default_image

3 years ago

May 19, 2021

समकालीन प्रशिक्षकमा अब्बल महर्जन

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दा काठमाडौं रेजर्सले बाल गोपाल महर्जनलाई नेपाल सुपर लिग (एनएसएल) का लागि आफ्नो टोली हेर्ने सार्वजनिक गर्यो। राष्ट्रिय टोली चैत १० गते देखि दशरथ रंगशालामा हुने थ्री नेसन्स कपको अन्तिम तयारीमा जुटिरहेको थियो । चैत ५ गते प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गर्न पत्रकार सम्मेलनमा महर्जनले […]

91 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दा काठमाडौं रेजर्सले बाल गोपाल महर्जनलाई नेपाल सुपर लिग (एनएसएल) का लागि आफ्नो टोली हेर्ने सार्वजनिक गर्यो। राष्ट्रिय टोली चैत १० गते देखि दशरथ रंगशालामा हुने थ्री नेसन्स कपको अन्तिम तयारीमा जुटिरहेको थियो । चैत ५ गते प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गर्न पत्रकार सम्मेलनमा महर्जनले प्रश्नको अइरोको सामना गर्नुपरेको थियो ।

राष्ट्रिय टोलीको प्रशिक्षक हुँदाहुँदै कुनै क्लबको जिम्मेवारी लिदा त्यसमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हावी हुन सक्ने प्रश्न उठ्नु स्वभाविक थियो । त्यति मात्र होइन सोही कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग कमिटीका संयोजक विज्ञान शर्मा, राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय पनि काठमाडौं रेजर्सकै हिस्साका रुपमा प्रस्तुत भएका थिए । महर्जनसँगै शर्मा र उपाध्यायले पनि सोही प्रश्नको सामना गर्नुपरेको थियो ।

महर्जनले पत्रकार सम्मेलनमा जवाफ दिने क्रममा भनेका थिए, ‘राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गरेपछि मात्र म काठमाडौं रेजर्सको टोली हेर्ने छु । रेजर्सको जिम्मेवारी पूरा गरेपछि फेरी राष्ट्रिय टोलीमा फर्कनेछु । यसबीचमा हाम्रो प्राविधिक टोलीले नै अन्य खेलाडीको प्रदर्शन हेर्नेछन् ।’

त्यसो गर्दा राष्ट्रिय टोलीको आफ्नो जिम्मेवारीमा कुनै असर नपर्ने महर्जनको भनाइ थियो । चैत ६ गते एनएसएलका लागि अक्सन भयो । त्यसपछि महर्जन पूरै राष्ट्रिय टोलीमा केन्द्रित भए । बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टोलीसमेतको सहभागिता रहेको थ्री नेसन्समा महर्जनले नेपाललाई च्याम्पियन बनाए । चैत १६ गते दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो। त्यसपछि उनी काठमाडौंको तयारीमा लागे ।

जेठ १ गते उनी रंगशालामा भएको एनएसएलको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं च्याम्पियन बन्यो। देशलाई उपाधि दिलाएको ४६ दिनपछि महर्जनले व्यवसायिक क्लबलाई पनि त्यस्तै सफलता दिलाए । त्यहि बीचमा कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भए । राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्स प्राप्त नै हुनुपर्ने भएपछि महर्जनको राष्ट्रिय टोलीमा फर्कने सम्भावना सकिएको थियो । थ्री नेसन्स कपपछि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को विषय पनि टुंगियो ।

सामूहिक प्रयासले दिलाएको सफलता

महर्जन खेलाडी, प्रशिक्षण टोली र व्यवस्थापनको सामुहिक प्रयासबाट नै एनएसएल जित्न सफल भएको बताउँछन् । ‘सफलता यसै मिल्दैन । त्यसका लागि हरेक पक्ष मिलेको हुनपर्दछ’, उनले भने, ‘काठमाडौं रेजर्समा त्यो सबै चिज थियो । खेलाडीहरुले पनि मेहनत गरे । व्यवस्थापनले सुविधाको कमी हुन दिएन । मेरो प्रशिक्षण टोलीबाट पनि त्यतिकै सहयोग भयो । सबै चिज सोचे जस्तै भयो । अनि सफलता प्राप्त गर्न सक्यौं ।’

