङ मस्याङ्दीका अन्जन विष्ट्को नाममा ५ गोल छ ।
थ्री स्टारले थप केहि गोलको अवसर पाएको थियो । तर सफल हुन सकेन । २१ औं मिनेटमा थ्री स्टारका सुनिल बलको कर्नरमा रञ्जन विष्टको हेड विपक्षी गोलकिपरले रोके । त्यस्तै २८ औं मिनेटमा अनिल गुरुङले हेड गरेको बल गोलमा परिणत हुन सकेन । ३५ औं मिनेटमा अवाङ अलबर्टको शक्तिशाली प्रहारलाई विपक्षी गोलकिरले पन्च गरे ।
लिगको उपाधि जित्ने सम्भावनालाई यथावत राख्न थ्री स्टारले आजको खेल जित्दै पर्ने हुन्छ । अपराजित सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबको २४ अंक छ भने तेस्रो स्थानको थ्री स्टारको १८ अंक छ ।