काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण पछिल्लो एक महिना विश्राममा रहेका मिडफिल्डर सुजल श्रेष्ठले पुनरागमन गर्ने भएका छन् । पल्सर सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङदीका लागि उनले नेपाल पुलिस क्लबविरुद्ध खेल्ने भएका हुन् ।

५ साताअघि प्रशिक्षणमा चोट बोकेपछि सुजल
लिगअन्तर्गत दोस्रो चरणको खेल हुनुअघि प्रशिक्षणका क्रममा लड्दा चोट बोकेका सुजलको हत्केलामा चोट देखिएपछि डाक्टरले ६ साता विश्राम गर्न भनेका थिए । उनको हातमा लागेको प्लास्टर शुक्रबार काटिएको छ । लिग अन्तर्गत पहिलो खेलमा मनाङको कप्तानी गर्दै ३-१ को जित दिलाएका सुजलले अब दशौं चरणको खेलमा आइतबार पुलिसको सामना गर्नेछन् ।
मनाङ लिग तालिकाको शीर्ष स्थानमा ३ अंकले रहेको छ । मनाङलाई दोस्रो स्थानमा संकटाले पछ्याईरहेको छ । चिर परिचित प्रतिद्वन्द्वी थ्री स्टार भने ५ अंकले पछाडी छ । मनाङले पुलिसविरुद्ध जित दर्ता गर्दै संकटाविरुद्ध खेल जितेमा लिग उपाधि लगभग पक्का गर्नेछ ।
सुजलले पछिल्लो केहि दिन प्लास्टर लगाएरै प्रशिक्षण गरेका थिए । उनले मैदानमा फर्कन निकै आतुर रहेको बताए । ‘ मैदानबाहिर बस्न निकै गाह्रो हुने रहेछ । तर यस समयमा टोलीलाई मैदानबाहिर बसेर पनि सहयोग गरेको थिएँ । अब आफैं मैदानमा फर्कन पाउँदा खुसी लागेको छ । अब टोलीलाई सफल बनाउन मिहिनेत गर्नेछु,’ उनले भने ।