एजेन्सी – करिव १० महिनापछि प्रशिक्षक जिनेदिन जिदान स्पेनिस क्लब रियल मड्रिडमा फर्किएको छ ।

क्लबले सान्टियागो सोलारीलाई सोमबार राति बर्खास्त गर्दै १० महिनापछि जिदानलाई क्लबमा फर्काउन सफल भएको हो । जिदानले १० महिना अघि एकाएक आफ्नो पद त्यागेका थिए ।
जिदानले क्लबसँग सन् २०२२ सम्म सम्झौता गरेको हो ।

क्लबले जोसे मौरिन्हो र मौरिसियो पोचेटिन्होसँग प्रक्रिया अघि बढाएपनि आफ्ना पुर्व खेलाडी तथा प्रशिक्षक जिदानलाई ल्याउन सफल भएको हो ।
जिदान सन् २०१६ मा क्लबको मुख्य प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षण कार्यकाला रियलले युरोपेली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि जितेको थियो ।

‘एल क्लासिको’ मा लगातार हार र च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा आयाक्ससँग आफ्नै मैदानमा ४–१ ले पराजित हुदै बाहिरिएपछि क्लबले नयाँ विकल्प सोचेको थियो ।
सोलारी जुलियन लोपेटेगुईको स्थानमा चार महिनाअघि अन्तरिम प्रशिक्षकको रुपमा रियलमा आएका थिए । उनले सुरुवाती समयमा राम्रो प्रदर्शन गरेपछि २०२१ सम्म क्लबले सम्झौता गरेको थियो । जिदानले क्लब छाडेसँगै क्लबले स्पेनका जुलियन लोपेटोगुईलाई प्रशिक्षक बनाएको थियो ।
क्लबमा फर्किएसँगै फ्रान्सका पुर्व खेलाडी जिदानले क्लबमा फर्कनुमा क्लबको मायाले भएको बताएका छन् । ‘आजको यो दिन सबैका लागि विशेष दिन हो । आफ्नो पुर्व क्लबमा फर्कन पाउदा खुशी छु । मैले भन्नु केही छैन । म खुशी छु । मड्रिड फर्किएको छु । क्लबलाई पुरानै लयमा फर्काउने प्रयास हुनेछ ।’ जिदानले भने ।
जिदानको प्रशिक्षणमा रियलले ९ उपाधि हात पारेको थियो । जसमा ३ च्याम्पियन्स लिग, एक ला लिगा, एक सुपर कोपा, दुई युइएफए सुपर कप र दुई फिफा क्लब विश्वकप रहेका छन् ।