एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारको खेलमा हर्था बर्लिनलाई १-० ले पराजित गर्दै बायर्न म्युनिखले लिगको शीर्ष स्थानको बोरुसिया डर्टमुन्डसँग अंक बराबर गरेको छ ।

खेलको ६२ औं मिनेटमा जाभी मार्टीनेजले हामेस रोड्रीग्वेजको कर्नरमा हेडरमार्फत गोल गरे । खेलको अन्तिम ६ मिनेट बर्लिनले १० खेलाडीमा रहेर खेल्यो । करीम रेकिकले रोबर्ट लेवान्डोस्कीलाई फल हानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए ।
पछिल्लो ६ सिजन लगातार जर्मन लिग उपाधि जितेको बायर्नले पछिल्लो ११ खेलमा १० जित दर्ता गर्दै लिगमा पुनरागमन गरेको छ । एक समय डर्टमुन्डभन्दा ९ अंक पछाडी रहेको बायर्नले लिगको उपाधि भिडन्तमा पुनरागमन गरेको छ । डर्टमुन्डले आइतबार बायर लेभरकुसनसँग जित दर्ता गरे ३ अंकको अग्रता पुन: स्थापना गर्नेछ ।
डर्टमुन्डले २२ खेलमा ५१ अंक जोडेको छ भने बायर्नले २३ खेलमा समान अंक हासिल गरेको छ । तेस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकले घरेलु मैदानमा वल्फ्सबर्गसँग ३-० ले पराजित हुँदै २३ खेलमा ४३ अंक जोडेको छ ।