एजेन्सी – अमेरिकी विंगर क्रिस्टियन पुलिसिकले ह्याट्रिक गरेसँगै इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीले बर्नलीको घरेलु मैदानमा ४-२ को जित दर्ता गरेको छ ।
पुलिसिकले खेलको २१ औं मिनेटमा सानदार गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट उनले बल जितेर त्यसै बललाई पोस्टसम्म लाग्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा उनले विलियनले मिडफिल्डमा जितेको बललाई नै गोलमा परिणत गरेका थिए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसिकले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे ।
मेसन माउन्टको क्रसलाई हेडरमार्फत गोल गर्दै उनले करीअरको पहिलो ह्याट्रिक पूरा गरे । सुरुवाती दुई गोल दायाँ र बायाँ खुट्टाले गरेका उनले तेस्रो गोल हेडरमार्फत गर्दै पर्फेक्ट ह्याट्रिक पूरा गरेका हुन् । उनी चेल्सीका लागि २१ वर्ष ३८ दिनको उमेरमा ह्याट्रिक प्रहार गर्दै यस उपलब्धि हासिल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने । उनको ह्याट्रिक पूरा भएको २ मिनेटमा नै विलियनले चेल्सीलाई ४-० को अग्रता दिलाएका थिए ।
यस जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले १० खेलमा ६ जित, २ हार र २ बराबरीसँगै २० अंक जोडेको छ । बर्नली भने १० खेलमा १२ अंकसहित ११ औं स्थानमा छ ।