एजेन्सी – नर्विच सिटी र सेफिल्ड युनाइटेड इंग्ल्यान्डको शीर्ष डिभिजन इंग्लिस प्रिमियर लिगमा बढुवा भएका छन् ।

इंग्ल्यान्डको दोस्रो डिभिजनको च्याम्पियनसिपको शीर्ष दुई स्थानमा रहँदै नर्विच र सेफिल्ड प्रिमियर लिगमा बढुवा हुन सफल भएका हुन्। दुवै टोलीले समान १ खेल खेल्न बाँकी छ । नर्विच सन् २०१६ पछि तथा सेफिल्डले २००७ पछि प्रिमियर लिगमा पुनरागमन गरेको हो ।
नर्विचले घरेलु मैदानमा ब्ल्याकबर्न रोभर्सलाई २–१ ले पराजित गर्दै प्रिमियर लिगमा स्थान सुरक्षित गरेको हो । नर्विचको जितमा मार्काे स्टेपरमान र मारियो भ्रान्सिसले गोल गरे । ब्ल्याकबर्नका लेविस ट्राभिसले एक गोल फर्काए ।

जितसँगै नर्विच ४५ खेलबाट ९१ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको सेफिल्डको समान खेलबाटै ८८ अंक रहेको छ । शनिबार राति नै भएको अर्काे खेलमा सेफिल्डले इप्सविचलाई २–० ले पराजित गर्दै प्रिमियर लिगमा स्थान सुरक्षित गर्न सफल भयो ।
अब लिड्स युनाइटेड, वेस्टब्रोम अल्वियोन, एस्टन भिल्ला र डर्वी काउन्टी मध्येको एक टोलीले प्रिमियर लिगमा स्थान बनाउनेछ । यी चार टोलीले प्लेअफ खेल्दै प्रिमियर लिगको लागि प्रतिस्पर्धा गर्नेछन् ।