एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडको ह्याट्रिकमा चेल्सीले बिहीबार युरोपा लिगअन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा डिनामो किएभविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ । यससँगै चेल्सी समग्रमा ८-० ले विजयी रहयो ।

खेलको पाँचौ मिनेटमा नै जिरुडले विलियनको कर्नरको सदुपयोग गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मार्कोस अलोंसोको क्रसमा गोल गर्दै जिरुडले चेल्सीको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिम मिनेटमा क्यालम हड्सन ओडोईको पासमा अलोन्सोले गोल गर्दै ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा किएभका कप्तान सेर्ही सिड्रोचुकले पोस्टमा प्रहार गर्दा पाहुना टोली सान्त्वना गोल पाउनबाट चुकेको थियो । जिरुडले विलियनकै कर्नरमा हेडरमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । उनको यस प्रतियोगितामा नवौं गोल पनि थियो । चेल्सीका लागि ७८ औं मिनेटमा हड्सन ओडोईले उत्कृष्ट गोल गर्दै जित सुनिश्चित पारे ।
यस जितसँगै चेल्सीले युरोपमा दर्ता गरेको दोस्रो ठूलो जित हो । यसअघि सन् १९७१-७२ मा चेल्सीले जयून्स हुतचारजलाई २१-० को अन्तरले पराजित गरेको थियो । चेल्सीले अब प्रिमियर लिगमा आइतबार एभरटनको सामना गर्नेछ ।