एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेल हुँदैछ । साविकको विजेता इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्दैछ । फ्रेन्च क्लब पीएसजीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।
साविक विजेता लिभरपुललाई क्वाटरफाइनल प्रवेश गर्न जितबाहेकको विकल्प छैन । त्यसैले एनफिल्डमा लिभरपुल पुनरागमन जितसहित क्वाटरफाइनलमा पुग्ने दाउमा हुनेछ । पहिलो लेगमा १–० ले पछि परेको लिभरपुललाई अर्को चरणमा पुग्न जित्नै पर्ने दबाब छ । पछिल्लो पाँच खेलमा लिभरपुलको प्रदर्शन कमजोर रहेको छ । पछिल्लो ६ खेलमा ३ हार र ३ जितको नतिजा निकालेको लिभरपुल एट्लेटिकोलाई पराजित गर्दै जितको लयमा फर्कन चहान्छ ।
लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिनो, जोर्डन हेन्डरसन, फाविन्हो, वाइनाल्डम, भर्जिल भान डाइक र एन्ड्रिउ रोवर्टसनजस्ता खेलाडीको साथ रहेको छ । चोटका कारण पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर टोलीमा हुने छैनन् । लिभरपुलले अघिल्लो सिजन सेमिफाइनलमा बार्सिलोनासँग पहिलो लेगमा ३–० ले पछि परेको स्थिति उल्ट्याएर दोस्रो लेगमा ४–० को पुनरागमन जित निकालेको थियो । त्यही पुनरागमन जितको लक्ष्यमा लिभरपुल रहनेछ ।
यता, साविक विजेता लिभरपुललाई पराजित गर्दै एट्लेटिको क्वाटरफाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ । एट्लेटिकोलाई अघिल्लो चरण प्रवेश गर्न बराबरी नै पर्याप्त हुनेछ । एट्लेटिकोसँग युवा फरवार्ड जोआओ फेलिक्ससँग अल्भेरो मोराटाको जोडी आक्रमणमा हुनेछ । साउल निग्वेज, कोके, थोमस पार्टे, एन्जल कोरेआ र किरियन ट्रिपिएरको साथ एट्लेटिकोले पाउनेछ । फरवार्ड डिएगो कोस्टाले चोटका कारण खेल गुमाउनेछन् ।