एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा फर्किएको छ । सिटीले घरेलु मैदानमा कार्डिफ सिटीमाथि २–० को सहज जित निकाल्दै पुनः शीर्षस्थानमा फर्किएको हो ।

दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । सिटीका केभिन डि ब्रुयन र लिरोए सानेले गोल गरे ।
एमेरिक लापोर्टाेको पासमा डि ब्रुयनले गोल गरेपछि सिटी खेलको छैटौ मिनेटमै अघि बढेको थियो ।
४४औं मिनेटमा गाब्रियल जेससको पासमा लिरोए सानेले गोल गरेपछि सिटी पहिलो हाफमै २–० ले अघि बढेको थियो ।
दोस्रो हाफमा सिटीले गोलका मौका खेर फालेपनि पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै सिटीले लिभरपुलसँग १ अंकको अग्रता बनाएको छ । सिटीको ३२ खेलबाट ८० अंक पुगेको छ । समान खेलबाटै लिभरपुलको ७९ अंक छ । कार्डिफ २८ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ ।