default_image

5 years ago

July 11, 2019

फुटबलमा विदेशी खेलाडी – विकल्प, आवश्यकता र विकृति

सुबास हुमागाईं, काठमाडौं नेपाली फुटबलमा पछिल्लो समय विदेशी खेलाडीको संख्या बढ्दो छ । मोफसलमा हुने राष्ट्रियस्तरका प्रतियोगितादेखि स्थानीय साना प्रतियोगितामा पनि विदेशी खेलाडी देखिन थालेका छन् । यीमध्य अधिकांश खेलाडी गैरकानुनी रुपमा नेपालमा रहेर खेल्दै आएका छन् । कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता रुपमा रहे । तर नेपाली […]

39 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली फुटबलमा पछिल्लो समय विदेशी खेलाडीको संख्या बढ्दो छ । मोफसलमा हुने राष्ट्रियस्तरका प्रतियोगितादेखि स्थानीय साना प्रतियोगितामा पनि विदेशी खेलाडी देखिन थालेका छन् । यीमध्य अधिकांश खेलाडी गैरकानुनी रुपमा नेपालमा रहेर खेल्दै आएका छन् । कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता रुपमा रहे । तर नेपाली फुटबलको सर्वोच्च नियमनकारी निकाय एन्फा कमजोर बन्दा अहिले देशभर विदेशी खेलाडीको विकृति नै छाएको छ ।

नेपाली फुटबलमा विदेशी खेलाडीको प्रवेश लामो समयअघि भएको हो । विसं २०१० को दशकमा नर शमशेरले कोलकाताबाट भारतीय खेलाडी ल्याएर खेलाउने गर्दथे । त्यसबेला केहि खेलका लागि आउने भारतीय खेलाडी क्लबसँग अनुबन्धित नभएर प्रति खेल खेलेवापत नगद बुझ्थे । फुटबल संस्थागत रुपमा अगाडी नबढेको अवस्थामा लिग फुटबल खेल्नका लागि क्लबहरुले विदेशी खेलाडीतर्फ ध्यान दिने कुरै भएन ।

न्यू रोड टिम (एनआरटी) ले ३० को दशकमा जर्मन खेलाडीलाई टोलीमा समेट्यो । त्यसबेला ट्रान्सफर विन्डो र अन्तर्राष्ट्रिय ट्रान्सफर सर्टिफिकेट (आईटीसी) लगायत कागजपत्र आवश्यक नपर्ने हुनाले प्रक्रिया सहज पनि थियो । ४० को दशकमा भारतीय स्टार श्याम थापालगायतका खेलाडीले ब्वाइज युनियनबाट खेले । भुटानका खरे बस्नेतले पनि नेपाल दर्शकमाझ राम्रो प्रभाव जमाए ।

त्यसयता क्लबहरुले आक्कल झुक्कल दक्षिण एसियाका खेलाडी ल्याउँदै खेलाइरहे । २०५४ सालमा थ्री स्टारले लिग उपाधि जित्दा भुटानका क्रिस्पिन क्षेत्री र जितेन राई टोलीका महत्त्वपूर्ण खेलाडी रहेका थिए । लिग फुटबल नियमित नहुँदा पनि विदेशी खेलाडीको आकर्षण टिक्न सकेन ।

२०५७ मा काठमाडौं क्लबले स्वयंसेवक प्रशिक्षकको रुपमा सम्झौता नै गरेर अर्जेन्टिनाका रोडोल्फो टोरेसलाई प्रशिक्षकका रुपमा टोलीमा ल्यायो । ६० सालमा त्यसै क्लबले केनेथ विलियम्स र ६१ सालमा अमेरिकी गोलरक्षक वालेस ज्याक्सनलाई अनुबन्ध गर्यो । यसबेला भने क्लबले आईटीसी माग गरेर राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ (एन्फा) बाट स्वीकृति लिएर मात्र खेलाडी दर्ता गरेको थियो । यसरि खेलाडी र क्लबबीच सम्झौता गरेर, राखेप र एन्फासमक्ष सम्झौता पत्र प्रस्तुत गरेर स्वीकृति लिएको पहिलो पटक नै थियो ।

२०६९ सालको लिग उपाधि जितेपछि आदेवुमी फेमी, भिक्टर (तल) र इब्राहिम व्यवस्थापक राम श्रेष्ठसंग

त्यसपछि एन्फा र राखेपबाट नियमन गरेर खेलाडी अनुबन्ध प्रक्रिया सुरु भएपछि नेपालमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्लब पनि बढ्न थाले । लिग फुटबल नियमित हुन थालेपछि अफ्रिकी खेलाडीको संख्या बढ्दै गयो । कम पैसामा राम्रा खेलाडी आउने भएपछि क्लबहरुले त्यसतर्फ ध्यान दिन थाले । विशेषगरी फरवार्ड र डिफेन्समा क्लबहरुले अफ्रिकी मुलका खेलाडीलाई अनुबन्ध गर्न थाले ।

