एजेन्सी – अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजरको पहिलो खेलमै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । युनाइटेडले कार्डिफ सिटीमाथि ५–१ को फराकिलो जित निकालेको हो ।
युनाइटेडको फराकिलो जितमा जेसे लिङ्गार्डले २ तथा मार्कुस रासफोर्ड, एन्डर हरेरा र एन्थोनी मार्सियलले समान १ गोल गरे । कार्डिफका भिक्टर कामासाराले एक गोल फर्काए ।
निकै खराव प्रदर्शन गरेपछि युनाइटेडले गत मंगलबार जोसे मौरिन्होलाई बर्खास्ती गर्दै सोल्सजरलाई गत बुधबार अन्तरिम प्रशिक्षकमा नियुक्त गरेका थिए ।
कार्डिफको मैदानमा शनिबार राति भएको खेलमा युनाइटेडले मार्कुुस रासफोर्डको गोलबाट खेलका तेस्रो मिनेटमा अग्रता बनाएको थियो । २९औं मिनेटमा एन्डर हरेराले गोल गरेपछि युनाइटेडले २–० को अग्रता बनाएको थियो ।
३८औं मिनेटमा कार्डिफका भिक्टरले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–१ को स्थितिमा पुगेको थियो । तर, त्यसपछि भने घरेलु टोली कार्डिफले युनाइटेडलाई रोक्न सकेन । ४१औं मिनेटमा एन्थोनी मार्सियलले गोल गरेपछि युनाटेडले पहिलो हाफमा ३–१ को अग्रता बनाउन सफल भएको थियो ।
५७औं मिनेटमा जेसे लिङ्गार्डले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेडले खेलमा ४–१ के आरामदायी अग्रता बनायो । इन्ज्युरी समयमा लिङ्गार्डले टिमका लागि पाँचौ तथा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेल ५–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
जितपछि यृुनाइटेड १८ खेलबाट २९ अंक जोडेर छैटौ स्थानमा छ । पराजित कार्डिफ १४ अंकसहित १७औं स्थानमा छ । ४८ अंकसहित लिभरपुल लिगको शीर्ष स्थानमा छ ।