एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा सिटीले लेस्टरमाथि ३–१ को पूनरागमन जित निकालेको हो ।
इतिहाद स्टेडियममा सिटीको जितमा रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे । लेस्टरका जेमी भार्डीले गरेको गोल सान्त्वना बन्यो ।
जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी ११ मा तथा दोस्रो स्थानको लेस्टरसँगको दुरी १ मा झारेको छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ । सिटीको ३८, लेस्टरको ३९ तथा लिभरपुलको ४८ अंक रहेको छ ।
लिभरपुल शनिबार राति मात्रै फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको थियो । क्लब विश्वकपका कारण वेस्ट ह्याम युनाइटेडसँगको खेल स्थगित भएको थियो ।
जेमी भार्डीको गोलबाट २२औं मिनेटमा लेस्टरले खेलमा अग्रता लिएको थियो । लेस्टरकै पुर्व स्टार रियाद महारेजले ३०औ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए । ४३औं मिनेटमा इकेए गुन्डोगानले पेनाल्टीमा गोल गरेपछि घरेलु टोली सिटीले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।
६९औं मिनेटमा केभिन डि ब्रुयनको पासमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई ३–१ पूनरागमन जित दिलाए ।
अन्य नतिजा
एभर्टनविरुद्ध आर्सनल (०–०)
बर्नमाउथविरुद्ध बर्नली (०–१)
एएस्टन भिल्ला विरुद्ध साउथह्याम्टन (१–३)
ब्राइटनविरुद्ध सेफिल्ड (०–१)
न्यु क्यासलविरुद्ध क्रिस्टल प्यालेस (१–०)
नर्विचविरुद्ध वल्भ्स (१–२)