नेपाली फुटबलमा अफ्रिकी खेलाडीको रुपमा प्रभाव जमाउने खेलाडी ओबागबेमिरो जुनियर थिए । ब्रिगेड ब्वाइजले २०६२ सालको लिगमा नाइजेरियाका २१ वर्षीय फरवार्डलाई टोलीमा सामेल गरेको थियो । उनले २७ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ता पनि बने । ब्रिगेड ब्वाइजले लिगमा नवौं स्थान हासिल गरेपनि त्यसले अफ्रिकी खेलाडीको प्रभावलाई भने राम्रो बढावा दियो ।

त्यसपछि विभागीय टोलीबाहेक सबै ए डिभिजन क्लबले विदेशी खेलाडी टोलीमा समावेश गर्न थाले । एन्फाले हरेक टोलीले अधिकतम ४ विदेशी खेलाडी टोलीमा राख्न पाउने नियम नै बनायो । विशेषगरी अफ्रिकी देश नाइजेरिया र क्यामरुनका खेलाडीले नेपाली फुटबलमा प्रभुत्व जमाए । लगभग सबै क्लबले एक डिफेन्डर र एक फरवार्डका रुपमा विदेशी खेलाडी राख्न थाले ।

भिक्टर सन् २०१३ मा थ्री स्टारबाट खेल्दै (बायाँ) सन् २०१८ मा सरस्वतीबाट थ्री स्टारविरुद्ध (दायाँ)

अन्य क्लबले विदेशी खेलाडी राखेपनि नेपाल पुलिस क्लबले २०६३, २०६७ र २०६८ मा लगातार तीनपटक लिग उपाधि जित्यो । यसक्रममा थ्री स्टार, मनाङ मर्स्याङ्दी, एनआरटी लगायत क्लबले विदेशी खेलाडी ल्याएपनि पुलिसलाई पछार्न सकेनन् । पुलिसले २०६६/६७ सालमा अपराजित रहँदै लिग जित्यो भने २०६८ सालको लिगमा अन्तिम खेलमा पराजित हुँदै लगातार दोस्रोपटक अपराजित रहेर लिग जित्ने इतिहास लेख्न सकेन । यसक्रममा पुलिसले ३७ जित र १२ बराबरीसहित ४९ खेलको अपराजित यात्रा पनि तय गर्यो ।

यसक्रममा विदेशी खेलाडीका रुपमा केहि राम्रा खेलाडी पनि आए । मछिन्द्रले २०६९ सालको लिगमा ब्राजिलियन मिडफिल्डर ड्यानीएल बारोनीलाई भित्र्यायो । उत्कृष्ट खेल कौशल भएका बारोनीले १६ खेलमा ७ गोल गरे । नेपालको मैदानको स्तर नाजुक रहेको भन्दै उनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न नसकेको पनि बताए । इन्डोनेसियाको लिगबाट नेपाल पसेका बारोनी एक सिजन मछिन्द्रमा बसेर अर्को सिजन ब्राजिलियन क्लब क्रुजेरियो पुगे ।

इजी कोलिन्स र ड्यानीएल बारोनी (तस्बिर: मछिन्द्र क्लब)

६० को दशकमा नेपाली फुटबलले थुप्रै स्तरीय विदेशी खेलाडीको साथ पायो । मिडफिल्डर कास्टर डोनाल्ड मुम्बाराले थ्री स्टार, मनाङ र शेर्पाबाट गरेर झन्डै ५ वर्ष नेपाली फुटबलमा बिताए । फ्रान्सका जोसेलिन मोर्गनले पनि एक सिजन थ्री स्टारबाट खेले । संकटाबाट झन्डै २ सिजन खेलेका क्यामरुनका गोलरक्षक पिएर हर्भले पनि राम्रो छाप बसाए । आइभोरी कोस्टबाट आएका भेट्रान डिफेन्डर जम्बो थिएरी पनि मनाङ समर्थकका माझ प्रिय रहे ।

सरस्वतीबाट करिअर सुरुवात गरेका फरवार्ड योना इलियासले दुई सिजनपछि मनाङबाट खेलाडी लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । डेनमार्कका शायान मोसाभीले न्यू रोड टिम (एनआरटी) बाट खेल्दै अर्को सिजन मनाङको यात्रा तय गरे । अधिकांश अफ्रिकी मुलका खेलाडी नेपाली लिगलाई भारतीय लिगको बाटो बनाउन नेपाल पस्ने गरेका थिए । यसक्रममा केहि खेलाडी सफल पनि भए । मछिन्द्रबाट नै खेलेका फरवार्ड इजी कोलिन्स कोलकाताको जर्ज टेलीग्राफमा अनुबन्धित भए ।

