एजेन्सी – प्रिमियर लिग अन्तर्गत शनिबार एएफसी बर्नमाउथलाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीको जितमा रियाद माहरेजले निर्णायक गोल गरे । उनले खेलको ५५ औं मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । त्यसअघि सिटीका लागि डेबिड सिल्भाले अग्रता दिलाउने सुनौलो अवसर गुमाएका थिए । सिटीका मिडफिल्डर केभीन डे ब्रुएन र डिफेन्डर जोन स्टोन्स चोटका कारण खेल छाड्न बाध्य भए ।
सिटीका प्रशिक्षक पप गुआर्डीओलाले खेलपछि विश्रामबिना पनि टोलीले राम्रो नतिजा हासिल गरेकोमा खुसी व्यक्त गरे । ‘जितको श्रेय खेलाडीलाई नै जांच । लगातार विश्रामबिना खेलेको अवस्थामा पनि टोलीले राम्रो नतिजा ल्याइरहेको छ । कम्युनिटी सिल्ड र लिग कप जितेको टोलीले अब प्रिमियर लिगमा शीर्षस्थान र च्याम्पियन्स लिगमा सहज स्थितिमा छ । यहाँबाट जे भएपनि खेलाडीहरुलाई म बधाई दिन चाहन्छु,’ उनले भने ।
सिटीले २९ खेलमा २३ जित, २ बराबरी र ४ हारसहित ७१ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको २१ जित, ६ बराबरी र १ हार बेहोर्दै ६९ अंक छ । तेस्रो स्थानमा टोटेनहमले २९ खेलमा ६१ तथा म्यानचेस्टर युनाइटेडले २९ खेलमा ५८ अंक जोडेको छ । आर्सनल ५७ अंकमा रहँदा चेल्सी २७ खेलमा ५३ अंक जोड्न सफल भएको छ ।