लन्डन (एजेन्सी)– जिनेदिन जिदानलाई रियल म्याड्रिडले दोस्रो पटक प्रशिक्षक नियुक्त गर्नुलाई पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होले सहि निर्णय भनेका छन् । म्यानचेस्टर युनाइटेडबाट गत वर्षको अन्त्यमा बर्खास्त भएका माउरिन्हो पनि रियल फर्कने चर्चा चलेको थियो । त्यसबीचमा उनको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग छलफल भएको बताइएको थियो ।

तर, स्पेनको चर्चित र सफल क्लब रियलकै महत्वपूर्ण केहि व्यक्तिहरु भने माउरिन्होको विपक्षमा रहेका थिए । त्यसमध्ये टोलीका कप्तान सर्जियो रामोस एक हुन् । यसबीचमा रियललले जिदानलाई पुनः आफ्नो प्रशिक्षक नियुक्त गरेपछि तत्कालका लागि माउरिन्होको सम्भावना सकिएको छ ।
‘जिदान रियलका लागि सहि प्रशिक्षक हुन् । उनका लागि पुन एक पटक आफुलाई प्रमाणित गर्ने महत्वपूर्ण मौका हो,’ जिदानको पुनरागमनका विषयमा माउरिन्होले भने,‘ रियलको नयाँ योजनाका लागि उनी सहि छनोट हुन् । पछिल्ला केहि वर्षमा उनले दिलाएको सफलताका आधारमा प्रशिक्षकका लागि उनी सहि व्यक्ति हुन् ।’
रियलमा जाने अवसरबाट बञ्जित भएका विषयमा माउरिन्होले भने,‘ मैले कहिल्यै पनि म जान चाहन्छु वा चाहन्न भनेको थिइन । मैले यति भनेको थिए जिदान रियलका लागि सहि व्यक्ति हुन् ।’ रियलले किन प्रशिक्षक नियुक्त गर्न सकेन भन्ने विषयमा स्पष्टिकरण दिन चाहेमा के होला भन्ने विषयमा उनको जवाफ थियो, ‘रियलले मलाई किन स्पष्टिकरण दिनु पर्यो र ?’