एजेन्सी – यस समर ट्रान्सफर विन्डोमा आयक्सका सेन्टर डिफेन्डर म्याथिस डी लिटलाई भित्राउन यूरोपका ठूला क्लबहरुले प्रतिस्पर्धा गर्ने पक्का छ।

१९ वर्षे डच सेन्टर ब्याक डी लिट २०१८ का ‘गोल्डेन ब्वाई’ अवार्ड विजेता हुन्। सन् २००३ बाट राफेल भान डर भार्टबाट सुरु भएको यस ‘गोल्डेन ब्वाई’ अवार्ड वर्षको उत्कृष्ट यूवा खेलाडीलाई प्रदान गरिन्छ । यस अवार्डको सुरुआतदेखि डी लिट यस उपाधी जित्ने पहिलो डिफेन्डर पनि हुन् ।
नेदरल्यान्ड्सका लागि १३ खेल खेलिसकेका डी लिट प्रति बार्सिलोनाको ध्यानाकर्षण रहेको र यस समरमा उनलाई स्पेन भित्राउन बार्सिलोनाले इच्छा देखाएको थियो । तर डच प्रेससँग बोल्दै उनले लिभरपुल जान सक्ने संकेत देखाएका छन् । बार्सिलोना र लिभरपुल बाहेक उनको स्थितिलाई जर्मन च्याम्पियन बायर्न म्युनिखले पनि नियालेको बुझिएको छ।
सन् २०१६ को सेप्टेम्बरमा आयक्सको सिनियर टोलीमा पहिलो पटक मौका पाएयता उनले फर्केर हेर्नुपरेको छैन । उनले डच च्याम्पियन्सका लागि ६५ खेलमा ७ गोल गरेका छन् । उनले २०१८ मार्चमा नियमित कप्तान जोएल भेल्टम्यानको अनुपस्थितिमा टोलीको कप्तानी गर्दै आयाक्सको इतिहासमै सबै भन्दा कम उमेरको कप्तान बने ।
यूईएफए नेसन्स लिगको समूहमा जर्मन र फ्रान्स विरुद्ध सबै खेलमा सुरुआत गर्दै उनले पुरै समय खेले । नेदरल्यान्ड्स समूह विजेता रहँदा उनको महत्वपूर्ण योगदान रह्यो ।