6 years ago
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाका कारण मारमा परेका फुटबलसँग समबन्धित संस्था र व्यक्तिलाई राहत प्रदान गर्न झन्डै १ करोड रुपैयाँ भन्दा बढीको बजेट तयार पारेको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधर
कोरोना संक्रमणलाई रोक्न सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेका कारण उत्पन्न कठिन परिस्थितिले फुटबलसँग सम्बन्धित राष्ट्रिय खेलाडी, रेफ्री, प्रशिक्षक, कर्मचारी, जिल्ला तथा क्लबहरुलाई राहत दिने निर्णय गरेको हो । एन्फाले विभिन्न क्षेत्रलाई समेटेर पारेको अनुमानित बजेटमा आवश्यकताअनुसार हेरफेर हुन सक्ने संघका महासचिव इन्द्रमान तुलाधरले बताएका छन् ।
राहतको सिफारिसका लागि एन्फाले केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ संयोजक रुपेश अधिकारी र उत्तमराज भण्डारी सदस्य रहेको राहत वितरण समिति गठन गरेको थियो । समितिले अध्ययन गरेर गरेको सिफारिसका आधारमा एन्फाको सोमबार बसेको अनलाइन कार्यसमिति बैठकले राहत रकम अनुमोदन गरेको थियो ।
एन्फाले आफुमातहतका सम्बन्धित सबैलाई गरि १ करोड २० लाख रुपैयाँ भन्दा बढी राहत बाढ्न लागेको हो । फिफाबाट स्वीकृत भएपछि मात्र राहत उपलब्ध गराइने एन्फाका महासचिव तुलाधरले जानकारी दिए । यद्यपि प्रस्ताव गरिएको बजेट अनुसार विभिन्न क्षेत्रका संस्थाले आवश्यक नपरेको कारण राहत नलिने र कुनै क्षेत्रमा भने अति प्रभावित भएका कारण बजेट थप गर्नुपर्ने अवस्था आउन सक्छ । यसका लागि संघले विस्तृत जानकारी लिएपछि बजेट मिलान गर्न सकिने तुलाधरले बताएका छन् ।
‘हामीले अहिले सबै क्षेत्रलाई समेटेर बजेट अनुमानित बनाएका हौँ । यसले सबै क्षेत्र समेटिने आशा हामीले गरेका छौँ । तर यो नै अन्तिम विन्दु भने होइन, आवश्यकता अनुसार शीर्षक अनुसार बजेट फरक पनि हुन सक्छ,’ उनले भने,’ केहि जिल्ला र क्लबहरुले राहतको आवश्यकता नरहेको जानकारी दिएका छन् । त्यसबाट बचेको रकम अर्को क्षेत्रमा खर्च गर्न सकिनेछ ।’ तुलाधरले फिफाकै सल्लाहमा १ लाख अमेरिकी डलरको आसपासमा राहत उपलब्ध गराउन लागिएको बताए ।

एन्फाले आफु मातहतका ४८ जिल्ला, ए डिभजनका १४ क्लब, बी डिभिजनका १२ क्लब र सी डिभिजनका १४ क्लबलाई समान ७५ हजारको दरले राहत उपलब्ध गराउने तयारी गरेको छ । तुलाधरका अनुसार केहि ए डिभिजन क्लब र जिल्लाले कोरोनाले प्रभावित नभएकाले रकम नलिने जानकारी दिइसकेको बताए ।
एन्फाका ४ सदस्य समिति (प्रशिक्षक, खेलाडी, महिला र रेफ्री) लाई पनि समान रुपमा राहत वितरण गरिनेछ । त्यस्तै एन्फाबाट स्वीकृति मोफसलमा सञ्चालन गर्ने फुटबल प्रतियोगिता आयोजक क्लबलाई प्रति क्लब ७५ हजार रुपैयाँ दिने निर्णय भएको छ । त्यस्तो क्लबको संख्या झन्डै ३० वटा रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।
‘ मोफसलका प्रतियोगिताका लागि हामीले ३० क्लबको संख्या राखेका छौं । तर सबै दावीमा हामीले विस्तृत अध्ययन गर्नेछौं । कोरोनाका कारण नै प्रतियोगितामा केहि असर परेको छ वा छैन निर्क्यौल गरेपछि मात्र राहत दिनेछौं,’ उनले भने ।
