एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पास्कल ग्रसले पेनाल्टीमार्फत गोल गरेपछि ब्राइटनले लिभरपुलसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

यो बराबरीले लिभरपुलले टोटेनहमलाई १ अंकले पछि पार्दै कम्तीमा पनि एक दिनको लागि शीर्षस्थानमा उक्लन सफल भएको छ । यद्दपि टोटेनहमले एक खेल कम खेलेको छ । लिभरपुलको १० खेलबाट २१ अंक पुगेको छ । ९ खेलबाट टोटेनहमको २० अंक छ । पराजित ब्राइटन १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।
ब्राइटनको मैदानमा शनिबार साँझ भएको खेलमा लिभरपुलको दुई गोलले भिएआरबाट मान्यता नपाउँदा खेल बराबरीमा टुगिंएको थियो । खेलको २०औं मिनेटमा पेनाल्टी चुकाउदा ब्राइटन अग्रता लिनबाट चुकेको थियो ।
नेको विलियम्सले आरोन कोनोलीलाइ पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा निल मौपे चुके । मौपेको प्रहार पोस्टभन्दा बाहिर जाँदा खेल गोलरहित नै रहेको थियो । ३४औं मिनेटमा रोबर्टाे फिर्मिनोको पासमा मोहम्मद सलाहले गोल गरेपनि उनको गोलले भिएआरबाट अफसाइड देखिएपछि मान्यता पाएन ।

६०औं मिनेटमा पोर्चुजिग फरवार्ड डिएगो जोटाले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ८१औं मिनेटमा सोली मार्सको क्रसमा एलिरेजाले सुवर्ण अवसर खेर फाल्दा ब्राइटन बराबरीबाट चुक्यो ।
८४औं मिनेटमा साडियो मानेले गोल गरेपनि उनी अफसाइड ठहरिए । रोबर्टसनको फ्रिकिकमा मानेले गोल गरेपनि भिएआरमा उनी अफसाइड ठहरिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पास्कल ग्रसले पेनाल्टीमा गोल गर्दै लिभरपुलसँगको हार टारे । एन्ड्रिउ रोबर्टसनले पेनाल्टी बक्समा ड्यानी वेलवेकलाई फल गरेपछि भिएआरको सहयोगमा प्राप्त पेनाल्टीमा पास्कल चुकेनन् ।