फ्रेन्ड्सबाट लेफ्ट ब्याक पोजिसनमा खेल्दै नेपाली फुटबलमा पसेका लिओन्स डोडोजको यात्रा आश्चर्यजनक रहयो । फ्रेन्ड्समा पहिलो सिजन नै लेफ्ट ब्याक हुँदै लेफ्ट विंगर बनेका डोडोजले अर्को सिजन नै थ्री स्टार क्लबसँग सम्झौता गरे । थ्री स्टारमा झन्डै २ सिजन खेलेपछि उनले मनाङको जर्सीमा पनि एक सिजन बिताए । त्यसपछि भारतको गान्तोक हिमालयन फुटबल क्लब पुगेका उनी अहिले आई-लिगको आइज्वल फुटबल क्लबबाट खेलिरहेका छन् ।

जिकाही डोडोज

नेपाली फुटबलमा थ्री स्टार, मनाङ, फ्रेन्ड्स र सरस्वतिबाट खेलिसकेका भिक्टर अमोबीले पनि आई-लिगको मिनेर्भा पन्जाबबाट एक सिजन खेले । यसबाहेक भुटानी लिगमा पनि पछिल्लो समय नेपालमा खेलेका विदेशी खेलाडीले मौका पाएका छन् । गत सिजन डिफेन्डर फ्लोरेन्टले भुटानी लिग खेलेर फर्केपछि च्यासलबाट ए डिभिजन खेले । डिफेन्डर पिटर सेगुन झन्डै १ दशकदेखि फ्रेन्ड्स, मनाङहुँदै थ्री स्टारबाट खेलिरहेका छन् ।

हालसालै मनाङ फर्किएका फरवार्ड ओलाडिपो आफिज र डिफेन्डर साइद अजिजको यात्राले पनि नेपाली फुटबलमा विदेशी खेलाडीको स्थिति प्रतिविम्बित गर्छ । आफिजले रानीपोखरी कर्नर टिम (आरसीटी) बाट खेल्दै आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि थ्री स्टार पुगेका उनले त्यहाँ रहेर राष्ट्रिय लिग उपाधि जिते । अर्को सिजन मनाङ पुगेका उनले त्यसपछि बंगलादेशको चितगोङ अबहानी पुगे । लगत्तै बंगलादेशकै रहमतगन्ज पुगेका आफिज यसै सिजन मनाङ फर्केर लिग उपाधि दिलाउन सफल रहे । अजिजले पनि पछिल्लोपटक नेपाल आउँदा एनआरटी र मनाङबाट खेले । त्यसपछि एसियाकै अन्य राष्ट्रमा खेलेका अजिज एएफसी कप खेल्न भने मनाङसँग जोडीए ।

नेपाली फुटबललाई लामो समयदेखि नजिकबाट नियालेका एन्फाका लिग निर्देशक संजिव मिश्रका अनुसार विदेशी खेलाडी अहिले नेपाली क्लबहरुको आवश्यकता बनिसकेको छ । ‘विदेशी खेलाडीबिना अहिले क्लबहरुले प्रतिस्पर्धा गर्न गाह्रो छ । विदेशी खेलाडी नेपालीको तुलनामा शारीरिक रुपमा निपुण हुने कारण पनि अधिकांश टोलीले डिफेन्स र फरवार्ड अनुबन्ध गर्न खोज्छन् । यसले नेपाली खेलाडीमै पनि हौसला प्रदान हुन्छ,’ उनले भने । मिश्रका अनुसार विदेशी खेलाडी संलग्न हुँदा समग्र लिग र नेपाली खेलाडीकै स्तर माथि पुग्छ ।

मनाङबाट खेल्दै ओलावाले आफिज

मछिन्द्रमा ब्राजिलियन मिडफिल्डर ड्यानीएललाई ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका नवीन चित्रकार कुनै समय मछिन्द्रको क्लब व्यवस्थापनमा पनि थिए । उनले रोहित चन्दको भारत र इन्डोनेसिया यात्रामा पनि समन्वयकारी भूमिका खेलेका थिए । पछिल्लो समय नेपाली फुटबल नियमित नहुँदा स्तरीय विदेशी खेलाडीको आगमन घटेको नवीन स्वीकार्छन् ।

‘ विदेशी खेलाडीको आकर्षण घटेको त भन्न मिल्दैन तर स्तरीय खेलाडी भने नेपालमा सहजै आउँदैनन् । नेपालको लिग नियमित छैन अनि राम्रा खेलाडीले पैसा पनि राम्रो नै माग गर्छन् । अहिले पनि मलाई उज्बेकिस्तान, किर्गिस्तान लगायत देशबाट स्तरीय खेलाडीले क्लब खोज्न भन्छन्, तर हाम्रो क्लबहरुले त्यसैअनुसार तलब दिन अवस्था कठिन छ । लिग नियमित नहुनाले पनि खेलाडीहरु त्यति आकर्षित हुँदैनन् ,’ राजधानीमा झन्डै २ दशकयता कार्गो व्यवसायमा संलग्न चित्रकारले भने ।