जितपछि स्वभाविक रुपमा आत्मसन्तुष्टी प्राप्त हुने जनाउँदै महर्जनले भने, ‘प्रतियोगिताका दौरान व्यवस्थापन, प्रशिक्षण र खेलाडी सबैको लक्ष्य समान भयो भने मात्र सफलता पाउन सकिन्छ ।’

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका शर्माको सल्लाह र व्यवस्थापन पक्षको पूरा साथ आफ्नो टोलीलाई रहेको खेलाडीहरु थप उत्साहित रहेको अनुभव गरेको उनले सुनाए । ‘सबै क्लबको बारेमा त मलाई थाहा छैन । तर, हाम्रो टोलीका मालिकहरुले हरेक खेलमा खेलाडीको हौसला बढाउनु भयो । जित होस् वा हार खेलाडीको मनोबल सधैं बढाउनु भयो’, उनले भने, ‘यस्तो सम्म भयो कति खेलाडीले पारिश्रमिक भन्दा बढी बोनस पनि पाए होला । झन्डै २० लाख बोनसमै खर्च गर्नुभयो होला । खेलाडी मनोबल कहिल्यै घट्न दिनुभएन ।’

‘खेलाडीले प्राप्त गरेको सेवा, सुविधा घरेलु फुटबलमा नौलो थियो । कोरोनाका कारण सबै क्षेत्रमा असर परेको बेलामा पनि फुटबलका लागि प्रचुर लगानी गर्नु, फाइभ स्टार होटलको बसाई, ब्रान्डेड इक्विपमेन्ट, बोनसलगायतले खेलाडीको मनोबल बढाउनु भनेको साच्चै खेल प्रतिको लगावले मात्र सम्भव हुन्छ । सानो मनले गर्न सकिने कुरा होइन’, व्यवस्थापनको तारिफ गर्दै उनले भने ।

थ्री नेसन्समा चम्कनुअघि नै महर्जनले सन्जोक राई र त्रिदेव गुरुङलाई अक्सनबाट लिइसकेका थिए । तेज तामाङ भने ६ टोलीले अधिकतम बोली लगाएपछि गोलाप्रथामा २ लाख रुपैयाँमा आबद्ध भएका थिए । ‘अरु क्लबले किन चासो देखाउनु भएन’, अक्सन सम्झँदै भने, ‘सन्जोकलाई मैले धेरै अघिदेखि याद गरेको थिए । उनलाई र त्रिदेव लिन सफल भयौं । तर दुर्भाग्य त्रिदेव एनएसएल अघि घाइते भए र सन्जोकले चोटका कारण अन्तिम दुई खेल गुमाए । तेज पनि पूर्ण रुपमा फिट थिएनन्। तर टोलीको सफलतामा सन्जोक र तेजको भूमिका महत्त्वपूर्ण रह्यो ।’

अक्सनबाट सन्तुलित टोली बनेपछि विदेशी खेलाडीको प्रदर्शन अपेक्षा भन्दा माथिको रह्यो । जसले काठमाडौंको सफलताको आधार तयार भएको थियो । मेसुके ओलोमोउसहित ३ विदेशीले काठमाडौंलाई च्याम्पियन बनाउनमा उच्च प्रदर्शन गरे । फाइनलमा १ गोलसहित सर्वाधिक ८ गोल गरेका मेसुके एनएसएलको उत्कृष्ट मिडफिल्डर चुनिए । पहिलो राउन्डमा विराटनगर सिटी एफसीविरुद्ध २–० ले पछि परेको खेलमा पुनरागमन गर्दै ५–४ ले काठमाडौं विजयी भएको खेल एनएसएलकै उत्कृष्ट खेल मानिएको छ ।

