एजेन्सी – इटालियन च्याम्पियन युभेन्ट्सले लिगको अपराजित यात्रा र च्याम्पियन्स लिगको उपाधि लक्ष्यलाई अझ मजबुत बनाउन ट्रान्सफर विन्डोमा केहि खेलाडी भित्र्याउने प्रयास गर्ने भएको छ ।
रियल म्याड्रिडमा नयाँ प्रशिक्षकको आगमनसँगै मौका नपाएर बेन्चमा अडेका मिडफिल्डर इस्कोलाई युभेन्ट्सले आफ्नो पहिलो रोजाइमा राखेको छ । युभेन्ट्सले यसअघी पनि इस्कोलाई पछ्याएको थियो तर म्याड्रिडले त्यसबेला इस्कोले आफ्नो टोलीको महत्त्वपूर्ण हिस्सा भएकोले विक्री गरेको थिएन । सान्टियागो सोलारीको आगमनसँगै इस्कोले बिरलै मैदानमा खेल्ने मौका पाएका छन् ।
सोलारीको रणनीतिमा इस्को मिसिन नसक्दा उनले जनवरीमा क्लब छाड्ने सम्भावना बढेको हो । युभेन्ट्ससँगै पेप गुआर्डीओलाको म्यानचेस्टर सिटीले पनि इस्कोलाई भित्र्याउने प्रयास गरेको बुझिएको छ । सिटीले इस्कोलाई डेविड सिल्भाको उत्तराधिकारीको रुपमा क्लबमा भित्र्याउने प्रयास गरेको छ । तर युभेन्ट्सले भने इस्कोलाई टोलीमा मुख्य भूमिका दिएर ल्याउने प्रयासमा छ ।
यसै सिजन स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको युभेन्ट्सले पछिल्लो समय सबै प्रतियोगितामा उत्क्रिस्ध्तउत्कृष्ट प्रदर्शन गरिरहेको छ । लिगमा १७ खेलसम्म अपराजित रहँदै फराकिलो अग्रता कायम गरेको युभेले च्याम्पियन्स लिगमा पनि समूह विजेता बन्दै अन्तिम १६ को यात्रा तय गरेको छ । युभेले क्वाटरफाइनल प्रवेशका लागि एटलेटिको म्याड्रिडको सामना गर्नेछ ।