राष्ट्रिय टोलीका कप्तान विराज महर्जन विदेशी खेलाडीको आगमनले नेपाली फुटबललाई सहयोग पुग्ने विश्वास राख्छन् । ‘विदेशी खेलाडीसँग खेल्दा हामीलाई नै सहज हुने हो । अन्तर्राष्ट्रिय खेलमा यसले निकै सघाउ पुग्छ । तर विदेशी खेलाडी नाममात्रको हुनु भएन । तलब नेपालीभन्दा बढी लिएपछि खेलको स्तर पनि त्यसै हुनुपर्यो । यसपटक विदेशी खेलाडीको स्तर पछिल्लो लिगहरु जस्तो थिएन,’ लिग च्याम्पियन मनाङका समेत कप्तान रहेका विराजले भने ।

लिग च्याम्पियन मनाङले अफ्रिकन मुलका तीन खेलाडी अनुबन्ध गरेको थियो

गत सिजन ए डिभिजन लिगमा सहभागी १४ क्लबमा ३ विभागीय टोलीबाहेक सबै टोलीले विदेशी खेलाडी राखेका थिए । रेलिगेसन नहुने भएपछि क्लबहरुले सुरुवातदेखि नै विदेशी खेलाडी राख्न चाहेनन् । तर नेपालमा लिग सुरु भएसँगै विदेशी खेलाडी भटाभट नेपाल आएपछि क्लबको मागभन्दा खेलाडी संख्या धेरै भयो । नतिजा अधिकांश विदेशी खेलाडी क्लबविहिन भए ।

केहि क्लबले विदेशी खेलाडीलाई श्रम स्वीकृति र नेपालमा भिसा मिति बढाउने सर्तमा पनि लिगका केहि खेल खेल्नेगरि अनुबन्धन गरे । क्लबले न्युनतम पारिश्रमिकमा खेलाडीलाई भिसा र श्रम स्वीकृति दिने सर्तमा अनुबन्ध गर्यो । सिमित खेलाडीले प्रक्रिया पुर्याएर खेल्दा बाँकी भने अनाधिकृत रुपमा मोफसल प्रतियोगिता खेल्न थाले । यसकारण पनि विदेशी खेलाडीको विकृति बढेको छ । विकृति यो हिसाबमा कि एन्फामा दर्ता नभएका र श्रम स्वीकृति नै नभएका विदेशी खेलाडी लगातार मैदानमा उत्रिरहेका छन् । यसमा कुनै निकायले कारवाही अगाडी बढाउन सकेको छैन ।

विगतका खेलाडीसँग स्तरको तुलना गर्ने हो भने केहि विदेशी खेलाडी नेपाली खेलाडीभन्दा कमजोर थिए । कतिपय क्लबले विदेशी खेलाडी बेन्चमा राखेर नेपाली खेलाडीलाई नै प्राथमिकता राखेको पनि देखियो । मोफसलका केहि प्रतियोगितामा अनाधिकृत रुपमा सहभागिता जनाएको दाउफिन्स नामक क्लबले वर्चस्व जमाउँदा एन्फा मुकदर्शक बनिरहयो । केहि वर्षअघि अफ्रिकन युनाइटेड नाम गरेर यसैगरी विदेशी खेलाडी जम्मा गरेर खेलेको क्लबलाई एन्फाले प्रतिबन्ध लगाएको थियो ।

दाउफिन्स विरुद्ध आर्मी

लिग सकिएको झन्डै ६ महिना समय बितिसकेको छ । क्लबहरुले पनि खेलाडी सबैलाई रिलिज गरिसकेका छन् । युवा तथा खेलकुद मन्त्रालयले नै श्रम स्वीकृतिमा रोक लगाएको छ । तर अझैपनि नेपालमा हुने मोफसलका ठूला प्रतियोगितादेखि स्थानीय स्तरका प्रतियोगितामा विदेशी खेलाडी खेलेको देखिन्छ । सम्बन्धित निकायले समयमा नै यसबारे उचित कदम नचाले विदेशी खेलाडीको विकृतिले उग्र रुप लिन सक्छ । यस्ता समस्याले भविष्यमा क्लबहरुले आफूले चाहेको स्तरीय खेलाडी अनुबन्धमा पनि समस्या निम्तिन सक्छ ।

March 19, 2024

पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबलेआठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ। पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ।पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो । सोही समूहमा त्रिभुवन आर्मीले पहिलो जित दर्ता […]

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

Success

Thank you for your time.