विदेशी खेलाडीले आफूले आशा गरेभन्दा पनि माथिल्लो स्तरको प्रदर्शन गरेको उनको अनुभव छ । विदेशी खेलाडीबाट व्यवस्थापन अति प्रभावित रहेको महर्जनले सुनाए । ‘अर्को वर्षका लागि अहिलेबाट सम्झौता गरेर काठमाडौंमै राख्ने उहाँहरुको योजना छ’, उनले भने, ‘फुटबलमा मालिक विष्णु अग्रवाल दिर्घकालिन योजनाका साथ आउनु भएको छ । यो भनेको अन्तमा व्यावसायिक फुटबल अघि बढाउनका लागि महत्त्वपूर्ण पहल हो । अन्तमा यसले राष्ट्रिय टोलीलाई नै फाइदा पुग्छ ।’

एनएसएलले घरेलु फुटबललाई अर्को स्तरमा लग्यो

एनएसएल जसरी आयोजना भयो त्यसले घरेलु फुटबलको प्रतिस्पर्धा र व्यवस्थापनलाई अर्को स्तरमा पुर्याएको महर्जनको विश्वास छ । ‘फुटबलमा भौतिक पूर्वाधारको कति अर्थ हुन्छ भन्ने यसपटक देखिएको छ । फ्लड लाइट र राम्रो मैदानमा घरेलु फुटबलको प्रतिस्पर्धा सम्भवत पहिलो पटक भएको होला । त्यसले खेलको स्तर नै अर्को देखिएको थियो’, उनले थपे, ‘गर्दा हुने रहेछ भन्ने प्रमाणित भएको छ । बल पोसेसन राख्न नै मैदानले धेरै फरक पर्छ । अट्याकिङ र डिफेन्डिङमा पनि मैदानले असर गर्छ ।’

विगतका घरेलु फुटबलमा भन्दा एनएसएलमा खेलाडीले शतप्रतिशत दिएर खेलेको आफूले अनुभव गरेको महर्जनले सुनाए । ‘अब फुटबलमा बिक्नका लागि प्रदर्शन नै मुख्य हो भन्ने खेलाडीले बुझिसके । अर्को वर्ष अक्सनमा आफ्नो रेट बढाउनका लागि पनि अहिले मिहिनेत गर्नुपर्ने उनीहरुले मनन गरेका छन्’, उनले भने, ‘प्रतिस्पर्धात्मक भावनाले नै खेलको विकास हुने हो । यसपटक त्यो देख्न पाइयो ।’

जसरी कर्पोरेट हाउस फुटबलमा लगानी गरेका छन् । त्यसले पनि फुटबललाई अर्को स्तरमा लान मद्दत गरेको उनको विश्वास छ । ‘तपाईंसँग जति नै राम्रो खेलाडी, प्रशिक्षक भएपनि त्यहाँ आर्थिक लगानी भएन भने नतिजा आउँदैन । खर्च अनुसारको तयारी, सुविधा र अन्य पाटो आउँछन् । फुटबल अब व्यवसाय भइसक्यो । अब यसलाई मनोरञ्जनको माध्यम मात्र बुझ्नु हुँदैन,’ उनले थपे ।

आउने वर्षहरुमा एनएसएललाई लामो अवधिसम्म खेलाउनु पर्ने सुझाव उनले पनि दिएका छन् । ‘छिटो सक्नु पर्ने भएकाले खेलाडीले रिकभरी टाइम पाएन् । अधिकांश टोलीले ४८ घन्टा भन्दा कम समयमा खेल्नु परेको छ । त्यसमा ध्यान दिन जरुरी छ,’ उनले सुधार गर्नुपर्ने पाटो औंल्याए ।