रेफ्रीहरुको हकमा भने तुलाधरले दुई तर्फबाट सहयोग गर्न लागिएको बताए । ‘ ए डिभिजन लिग खेलाउने रेफ्रीहरुलाई हामीले केन्द्रबाट नै राहत दिनेछौं । अन्य बी डिभिजन र जिल्लाका रेफ्रीहरुलाई भने रेफ्री समितिमार्फत राहत दिनेछौं । रेफ्री संघले यसअघि पनि आफैं आवश्यक परेकालाई राहत दिँदै आएको छ । समयसँगै यो संख्या बढ्ने हामीले बुझेका छौँ । प्रभावित सबैलाई हामीले विवरण माग गरेर अध्ययन थालेका छौं,’ उनले भने,’ फुटबलबाट नै जीविकोपार्जन गर्दै आएका रेफ्रीलाई सहयोग गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । अधिकांश जिल्लामा रेफ्रीलाई पार्ट-टाइमका रुपमा गर्ने धेरै छन् । त्यसैले पनि ए डिभिजन खेलाउने व्यावसायिक रेफ्रीलाई केन्द्रबाट सिधै र अन्यलाई संघमार्फत सहयोग गरिनेछ ।’

एन्फाले आफ्ना १ सय ५० कर्मचारी, शनिबारको प्रशिक्षण सञ्चालन गर्ने २४ प्रशिक्षक, ३० रेफ्री र रेफ्री एसेसरलाई जनही १० हजार रुपैयाँका दरले राहत प्रदान गरिने बताइएको छ । फिफाले स्वीकृति दिने वित्तिकै राहत वितरण सुरु हुने पनि महासचिव तुलाधरले जानकारी दिए । यसबाहेक पूर्व राष्ट्रिय खेलाडी र फुटबलसँग सम्बद्ध कोरोनाबाट प्रभावित जोकोहीले आफ्नो विवरण पेस गरेर एन्फामार्फत राहत लिन सक्नेछन् ।
‘ यो निकै कठिन परिस्थिति हो । हामीले राहत दिने भनेको आवश्यक परेकालाई हो । जसले फुटबललाई आफ्नो जिविकोपार्जन गर्ने माध्यम बनाउनुभएको छ वहाँहरुलाई कठिन नहोस । रेफ्री, खेलाडी, पूर्वखेलाडी यदि कसैलाई समस्या परेको छ भने हाम्रो संघ र अन्य समितिमार्फत विवरण पेस गर्न अनुरोध गर्दछौं,’ तुलाधरले भने ।
फिफाले कोभिड १९ कै कारण निर्धारित समय अघि नै ५ लाख अमेरिकी डलर आफ्ना सदस्य राष्ट्रलाई पठाइसकेको छ । त्यसबाहेक नेपाललाई भने गत वर्षको महिला लिगको रोकिएको रकम र यस आर्थिक वर्षको महिला लिग गरेर थप १ लाख अमेरिकी डलर समेत पठाइसकेको तुलाधरले बताए । फिफाले स्वीकृति गर्नेबितिकै अन्य शीर्षकमा आएको रकम भएपनि कोरोना राहतमा वितरण गर्न सकिनेछ ।
एन्फाले राहतको लागि तयार पारेको अनुमानित विवरण :
– ४८ जिल्ला संघ प्रति जिल्ला ७५ हजार रुपैयाँ (कुल-३६ लाख रुपैयाँ)
– ४ सदस्य समिति, प्रति समिति ७५ हजार (कुल- ३ लाख रुपैयाँ)
– १४ ए डिभिजन क्लब, प्रति क्लब ७५ हजार रुपैयाँ (कुल – १० लाख ५५ हजार रुपैयाँ)
– १२ बी डिभिजन क्लब, प्रति क्लब ७५ हजार (कुल – ९ लाख रुपैयाँ)
– १४ सी डिभिजन क्लब, प्रति क्लब ७५ हजार (कुल – १० लाख ५० हजार रुपैयाँ)
– एन्फाबाट स्वीकृति मोफसलका ३० प्रतियोगिता आयोजन समिति, प्रति क्लब ७५ हजार (कुल – २२ लाख ५० हजार रुपैयाँ)
– शनिबारिय प्रशिक्षक २४, जनही १० हजार रुपैयाँ (कुल – २ लाख ४० हजार रुपैयाँ)
– एन्फा कर्मचारी १५०, जनही १० हजार रुपैयाँ (कुल – १५ लाख रुपैयाँ)
– रेफ्री/रेफ्री एसेसर ३० जना, जनही १० हजार (कुल- ३ लाख रुपैयाँ)
– राष्ट्रिय खेलाडी महिला/पुरुष ७० जना, जनही १५ हजार रुपैयाँ (कुल – १० लाख ५० हजार रुपैयाँ)
जम्मा राहत वितरण रकम – १ करोड २२ लाख ४० हजार रुपैयाँ
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]