एजेन्सी – एसियाली फुटबल महासंघ (एएफसी) को अध्यक्ष पदमा बहराइनका शेख सलमान बिन खालिफा निर्विरोध निर्वाचित भएका छन् । अघिल्लो पटक पनि अध्यक्ष रहेका सलमान शनिबार कंग्रेसमा अन्य प्रतिद्वन्द्वीले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा पुन: निर्वाचित भएका हुन् ।

सलमान आफू भने एएफसी कंग्रेसमा उपस्थित छैनन् । सलमान आफ्नो आमाको निधनका कारण सभामा उपस्थिति नभएका हुन् । अन्य प्रतिद्वन्द्वीले उम्मेदवारी फिर्ता लिएपछि चुनाव नहुँदै उनी अध्यक्षमा निर्विरोध रहे । अध्यक्षमा कतारका साउद अजिज मोहनादी र यूएईका मोहमद खलाफा मतार सइद अल्रोमैथिले उम्मेदवारी दिएर फिर्ता लिएका हुन् । सलमानले अब सन् २०१९-२०२३ सम्म एएफसीको अध्यक्षता सम्हाल्नेछन् ।
कंग्रेसमा उपस्थित रहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सलमानलाई अध्यक्षमा पुन: निर्वाचित भएकोमा बधाई दिए । ‘यो नतिजाले फुटबलमा ऐक्यवद्धता रहेको देखाउँछ । यसले एसियालाई अगाडी बढाउन मदत पुग्ने मैले आशा राखेको छु,’ उनले भने ।
सन् २०१३ मा बिन हमाम भ्रष्टाचार आरोपमा परेपछि बाँकी रहेको २ वर्ष सलमानले अध्यक्षता गरेका थिए । त्यसपछि सन् २०१५ मा निर्विरोध रहेका उनले यसपटक पनि चुनावमा लड्नु परेन । एएफसीको अन्य पदका लागि भने आज निर्वाचन हुँदैछ ।