कोरोनाले सबै क्षेत्र अस्तव्यस्त हुँदा पनि आयोजक र सहभागी टोलीले देखाएको आट तथा सरकार, एन्फा र राखेपको समन्वयकारी भूमिका फुटबलका लागि सकारात्मक भएको महर्जन बताउँछन् । ‘निषेधाज्ञाको समयमा विना दर्शक फुटबल गराउनु भनेको यसै सम्भव थिएन, सबै पक्षको सहयोगले यो सफलतापूर्वक आयोजना भएको छ । यसले फुटबल विकासका लागि सुखद पहल हो । यसमा आबद्ध सबै धन्यवादका पात्र छन्,’ उनले अनुभव सुनाए ।

महर्जनको प्रशिक्षण यात्रा

देशकै चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबको प्रशिक्षक रहिसकेका महर्जनले लिग उपाधि जित्न सकेका थिएनन् । देशकै पहिलो फ्रेन्चाईज फुटबल एनएसएलको उपाधि दिलाउन भने महर्जन सफल भएका छन् । झन्डै डेढ दशक प्रशिक्षण जीवनमा महर्जनले आफूलाई समकालीन प्रशिक्षकमा सर्वाधिक सफलका रुपमा उभ्याएका छन् ।

राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २००५ मा सन्यास लिएका थिए । त्यसपछि केहि महिना रेफ्रीमा भविष्य खोज्ने प्रयास गरेका उनलाई शरीरले साथ दिएन । त्यसपछि उनले बाटो बदले र प्रशिक्षणतर्फ लाग्ने निधो गरे । सन् २००७ मा एफसीको प्रोजेक्ट फ्युचर प्रशिक्षकको पहिलो ब्याचको कोर्सका लागि छनोट भए । त्यहिबाट उनको प्रशिक्षक करियर सुरु भयो ।

सन् २००८ मा उनी हाल एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहसँगै तत्कालिन राष्ट्रिय टोलीका जर्मन प्रशिक्षक थोमस फ्लातका सहायक प्रशिक्षक नियुक्त भए । एएफसीको कोर्स पूरा गरेसँग एन्फाले उनलाई उमेर समूहको टोलीको पनि जिम्मेवारी दियो ।

महर्जनले पहिलो सफलता भने २०७२ सालमा स्वदेशमा आयोजना भएको साफ यू १९ फुटबलमा नेपाललाई उपाधि दिलाए । अहिले राष्ट्रिय टोलीमा रहेका अन्जन विष्ट, दीनेश राजवंशी, अनन्त तामाङ, सुनिल बल तथा उपचार गराई रहेका विमल घर्ती मगर, तेज तामाङ लगायत खेलाडी सम्मिलित यू १९ टोलीबाट महर्जनले देशलाई उपाधि दिलाएका थिए । त्यहिबाट प्रशिक्षकका रुपमा महर्जनको सफल यात्राको सुरुवात भएको थियो ।

nepal champ

एन्फाले अर्को वर्ष बंगलादेशमा आयोजना भएको बंगबन्धु गोल्डकपमा उनलाई राष्ट्रिय टोलीको प्रशिक्षको जिम्मेवारी सुम्पियो । त्यहाँ पनि उनी टोलीलाई च्याम्पियन बनाएर फर्किए । सन् १९९३ छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि राष्ट्रिय टोलीले जितेको त्यो पहिलो उपाधि थियो । त्यसअर्थ पनि समकालीन प्रशिक्षकमा महर्जनको उचाई बढ्दै गयो । त्यसअघि उनले थ्री स्टार, मनाङ, भारतमा ‘बी’ डिभिजन लिगको क्लब तथा बंगलादेशमा ब्रदर्स युनियनलाई प्रशिक्षण दिएका थिए ।

बंगलादेशमा तीन वर्ष अघि भएको साफ च्याम्पियनसिपमा उनकै प्रशिक्षणमा राष्ट्रिय टोलीले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । २०७५ मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा फेरि उनले यू २३ टोली हेर्ने मौका पाए । त्यसमा पनि उनी टोलीलाई उपाधि दिलाउन सफल भए । यीनै सफलताले उनलाई अब्बल साबित गर्यो ।

