एजेन्सी – अर्जेन्टिना तथा इटालियन सिरी ‘ए’ क्लब एसी मिलानका फरवार्ड गोन्जालो हिगुआइन इंग्लिस क्लब चेल्सीमा अनुबन्धित हुने भएका छन् ।

अर्जेन्टिनाका ३१ वर्षीय फरवार्ड हिगुआइन सिरी ‘ए’ क्लब युभेन्टसबाट लोनमा एसी मिलानबाट खेल्दै आएका थिए । उनलाई युभेन्टसले लोनमा चेल्सीमा पठाउने निर्णय गरेको हो । आफ्ना फरवार्ड अल्भारो मोराटालाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा पठाउने निर्णय गरेसँगै चेल्सी अर्काे फरवार्डको खोजीमा रहेको थियो ।
हिगुआइन मेडिकल र लोनमा चेल्सीमा अनुबन्धको प्रक्रिया पुरा गर्न यसै साता लन्डन आइपुग्ने छन् । केहि दिनमै मेडिकल भए उनले कारवाओ कप अन्तरगत टोटेनहमविरुद्धको सेमिफाइनल खेलबाट चेल्सीबाट डेब्यु गर्ने सम्भावना रहेको छ ।
लामो समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका हिगुआइन सन् २०१३ मा इटालियन क्लब नेपोलीमा पुगेका थिए । त्यसपछि उनी सन् २०१६ मा इटालियन महारथी युभेन्टसबाट पनि खेले । रियलका पूर्व सहयात्री क्रिस्टियानो रोनाल्डो यसै सिजन युभेन्टस पुगेपछि उनी लोनमा मिलान पुगेका थिए ।
यससँगै हिगुआइनको आफ्ना पूर्व प्रशिक्षक मौरिसियो सार्रीसँग पुर्नमिलन हुनेछ । नेपोलीका पूर्व प्रशिक्षक सार्रीकै प्रशिक्षणमा हिगुआइनले उच्च प्रदर्शन गर्दै दुई सिजनमा ३६ गोल गर्न सफल भएका थिए ।