एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटका कारण विश्राम लिने भएका छन् ।

स्पेनिस ला लिगाअन्तर्गत सोमबार हुने लेगानेसविरुद्ध खेलका लागि उनी उपलब्ध हुने छैनन् । रामोसले बायाँ खुट्टामा चोट बोकेपछि विश्राम लिने भएका हुन् । उनको चोटको गम्भीरता भने केहि दिनमा नै थाहा हुनेछ । रामोसले एस्पान्योलविरुद्ध खेलमा चोट बोकेका थिए ।
प्रारम्भिक जाँचका अनुसार उनले २ सातासम्म विश्राम लिनुपर्ने देखिएको छ । यसअघि ग्यारेथ बेलले जनवरीमा यसै किसिमको चोट बोक्दा उनले ३ साता विश्राम लिएका थिए । ३३ वर्षीय रामोसले यसअघि एइबारविरूद खेल पनि गुमाएका थिए ।
लिग उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको रियल च्याम्पियन्स लिगबाट पनि बाहिरिसकेको छ । यस्तो अवस्थामा रियलका प्रशिक्षक जिदानले रामोसलाई विश्राम दिँदै अन्य खेलाडीको प्रदर्शन हेरेर अर्को सिजनको लागि तयारी थाल्नेछन् ।