एजेन्सी – रियल म्याड्रिडका पूर्व खेलाडी इम्यानुएल आडेबायोरले आफू रियल म्याड्रिडमा रहँदा क्रिस्टियानो रोनाल्डो र जोसे मोउरिन्होबीच भएको एक घटना खुलाएका छन् ।

आडेबायोर सन् २०११ मा लोनमा रियल म्याड्रिड पुगेका थिए । रियलबाट कोपा डेल रे उपाधि जितेका आडेबायोरले आफू रियल छँदाको एक अनुभव सुनाए । उनले रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक मोउरिन्होले ह्याट्रिक प्रहार गरेका रोनाल्डोलाई गालि गर्दा आफू अचम्मित भएको बताए । मोउरिन्होले सधैं आफ्नो खेलाडीबाट धेरै अपेक्षा गर्ने गरेको उनको बुझाइ थियो ।
‘ हामी पहिलो हाफमा ३-० ले अगाडी थियौं र रोनाल्डोले ह्याट्रिक पुरा गरेका थिए । तर मोउरिन्होले रोनाल्डोलाई नराम्रोसँग गालि गरे । उनले ड्रेसिङ रुम प्रवेश गर्नेबितिक्कै फ्रिजमा लात हाने र पानीको बोतल ढलाउँदै हामीलाई गालि गरे,’ उनले भने ।
आडेबायोरले आफ्नो करिअरमा आर्सनलबाट पनि खेलेका थिए । उनले त्यस समय आर्सेन वेंगरको प्रशिक्षणमा खेलेका थिए । उनले दुई प्रशिक्षकमा धेरै भिन्नता रहेको बताए । ‘वेंगर निकै शालीन थिए । एकदिन आर्सनल पहिलो हाफमा २-१ ले हारिरहेको थियो । वेंगरले टोलीले राम्रो खेलेको र बल पोसेसन पनि राखेको बताए । तर हेनरीले टोली हारिरहेका कारण त्यो मतलब नहुने भन्दै जवाफ फर्काए,’ उनले स्मरण गरे ।