धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम ११ स्पोर्टस क्लब र सहारा युवा क्लब पहलमानपुर फारवेष्ट पशुपति कपको सेमिफाइनलमा पुगेका छन् । सहाराले गौरीगंगा ११ स्पोर्टस क्लबलाई ६–० र सुदूरपश्चिमले नवदुर्गा युवा क्लबलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
दस खेलाडीमा सिमित नवदुर्गाविरुद्ध सुदूरपश्चिमका सन्देश सुनारले गोल गरेका थिए । सन्देशले दोस्रो हाफको १७ औं मिनेटमा गोल गरेका थिए । सन्देश नै खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । नवदुर्गा २८ मिनेटमै दस खेलाडीमा सिमित भएको थियो । चक्र चिमलाले आठौं र २८ औं मिनेटमा पहेलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदान छाडेपनि नवदुर्गा दस खेलाडीमा सिमित भएको थियो ।
धनगढी रंगशालामा गौरीगंगा–११ लाई फराकिलो अन्तरले हराउन सहाराका जनक लिङगेल र उमेश रेग्मीले समान २ तथा मोहन थापा र रितेश मल्लले समान १ गोल गरे । जनकले सातौं मिनेट र दोस्रो हाफको १८ औं मिनेटमा तथा उमेशले दोस्रो हाफको १२ औं र १६ औं मिनेटमा गोल गरे । मोहनले दोस्रो हाफको २३ औं र रितेशले २८ औं मिनेटमा गोल गरे ।
बुधबार नै भएको लिग चरणको अन्तिम खेलमा जोनापुरको मदरल्यान्ड युवा क्लबलाई २–० ले हराउँदै आयोजक फारवेष्ट पशुपति युवा क्लब क्वार्टरफाइनलमा पुगेको छ । फारवेष्टका लागि पहिलो गोल कुँवेर सिंहले सातौं मिनेट र अर्को गोल चेतन कठायतले दोस्रो हाफको १४ औं मिनेट गोल गरे ।
प्रतियोगितामा बिहीबार पिएफए अत्तरीया र मनकामना युवा क्लब तथा फारवेष्ट पशुपति युवा क्लब र नव बुद्ध युवा क्लबबीच क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुनेछ । शनिबार सम्म चल्ने प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।