सुर्खेत (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले आफ्नो प्रदेश ६ को फुटबल टोलीलाई खेल सामाग्री सहयोग गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहितले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलमा भाग लिने प्रदेश ६ को टोलीका लागि जिल्ला फुटबल संघलाई समान हस्तान्तरण गरेका हुन् ।

रोहितकातर्फबाट उनका दाजु रविन्द्र चन्दले सोमबार सामाग्री सुर्खेत जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष प्रमोद हमाललाई हस्तान्तरण गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीका उत्पादन रोहित सुर्खेतका स्थायी बासिन्दा हुन् ।
रविन्द्रका अनुसार प्रदेश टोलीका खेलाडीका लागि जर्सी, बुट, कोन, फुटबललगायत सामाग्री हस्तान्तरण गरिएको थियो । जसमा फुटबल २५ थान, बिब्स, ५० थान, जर्सी ४० थान, कोन ५० थान, फुटबल बुट ३० थान रहेका छन् । सबै सामग्रीको मूल्य झन्डै १ लाख रुपैयाँ बराबरको रहेको छ ।