स्वदेशमा आयोजना भएको साफमा यू १९, सागमा यू २३ र थ्री नेसन्समा राष्ट्रिय टोलीलाई उपाधि दिलाउने इतिहास उनले रचिसकेका छन् । उमेर समूहमा २ र राष्ट्रिय टोलीलाई २ उपाधि उनको नाममा छ । अहिले पहिलो फ्रेन्चाइज एनएसएलको उपाधि पनि थपिएको छ । सरकार वा एन्फाले पुरस्कृत गर्ने सवालमा भने प्रशिक्षकप्रति त्यति उदार हुन नसकेको महर्जन गुनासो गर्छन् ।

‘मैले पाएँ वा पाइन भन्ने होइन । समग्रमा प्रशिक्षकलाई हेर्ने नजरमा केहि बदलाव आउन जरुरी छ’, उनले भने, ‘प्रशिक्षण वा व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेले पनि आफ्नो धेरै अवसर छाडेर समय दिएको हुन्छ । त्यसको मुल्याङ्कन सहि ढंगले नहुदा केहि दुःख लाग्छ ।’

महर्जन आफ्नो सफलताको आधार भनेको सिक्ने चाहना र लगाव नै भएको बताउँछन् । छैटौं साफमा नेपालले स्वर्ण पदक जित्दा टोलीका खेलाडी समेत रहेका महर्जनले देश भित्र र देश बाहिरका सबै प्रशिक्षकसँग आफूले धेरै सिकेको स्मरण गरे । ‘जसरी एउटा राम्रो खेलाडी बन्न वर्षौं लाग्छ । राम्रो प्रशिक्षक बन्नलाई पनि समय लाग्छ’, उनले यात्रा सम्झिए, ‘असफलताले कति निराशा पनि आउँछ । तर मैले सिक्ने कुरामा कहिल्यै अप्ठेरो मानिन । चाहे विदेशीसँग काम गर्दा होस् वा स्वदेशीसँग । राष्ट्रिय टोलीमा रहँदा धेरैसँग सिक्ने मौका पाए । त्यसले पनि मलाई परिपक्व बनाउँदै लगेको होला ।’

सुरु सुरुमा खेलका दौरान दबाब रहने गरेको स्मरण गर्दै उनी भन्छन्, ‘अब त दबाबमा खेलाउने बानी भइसकेको छ । विपक्षी टोलीबारे अध्ययन गरेर आफ्नो टोली तयार गर्ने हो । अब त्यसको बानी परिसक्यो ।’

खेलमा केहि भाग्यको भूमिका रहने विश्वास महर्जनको छ । ‘म आस्तिक परे । भगवान र भाग्यमा मलाई विश्वास गर्छु’, उनले जोडे, ‘भाग्य छ भनेर मिहिनेत नगरी बसेर पनि हुँदैन । आफूले गर्ने सबै ड्यूटी पूरा गर्ने हो सफलता का लागि भाग्यको पनि १० प्रतिशत भूमिका हुन्छ भन्ने ठान्छु ।’

अबको योजना

तत्काल के गर्ने भन्ने योजना महर्जनसँग योजना छैन । तर, फुटबल भन्दा टाढा रहन उनी सक्दैनन् । उमेर समूहदेखि राष्ट्रिय टोलीलाई सफलता दिलाइसकेकाले कतिपयले महिला राष्ट्रिय टोली हेर्नुपर्ने सुझाव आउने गरेको सुनाउँछन् । ‘भविष्यमा के हुन्छ । म अहिले भन्न सक्दिन’, उनले भने, ‘मलाई यहि टोली दिनुपर्छ भन्ने छैन । अरु पनि प्रशिक्षक हुनुहुन्छ । मौका सबैले पाउनुपर्छ । म प्रशिक्षकका रुपमा टोलीमा नरहेपनि आफ्नो ज्ञान र अनुभव साट्नका लागि तयार छु ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.